प्रा. कपिल अज्ञात‘बदनाम आँचल’मा व्यङ्ग्यचेतनाको झलक
समर्थनले समाजप्रति गहिरो चिन्तन गरी त्यसका जराजरा उधिनेर आफ्ना मुक्तकमा उनेका छन् । सहीलाई सही भन्ने र गलतलाई गलत भन्ने हिम्मत र तागत दुवै उनीसँग देखिन्छ । व्यङ्ग्यमा हास्य रसको समन्वय गर्नसमेत उनी खप्पिस छन् ।

प्रा. कपिल अज्ञात :
आँचल यानी सारीको सप्को बदनाम यानी खराब नाममा छ । समाजमा व्याप्त बेथिति, विकृति र विसङ्गतिका कुराले समाजको राम्रो प्रभाव छैन । अर्थात् समाज शिष्ट, सभ्य र सुसंस्कृत बन्न सकेको छैन । समाज नै बदनाम छ । यही बदनाम समाजमा बाँच्न हामी विवश छौँ । समाजका यिनै दुष्प्रवृत्तिप्रति लक्ष्यित गरी राखिएको शीर्षक छ ‘बदनाम आँचल’ । कति आकर्षक शीर्षक जुराएछन् मुक्तककारले ! शीर्षकले पनि कृतिलाई आकर्षक तुल्याउँछ । राम्रो शीर्षक जुर्नु पनि सुन्दर संयोग हो । शीर्षक नै विम्बात्मक, ध्वनिमूलक र बह्वर्थक छ भने त्यसभित्रका मुक्तकहरू कति अर्थपूर्ण र दमदार होलान् भनेर अनुमान गर्न सकिन्छ ।
मुक्तककार रमेश समर्थन साहित्यका धेरै विधामा समर्थन गर्नुपर्ने व्यक्तित्व हुन् । उनको यो ‘ब्रह्मलूट’ (मुक्तकसङ्ग्रह २०५३) पछिको दोस्रो मुक्तकीय कृति हो । उनले कविताका क्षेत्रमा अनुभूतिको लघुतम यात्रादेखि अनुभूतिको मझौला यात्रा अर्थात् खण्डकाव्यको लामो यात्रा तय गरिसकेका छन् । पद्यमा मात्र नभएर गद्यमा पनि उनको कलम सुचारु रूपले चल्दछ । आत्मसंस्मरण र निबन्धमा समेत उनको उत्कृष्ट वर्चस्व छ । आफ्नो ‘चिसा पसिना’ (संस्मरण तथा नियात्रा २०७४) नैबन्धिक कृतिबाट निबन्धमा पनि उत्कृष्ट प्रभाव छोडेका छन् । ‘दक्षिणा’ (खण्डकाव्य २०५७) र ‘देवरात’ (खण्डकाव्य २०७६)जस्ता खण्डकाव्यबाट काव्यिक क्षेत्रमा पनि उल्लेखनीय व्यक्तित्व बन्न पुगेका छन् ।
कविताकै उपविधा मानिने गजल र मुक्तक स्वरूप र संरचनागत दृष्टिले दिदीबहिनीजस्तै हुन् । उनले बहिनीको चित्रणमा जस्तै दिदीको चित्रणमा पनि आफ्नो खुबी प्रकट गरेका छन् । ‘पर्खी बसेँ’ (गजल सङ्ग्रह २०६०) उनको सीप तथा सामर्थ्यको सुन्दर दृष्टान्त हो । अध्ययनशील प्रकृति र प्रवृत्तिका उनी सैद्धान्तिक चेतनाका प्रबुद्ध व्यक्तित्व हुन् । उनमा भाषिक सचेतता तथा व्यावहारिक ज्ञान उच्च स्तरमा छ । हिन्दी र उर्दू भाषामा पनि उनी विशेष दखल राख्दछन् । शब्दगत व्युत्पत्ति र कोशीय ज्ञानमा पनि निपुण रहेकाले उनका सिर्जना शिल्पस्तरमा पनि खारिएर र माझिएर आएका हुन्छन् । आधा दर्जन कृतिका प्रणेता भएकाले गर्दा पनि उनको साहित्यिक व्यक्तित्व विशिष्ट बन्न पुगेको छ ।
