डा. टीकाराम पोखरेलसपनाको सम्राट !
स्वप्नदर्शीले हतार हतार उठेर पर्दा खोल्यो । घाम पूर्वैबाट उदाएको थियो । तल सडकमा अरुकै विजय र्याली चलिरहेको थियो ।

नयाँ साम्राज्य घोषणा हुँदै थियो ।
नयाँ साम्राज्यमा नियमहरू सबै नयाँ बनाइएको थियो ।
कुकुरहरू म्याउँम्याउँ गर्दै थिए
बिरालाहरू भुकिरहेका थिए,
सर्पहरू आकाशमा उडिरहेका थिए
चराहरू जमिनमा घस्रिरहेका थिए ।
सिंहहरू म्याँ म्याँ गरेर कराउँदै थिए
बाख्राहरू भने सिंह झैँ गर्जँदै थिए,
गाईहरू पोखरीभित्र बस्थे
माछाहरू जमिनमा थिए ।
घाम पश्चिमबाट झुल्किरहेको थियो
दिउँसै टहटह जुन लागेको थियो,
खुसी हुनेहरू रोइरहेका थिए
दुःखीहरू भने हाँसिरहेका थिए ।
नयाँ साम्राज्यको लागि नवसम्राटको खोजी हुँदै थियो ।
तर, अफशोच !
कोही पनि सम्राट हुन तयार थिएन ।
त्यागको चरम नमूना थियो ।
प्राप्तिको त कसैको कल्पनै थिएन ।
एकले अर्कालाई नवसम्राट बनिदिन अनुनयविनय गर्दै थिए ।
विना सम्राटको साम्राज्य हुन पनि सक्दैनथ्यो
सम्राट नपाएर साम्राज्य घोषणा हुन बाँकी नै थियो,
ठीक त्यसैबेला एउटा मान्छे आयो
र, भन्यो-
म तयार छु सम्राट बन्न,
नयाँ सम्राट पाएकोमा सबै खुसीले गदगद् भए ।
नवसम्राटको घोषणा हुनै लागेको थियो
हुन लागेको सम्राट झल्याँस्स निन्द्राबाट ब्युँझियो,
रातले नेटो काटेर बिहान भैसकेछ
झ्यालबाट कोठामा उज्यालो छिरिसकेछ ।
स्वप्नदर्शीले हतार हतार उठेर पर्दा खोल्यो ।
घाम पूर्वैबाट उदाएको थियो ।
तल सडकमा अरुकै विजय र्याली चलिरहेको थियो,
जोसँग हिजो मात्र उसले चुनाव हारेको थियो ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest









































