याेग भैरव गेलाललक्ष
छोराको प्रश्नमा आमा सुनिधी मौन रहिन् । उनको नजर चुलोतिर फर्कियो । त्यहाँ उम्लँदै गरेको दूध भाँडाबाट छताछुल्ल भएर भुइँमा बगिसकेको थियो ।

भैरव गेलाल :
“आमा ! तपाईंले मलाई किन जन्म दिनुभयाे हँ ?”
छोरा अविरामको आकस्मिक प्रश्नले आमा सुनिधी अचम्मित भइन् ।
“यस्तो प्रश्न किन गरेको बाबू ?” आमाले चकित स्वरमा सोधिन् ।
छोरो सन्तुष्ट भएन । उसको प्रश्न आफैंमा असन्तुष्टिको अभिव्यक्ति थियो । उसले फेरि जोड दियो- “आमा ! भन्नुस् न, किन जन्माउनुभयो मलाई ?”
“खै, आमा-बाबुले छोराछोरी किन जन्माउँछन्, मलाई पनि थाहा छैन,” आमा टार्न खोज्छिन् ।
त्यसबेला ढोका र झ्यालबाट पुसको चिसो सिरेटो हान्यो । कुहिरोमा डुबेको घरभित्र प्रश्न-प्रतिप्रश्नले हावाको ताप बढाएजस्तो भयो ।
अविराम फेरि बोल्यो- “आमा ! तपाईं पनि अलमलमै हुनुहुन्छ ? मलाई त म मात्र अलमलमा छु कि भन्ने लागेको थियो ।”
“हैन बाबू, तँ यस्ता कुरा किन गर्छस् ?” आमा केही झर्किइन् ।
“मलाई आफ्नो जीवनको ‘लक्ष’ पत्ता लगाउनुछ, आमा,” अविरामले आत्मसाक्षात्कारको स्वरमा भन्यो ।
आमाले दूध तताइरहेको चुलोतिर हेर्दै दृढ स्वरमा उत्तर दिइन्- “आफ्नो लक्ष आफैं खोज्नू, बाबू । मलाई किन सोध्छस् ?”
छोराले हल्का मुस्कानसहित भन्यो- “तर हिजो बुबाले त भन्नु भएको थियो- छोरा भएर जन्मेपछि आमाबुबाको सपना पूरा गर्ने दायित्व हुन्छ रे ! अनि म आफ्नो लक्ष आफैं कसरी खोजूँ ?”
छोराको प्रश्नमा आमा सुनिधी मौन रहिन् । उनको नजर चुलोतिर फर्कियो । त्यहाँ उम्लँदै गरेको दूध भाँडाबाट छताछुल्ल भएर भुइँमा बगिसकेको थियो ।
दूधको वाफ निस्कँदै थियो- मौन उत्तरझैं, आकासतिर उडिरह्यो, उडिरह्यो…
०००
लहान, सिरहा
Subscribe
Login
0 Comments
Oldest







































