अर्जुन दाहाल (क)आधा सत्य, आधा भ्रम– ३३
आयोजकका अनुसार “कुर्सीमा बसेर गाए पनि हुने, नत्र सुतेर गाए पनि हुने — यत्रा विकल्प हुँदाहुँदै कलाकारले बिरामीको बहाना बनाएर नेपाल फर्किनु गम्भीर धोका हो,” भन्दै विज्ञप्ति नै जारी गरेको छ।

अर्जुन दाहाल (क) :
“अमेरिका गाउँछ” भन्ने कार्यक्रम अहिले निकै चर्चामा छ। तर खै, गाउन चाहिँ ट्र्याकले गाएको हो कि कलाकारले, दर्शकले गाएका हुन् कि खाली कुर्सीहरूले — त्यो विषयमा विभिन्न तथ्यहरू बाहिर आउन थालेका छन्।
हरेक हप्ता नेपालबाट टोलीका टोली कलाकार अमेरिका छिरेका छिरेकै छन्, आयोजकहरूले दर्शकलाई पिरेको पिरेकै छन्।“ अमेरिका हाँस्छ, नाच्छ, गाउँछ, सुत्छ, रुन्छ” जस्ता चर्चित कार्यक्रमका आयोजक “फ्लाई हेपा” हो, जसले कलाकारलाई व्यापक रूपमा हेपेको कुरा अहिले छताछुल्ल भएको छ।
कलाकारहरूले आयोजकमाथि गम्भीर आरोप लगाएका छन् । होटलमा राम्रो बसोबास नदिएको, बडीगार्ड नराखेको, ट्वाइलेट पेपरको व्यवस्था नगरेको, मेकअपका लागि केटी (गर्ल) चाहियो भन्दा केटा (म्यान) राखिदिएको आदि । त्यस्तै आयोजक “फ्लाई हेपा”ले भने कलाकारहरूले स्टेजमा अत्यन्त सभ्य लुगा लगाएर जाने गरेको कारण दर्शकको संख्या घटेको आरोप लगाएका छन्।
ढाड दुखेको निहुँमा उपचारको माग राख्ने पनि कलाकारहरूको समस्या आएको बताइएको छ।
आयोजकका अनुसार “कुर्सीमा बसेर गाए पनि हुने, नत्र सुतेर गाए पनि हुने — यत्रा विकल्प हुँदाहुँदै कलाकारले बिरामीको बहाना बनाएर नेपाल फर्किनु गम्भीर धोका हो,” भन्दै विज्ञप्ति नै जारी गरेको छ।
सामान्य दर्शकहरू जो टिकट लिएर हल पुगेका थिए — अलमलमा परेका छन्। “जून हे-र्यो, जूनै राम्रो; घाम हे-र्यो, घामै राम्रो” भने जस्तै, कलाकारका कुरा पनि ठिकै, आयोजकका तर्क पनि ठिकै लाग्ने स्थिति छ।
यो सबै कुराको यथार्थ छानबिन गर्न ठूलोबाबु अस्लिलवालको नेतृत्वमा एउटा समिति गठन गरिएको छ । जसका सदस्यहरूमा एक जना टिकटक विज्ञ र एक जना वकिल पनि रहेका छन्।
०००
(व्यङ्ग्य लेखक ‘नुन चिनी पानी’ अमेरिकाका परिकल्पनाकार हुन्।)
Subscribe
Login
0 Comments
Oldest






































