निर्मोही व्यासलेख्ने होइन स्रष्टाले कसैलाई रिझाउन
किन्तु छैन तिमीलाई अधिकार अह्राउन स्रष्टा पो हुँ, कसैको म खेताला दास होइन ।

१
आलोचक ! दया लाग्छ देख्ता तिम्रो चुरीफुरी
“नलेख् त्यस्तो र लेख् यस्तो” आज्ञा दिन्छौ चढी धुरी
विवेक-ब्रह्मले मेरो जस्तो लेख्न लगाउँछ
त्यस्तै लेख्छु म, छातीमा किन तिम्रो बिझाउँछ ?
२
रच्छु काव्यिक संसार जगमाथि यथार्थको
सिँगार्छु कल्पनाले र कलाले भाँतिभाँतिको
विचार-जलले सिन्ची चेतना-बीज छर्दछु
भाव-संवेदनाद्वारा त्यसमा प्राण भर्दछु
३
जगत्-जीवन भोगेर गर्छु जे अनुभूति म
घोली संवेदनामा त्यै सृजनामा उतार्छु म
लेख्ने होइन स्रष्टाले कसैलाई रिझाउन
लेख्ने त हो स्वयंलाई विरेचित तुल्याउन
४
जहाँ संवेदना छैन,छैन भावुकता जहाँ
त्यो अनुर्वर पाखोमा सिर्जना उम्रिने कहाँ ?
गर्न आलोचना जस्तो सजिलो सिर्जना भए
सृष्टिभन्दा समीक्षा नै उपल्ला मानिने थिए
५
गुण ओझेलमा पार्ने, छिद्रान्वेषणमा रत
अहङ्कारी तिनै, बन्छन् स्रष्टाका उपदेशक
जोसङ्ग छैन स्रष्टाको बुझ्ने संवेदना हिया
त्यस्ता द्रष्टाहरूबाट पाउन्नन् कृतिले नियाँ
६
तिमी स्वतन्त्र छौ मेरा रचना नरुचाउन
नीर-क्षीरविवेकी भै सक्छौ धज्जी उडाउन
किन्तु छैन तिमीलाई अधिकार अह्राउन
स्रष्टा पो हुँ, कसैको म खेताला दास होइन
हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest










