‘फित्कौली’ अनलाइन मिडियाबाट प्रकाशित ‘बदनाम आँचल’ (२०८२) शीर्षकको मुक्तक कृति अन्य मुक्तक कृतिहरूभन्दा विशिष्ट प्रकृतिको छ । फित्कौलीको शाब्दिक अर्थ सानातिना ढुङ्गा वा मट्याङ्ग्रा हान्ने बाँसको पातलो कप्टेरो हो । अनुभूतिका लघुतम रूप पनि ससाना ढुङ्गा वा मट्याङ्ग्राजस्तै त हुन् । फित्कौलीले आफ्नो नामअनुरूप धारदार र व्यङ्ग्यदार मुक्तकको कृति प्रकाशित गर्न पाउनु आफैँमा सुखद संयोग हो । यसबाट फित्कौली संस्था र कृतिकार दुवै धन्य हुन पुगेको देखिन्छ ।
उहिले मुक्तकको स्वरूप अर्कै थियो । मुक्तक चतुष्पदमै हुनुपर्छ भन्ने अनिवार्यता थिएन । लघुतम अनभूति र प्रभावको आधारमा मुक्तक भन्ने गरिन्थ्यो । अचेल रुवाई शैलीमै निर्मित मुक्तकलाई मुक्तक भन्ने गरिन्छ । अचेल त्यसैको लहर आएको पाइन्छ । मुक्तक चतुष्पदी हुन्छ र चतुष्पदीमै चमत्कारी भाव सन्निहित हुन्छ । रदीफ, काफिया र तुक मिलेर मात्र मुक्तक भएको मान्न सकिन्न । यसको प्रभाव नै प्रहारात्मक, व्यङ्ग्यात्मक र मर्मभेदी हुनुपर्छ । उठानदेखि बैठानसम्म अर्थात्मक रूपमा उत्तरोत्तर विकसित हुँदै रोचक र उत्सुकतायुक्त शैलीमा सुललित विन्यास हुँदै भावको आनन्ददायी विस्फोट गरिएको हुनुपर्छ । यस दृष्टिले यसको आफ्नै विशिष्ट संरचना, स्वयम्मा पूर्ण एकत्वको प्रभाव हुनुपर्छ । मुक्तकका चारै पङ्क्तिमा प्रथम, द्वितीय पङ्क्ति सम, तृतीय पङक्ति विषम र चतुर्थ सम हुनुपर्छ अर्थात् तृतीय पङ्क्ति तुकान्तविहीन हुनुपर्छ । यस नियमलाई मुक्तककार समर्थनले अधिकतर पालना गरेका छन् । यसअघि यो नियम अनिवार्य देखिँदैन । ख्यातिप्राप्त मुक्तककारले पनि यस नियमको पालना गरेको देखिन्न ।
यस कृतिमा उनका चार सय एक मुक्तकहरू सङ्ग्रहित छन् । (यथार्थमा तीन सय उनान्सय मात्र, किनभने असावधानीवश दुईवटाको पुनरावृत्ति भएको छ जुन पाठकीय पठनमा नदेखिन पनि सक्दछ तर समीक्षकीय पठनमा देखिन्छ, ।) संरचना र आकारगत दृष्टिले अन्य मुक्तकीय कृतिभन्दा उच्च श्रेणीको सङ्ग्रह मान्न सकिन्छ । भूमिकाकार डा. मुरारि पराजुलीले उनका बहुविध मुक्तकको यति घनीभूत विश्लेषण गरेका छन् कि समर्थनका समग्र मुक्तकीय विशेषता उजागर भएर आएका छन् । संरचनादेखि विषयवस्तुमा कहीँ कुनै पाटो र पक्ष छुटेको देखिन्न । त्यस्तै व्यङ्ग्यका वरिष्ठ अभियन्ता नरनाथ लुइँटेलले पनि समर्थनको मुक्तकीय मूल प्रवृत्ति र व्यङ्ग्यधर्मितालाई सटीक रूपमा प्रस्तुत गरेका छन् । उनका समग्र विशेषताको आँकलन गर्दै जाने हो भने लेखले बृहद् रूप लिन सक्छ । तसर्थ यहाँ व्यङ्ग्यचेतयुक्त प्रहारात्मक नमुनाका केही अंशहरू प्रस्तुत गर्दै तिनको झलक देखाउने प्रयत्न रहेको छ । जस्तै….
