हरिशंकर परसाईंचौबेजीको कथा
चौबेजीले भने, ‘ए, यो आदेश एकै महिनापहिले आएको भए डिप्टी कलेक्टर केटाले तिसचालिस हजार पाउन्नथ्यो ? यो सरकार नै बेकारको छ । यो देशमा क्रान्ति त भएरै छाड्छ ।’

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
चौबेजीका पुत्र हुन् अशोक । प्रथम श्रेणीमा एम.ए. गरेका हुन् । नोकरीको प्रयासमा छन् । चौबेजी नोकरी त लागि नै हाल्छ तर त्योभन्दा पहिले नै विवाह गरिदिनुपर्ला भनेर सोच्दै छन् ।
मिश्रजीकी छोरी हुन् शीला । उनले पनि प्रथम श्रेणीमै एम. ए. गरेकी हुन् र त्यो पनि दुई वर्षपहिले नै । मिश्र र मिश्रिनी उनको पनि छिटै विवाह गरिदिन चाहन्छन् ।
चौबेजीसित कुरो चल्यो । लेनदेन पनि निश्चित भयो । कान्यकुब्जीहरूमा ंएम.ए. पास तर बेकार बसेको केटाको दर के छ भनेर बुज्रुकहरूलाई सोधियो । बुझ्नेहरूले भने, ‘त्यसो त कन्यापक्षको क्षमता र श्रद्धामाथि निर्भर हुन्छ । हामीले भने म्याट्रिक फेल एउटा कान्यकुब्जी केटाका लागि एउटी कानी केटीका बाबुसित एक लाख रुपैयाँ दिलाएका हौँ । तर सामान्यतः एम.ए. पास बेकार केटाको दर भने पन्ध्रबिस हजारको बिचमै पर्छ ।’
बुझ्नेहरूले पन्ध्र हजारमा निश्चित गरिदिए ।
सगुन लैजाने दिन पनि निश्चित भयो एक महिनापछिको । दुवै पक्ष सन्तुष्ट थिए ।
यसै बिचमा लोकसेवा आयोगको सहयोग प्राप्त भयो । अशोक डिप्टी कलेक्टरका लागि छनोट भयो । आदेश देखेर चौबेजी खुसी भए ।
अनि एक्कासि चौबेजी दुःखी भए । टाउको पिटेर गाली गर्न थाले, ‘….साले, नीच, कन्जरा हुन् यी आयोगका मान्छेहरू ! हरामीहरूले नियुक्तिपत्र पठाउनै थियो भने एक महिनापहिले नै पठाउनुपर्ने थिएन ?’
चौबेनीले सोधिन्, ‘छोराले राम्रो जागिर पाएको छ अनि तिमी भने यस्ता कुरा गर्दै छौ ?’
चौबेजीले भने, ‘ए, यो आदेश एकै महिनापहिले आएको भए डिप्टी कलेक्टर केटाले तिसचालिस हजार पाउन्नथ्यो ? यो
सरकार नै बेकारको छ । यो देशमा क्रान्ति त भएरै छाड्छ ।’
चौबेनीले भनिन्, ‘तिम्रो पनि सुद्धि हराएको थियो नि त ! मैले त एकदुई महिना पर्खिन भन्दै थिएँ नि, तिमीले नै हतारहतारमा निधो दियौ र त हो नि !’
चौबेजीले भने, ‘अब के गर्ने ?’
चौबेनीले भनिन्, ‘यसो गर, मिसिरजीलाई एउटा चिठी लेखेर पठाऊ । उनी कुरो बुझ्ने मान्छे हुन् ।’
चौबेजीले मिश्रजीलाई लेखे —
प्रिय मिश्रजी,
अत्र कुशलं तत्रास्तु ! आगे छोरा अशोक डिप्टी कलेक्टरमा छनोट भएको छ भन्ने थाहा पाएर त तपाईं पक्कै खुसी हुनुहुन्छ होला । आजै आदेश आएको हो । विवाहको शुभ अवसरमा यो पनि शुभ काम भयो । यसमा तपाईंकी सुयोग्य पुत्रीको भाग्यको पनि योगदान छ ।
तपाईं आफैँ बुझ्ने हुनुहुन्छ । नीति र मर्यादा पनि बुझ्नुभएको छ । धर्ममा नै धर्ती धानिएको छ । मानिसको त के छ र ? जन्मिन्छ अनि मर्छ । पैसा त हातको मैला हो । मानिसको प्रतिष्ठा ठुलो कुरो हो । मानिसले भलादमीपन देखाउनुपर्छ । कर्तव्य गर्नुपर्छ । धर्म छोड्नु हुँदैन । भगवान् कृष्णले ‘स्वधर्मे निधनं श्रेयः’ भनेर भन्नुभएको छ । तपाईंले मेरो कुरो बुझ्नुभयो होला भन्ने आशा लिएको छु । तपाईंले दश हजार रुपैयाँ अरू थपिदिने कृपा गर्नुहोला । हामीलाई त केही चाहिन्न । तपाईंले दिने त तपाईंकी छोरीलाई नै हो ।
मिश्रपरिवारले चिठी पढ्यो र विचार गरेर मिश्रजीले चौबेजीलाई चिठी लेखे —
प्रिय चौबेजी,
तपाईंको चिठी पाएँ । म आफैँ नै तपाईंलाई चिठी लेख्न खोज्दै थिएँ । चिरञ्जीव अशोकको सफलतामा हामी सबै खुसी छौँ । आयुष्मान् अब डिप्टी कलेक्टर हुने भएछन् । अशोक निकै योग्य र बुद्धिमान् युवक हुन् । उनी चरित्रवान् छन् । राम्रा छन् । सुसंस्कृत छन् । उनले निरन्तर उन्नति गर्दै जानेछन् ।
मेरी छोरी शीला पनि आई.ए. एस.मा छनोट भएको खबरले तपाईंलाई पनि पक्कै प्रसन्नता होला । हिजै आदेश आएको हो ।
अनि तपाईंलाई के कुराको पनि खुसी हुनेछ भने छोरी शीलाले कुनै जुनियर सरकारी जागिरेसित विवाह नगर्ने निर्णय गरेकी छन् । म यो सम्बन्ध यहीँ टुङ्ग्याउने कुराले निकै प्रसन्न भएको छु ।
०००
हरिशंकर परसाईंको ‘परसाई रचनावली’ २ को ‘चौबे जी की कथा’बाट अनुवाद गरिएको हो ।
Subscribe
Login
0 Comments
Oldest







































