साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चौबेजीको कथा

चौबेजीले भने, ‘ए, यो आदेश एकै महिनापहिले आएको भए डिप्टी कलेक्टर केटाले तिसचालिस हजार पाउन्नथ्यो ? यो सरकार नै बेकारको छ । यो देशमा क्रान्ति त भएरै छाड्छ ।’

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

चौबेजीका पुत्र हुन् अशोक । प्रथम श्रेणीमा एम.ए. गरेका हुन् । नोकरीको प्रयासमा छन् । चौबेजी नोकरी त लागि नै हाल्छ तर त्योभन्दा पहिले नै विवाह गरिदिनुपर्ला भनेर सोच्दै छन् ।

मिश्रजीकी छोरी हुन् शीला । उनले पनि प्रथम श्रेणीमै एम. ए. गरेकी हुन् र त्यो पनि दुई वर्षपहिले नै । मिश्र र मिश्रिनी उनको पनि छिटै विवाह गरिदिन चाहन्छन् ।

चौबेजीसित कुरो चल्यो । लेनदेन पनि निश्चित भयो । कान्यकुब्जीहरूमा ंएम.ए. पास तर बेकार बसेको केटाको दर के छ भनेर बुज्रुकहरूलाई सोधियो । बुझ्नेहरूले भने, ‘त्यसो त कन्यापक्षको क्षमता र श्रद्धामाथि निर्भर हुन्छ । हामीले भने म्याट्रिक फेल एउटा कान्यकुब्जी केटाका लागि एउटी कानी केटीका बाबुसित एक लाख रुपैयाँ दिलाएका हौँ । तर सामान्यतः एम.ए. पास बेकार केटाको दर भने पन्ध्रबिस हजारको बिचमै पर्छ ।’
बुझ्नेहरूले पन्ध्र हजारमा निश्चित गरिदिए ।

सगुन लैजाने दिन पनि निश्चित भयो एक महिनापछिको । दुवै पक्ष सन्तुष्ट थिए ।
यसै बिचमा लोकसेवा आयोगको सहयोग प्राप्त भयो । अशोक डिप्टी कलेक्टरका लागि छनोट भयो । आदेश देखेर चौबेजी खुसी भए ।

अनि एक्कासि चौबेजी दुःखी भए । टाउको पिटेर गाली गर्न थाले, ‘….साले, नीच, कन्जरा हुन् यी आयोगका मान्छेहरू ! हरामीहरूले नियुक्तिपत्र पठाउनै थियो भने एक महिनापहिले नै पठाउनुपर्ने थिएन ?’

चौबेनीले सोधिन्, ‘छोराले राम्रो जागिर पाएको छ अनि तिमी भने यस्ता कुरा गर्दै छौ ?’

चौबेजीले भने, ‘ए, यो आदेश एकै महिनापहिले आएको भए डिप्टी कलेक्टर केटाले तिसचालिस हजार पाउन्नथ्यो ? यो
सरकार नै बेकारको छ । यो देशमा क्रान्ति त भएरै छाड्छ ।’

चौबेनीले भनिन्, ‘तिम्रो पनि सुद्धि हराएको थियो नि त ! मैले त एकदुई महिना पर्खिन भन्दै थिएँ नि, तिमीले नै हतारहतारमा निधो दियौ र त हो नि !’

चौबेजीले भने, ‘अब के गर्ने ?’
चौबेनीले भनिन्, ‘यसो गर, मिसिरजीलाई एउटा चिठी लेखेर पठाऊ । उनी कुरो बुझ्ने मान्छे हुन् ।’
चौबेजीले मिश्रजीलाई लेखे —

प्रिय मिश्रजी,
अत्र कुशलं तत्रास्तु ! आगे छोरा अशोक डिप्टी कलेक्टरमा छनोट भएको छ भन्ने थाहा पाएर त तपाईं पक्कै खुसी हुनुहुन्छ होला । आजै आदेश आएको हो । विवाहको शुभ अवसरमा यो पनि शुभ काम भयो । यसमा तपाईंकी सुयोग्य पुत्रीको भाग्यको पनि योगदान छ ।

तपाईं आफैँ बुझ्ने हुनुहुन्छ । नीति र मर्यादा पनि बुझ्नुभएको छ । धर्ममा नै धर्ती धानिएको छ । मानिसको त के छ र ? जन्मिन्छ अनि मर्छ । पैसा त हातको मैला हो । मानिसको प्रतिष्ठा ठुलो कुरो हो । मानिसले भलादमीपन देखाउनुपर्छ । कर्तव्य गर्नुपर्छ । धर्म छोड्नु हुँदैन । भगवान् कृष्णले ‘स्वधर्मे निधनं श्रेयः’ भनेर भन्नुभएको छ । तपाईंले मेरो कुरो बुझ्नुभयो होला भन्ने आशा लिएको छु । तपाईंले दश हजार रुपैयाँ अरू थपिदिने कृपा गर्नुहोला । हामीलाई त केही चाहिन्न । तपाईंले दिने त तपाईंकी छोरीलाई नै हो ।

मिश्रपरिवारले चिठी पढ्यो र विचार गरेर मिश्रजीले चौबेजीलाई चिठी लेखे —

प्रिय चौबेजी,
तपाईंको चिठी पाएँ । म आफैँ नै तपाईंलाई चिठी लेख्न खोज्दै थिएँ । चिरञ्जीव अशोकको सफलतामा हामी सबै खुसी छौँ । आयुष्मान् अब डिप्टी कलेक्टर हुने भएछन् । अशोक निकै योग्य र बुद्धिमान् युवक हुन् । उनी चरित्रवान् छन् । राम्रा छन् । सुसंस्कृत छन् । उनले निरन्तर उन्नति गर्दै जानेछन् ।

मेरी छोरी शीला पनि आई.ए. एस.मा छनोट भएको खबरले तपाईंलाई पनि पक्कै प्रसन्नता होला । हिजै आदेश आएको हो ।

अनि तपाईंलाई के कुराको पनि खुसी हुनेछ भने छोरी शीलाले कुनै जुनियर सरकारी जागिरेसित विवाह नगर्ने निर्णय गरेकी छन् । म यो सम्बन्ध यहीँ टुङ्ग्याउने कुराले निकै प्रसन्न भएको छु ।

०००
हरिशंकर परसाईंको ‘परसाई रचनावली’ २ को ‘चौबे जी की कथा’बाट अनुवाद गरिएको हो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x