लीलाराज दाहालस्तर
पटकपटक उसले आफूलाई माग्ने, खाते भनेको उनले बिर्सेका थिएनन् । एकदिन ख्यालख्यालमा श्यामकृष्णले उसलाई हेरेर भने, “अब भने हाम्रो स्तर मिल्यो है !”

लीलाराज दाहाल :
रामबहादुरको हैसियत सम्भ्रान्तकै जस्तो थियो।
ऊ सानातिना मान्छेहरुलाई गन्दैनथ्यो । काठमाण्डौको मुख्य सडकमा रहेको उसको साततले घरले उसको रवाफको आगोमा घीऊ थपिरहेको थियो । ऊ आफू निकै ठूलो मान्छे भएको भ्रमको आसनमा बसिरहेको थियो ! वल्लोपल्लो घरमा विहावारी, मरन पर्दा समेत ऊ जाँदैन ! यस्तो सोचेर कि त्यहाँ जान उसको हैसियत मिल्दैन । ऊ टोलमा आफूलाई एक्लो धनिको रुपमा प्रस्तुत गरेर बाँचिरहेको थियो ।
अकस्मात् ठूलो भूकम्प आयो । भूकम्पको धक्काले उस्को घर गर्लामगुर्लुम ढल्यो । हेर्दाहेर्दै उसलाई इज्जतको सोफामा बसाइरहेको घर माटोमै मिल्न पुग्यो । अव ऊ निमेषभरमै करोडपतिबाट रोडपतिको हैसियतमा आइपुग्यो । श्यामकृष्णको टिनको छाप्रो छेउमा उसको पाल टाँगियो । घर भत्किएको भग्नावशेषमा रहेको सिमेन्ट र इँटको थुप्रोमा पाल टाँग्न पनि मिलेन । घरबाट प्राप्त हुने बहालले उसको इज्जतको जुँगा ठडिएको थियो । अव त्यो पनि लत्रियो ! उसको पाल किन्ने सम्मको हैसियत बाँकी रहेन । घरमा भएका बैंकका चेकहरु, नगद, गरगहना आदि घरको खण्डहरमा पुरिएका थिए । सरकारले वितरण गरेको पाल र राहत रकमले उसले घर व्यवहारको जाँतो घुमाउन थाल्यो ।
ऊ ओठमा मौनताको ताल्चा झुण्ड्याएर आफ्नो भत्किएको घरतिर हेर्न थालेको थियो । यतिखेर उसको अनुहारमा पश्चातापको लहर सल्वलाउन थाल्यो । उसका आँखाबाट झरेको आँशुलाई श्यामकृष्णको ओठको मुस्कानले जिस्क्याइरहेको थियो ।
पटकपटक उसले आफूलाई माग्ने, खाते भनेको उनले बिर्सेका थिएनन् । एकदिन ख्यालख्यालमा श्यामकृष्णले उसलाई हेरेर भने, “अब भने हाम्रो स्तर मिल्यो है !”
०००
बागमती ११, कर्मैया, सर्लाही
Subscribe
Login
0 Comments
Oldest







