बा रिक्सा तान्नुहुन्छ, आमा पेटीमा मकै पोल्नुहुन्छ । पृ.१२, आज बाबुको छातीमा जति गिर खेल्छौ खेल छोरा, दुखेर पनि दुख्दैन जब छातीको घाउ थाहा पाउला । पृ.१६, माला मै किनिदिन्छु, दोसल्ला मै किनिदिन्छु सम्मान गरिदिनुस् । पृ.२१, मुरीका मुरी तिमी थन्क्याऊ म मुठी र मानोमै खुसी छु । पृ.२३, जहाँ न्यायाधीशले न्यायालयमा न्यायको बलात्कार गरेका छन् । पृ.२६, कहिलेकाहीँ मृत्यु पनि जीवनभन्दा प्रिय हुन्छ । पृ.२९, मागेको लगौँटीले फुस्केको लाज छोपिन्न । पृ.३१, भर्याङ चढ्दा अचेल रेलिङ समाउन थालेको छु । पृ.३०, सहीलाई सही भनेँ, गलतलाई गलत भनिदिएँ । पृ.४१, जब जब मञ्चमा आउँछस्, तैँले ताली पाउँछस् । पृ.४८, मेरो लासलाई खरानी बनाएर नछोड्नू छोरा, कसैलाई काम लाग्ला त्यसैले अस्पताल पुर्याइदिनू । पृ.५०, कठपुतलीझैँ चल्ने सरकारसित के मतलब ? पृ.५१, सुकिला लुगा लगाउँदैमा सबैका मन पवित्र हुँदैनन् । पृ.५५, राष्ट्रको ढुकुटी जति थियो भ्रष्टाचारमा सकियो । पृ.५६, मरेका छैनन् अझै सम्भावनाहरू अहिल्यै हताश हुनु हुँदैन । पृ.६७, चोट खाइन्छ तर चरेस खाइन्न, हार खाइन्छ तर हरेस खाइन्न । पृ. ६८, जहाँ जनताले कर तिर्न पनि घुस खुवाउनुपर्छ । पृ.६८, सम्पत्ति भएर पनि कङ्गाल भएको देश हो यो । पृ. ८९, मूल्य पाइयो भनेर अनमोल जवानी नबेचिदिनू । पृ.११० आदि ।
यसरी समर्थनले समाजप्रति गहिरो चिन्तन गरी त्यसका जराजरा उधिनेर आफ्ना मुक्तकमा उनेका छन् । सहीलाई सही भन्ने र गलतलाई गलत भन्ने हिम्मत र तागत दुवै उनीसँग देखिन्छ । व्यङ्ग्यमा हास्य रसको समन्वय गर्नसमेत उनी खप्पिस छन् । चिमोट्ने, घोच्ने, पोल्ने, कुत्कुत्याउने, पिरोल्ने र घत लाग्नेसमेत काम गरेका छन् उनका मुक्तकले । उनका एकै विषय र प्रकृतिका मुक्तक नभएर बहुआायमिक प्रकृतिका मुक्तक छन् र तिनलाई ऊर्जा र प्रेरणाले सन्देशमय तुल्याउन मुक्तकीय अद्भुत कालिगढी प्रस्तुत गरेका छन् । लघु, मध्यम र बृहत् तीनै आकारका मुक्तकमा उनले आफ्ना विशेषता मुखरित गरेका छन् । उनमा आधुनिक चेतना र स्वदृष्टिकोण पनि सशक्त छ । आफ्नो लासलाई खरानी नबनाएर अस्पताल पुर्यादिनू भन्ने कुराले त्यसको पुष्टि हुन्छ । आक्षरिक ढाँचा, लोकछन्द र शास्त्रीय वार्णिक छन्दका विविध लयात्मक विधिबाट उनले मुक्तकको संरचना गरेका छन् । सबै मुक्तकबाट मुक्तकीय संरचना र भावको मिठो आस्वादन पाउन सकिन्छ । डा. पराजुलीका दृष्टिमा उनका मुक्तकमा सामाजिक विषाद, राजनीतिक अवसाद, सांस्कृतिक अधःपतनको चिन्ता पाइनुका साथै स्वचिन्तनका रूमानी दिल्लगी र स्वच्छन्दतावादी कल्पनाको उडान पाउन सकिन्छ ।
सारमा भन्नुपर्दा उनका मुक्तक मजेदार, शानदार, लयदार, दमदार र धमाकेदार रहेका छन् र उनी चाटुकार र चाकरीदारलाई भित्तैमा पुग्ने गरी तीक्ष्ण प्रहार गर्न पुगेका छन् । व्यक्तिकेन्द्री नभई प्रवृत्तिकेन्द्री रहेका उनका व्यङ्ग्यधर्मी र मर्मस्पर्शी मुक्तकहरूले चेतना जगाउने काम गरेका छन् ।
अन्तमा उनको मुक्तकीय विशेषतालाई एक मुक्तकमा यसरी जनाउँछु—
साहित्यमा रूमानी चिन्तनका प्रवर्तन जनाउँछु
विविध आयतनहरूका सम्बर्द्धन जनाउँछु
संस्मरण, नियात्रा र निबन्धमा मात्र होइन
मुक्तकमा पनि समर्थनको म समर्थन जनाउँछु ।
०००
कीर्तिपुर– २, काठमाडौँ ।
Subscribe
Login
0 Comments
Oldest







































