
कवि भूपी शेरचनको सम्झनामा
चियाको चुस्कीमा विद्वता प्युनेहरूको जमात छ किचन क्याबिनेटका भोक्ताहरूको पदलोलुपताको मात छ जग्गा दलालीबाट ब्युँझिएको व्यक्तित्वको सीमारेखामा नवधनाढ्य प्रदर्शनको रतिराग छ ।

२०४० सालमा भूपि शेरचनको उपस्थिति भएको बखत मोती स्मृति भवन धरानमा मैले पनि कविता सुनाएको थिएँ तर उक्त कविता मलाई याद भएन तर आज भएको भए पक्कै यो कविता सुनाउँथें ।
भूपी दाइ !
हजुरले देखे जस्तै
झापाको गौरादहमा पनि डिपु चोक छ
यहाँ के छैन सबै थोक छ ।
इमान छ बेइमान छ
मान अपमान छ
अगुवाहरूको आहान छ
पछुवाहरूको शान छ
बिरोधमा कतै झोक छ
समर्थनमा टेबल ठोक छ
हो भूपी दाइ !
झापाको गौरादहमा पनि डिपु चोक छ
यहाँ के छैन सबै थोक छ ।
यहाँ भिडले बनाएका नेता र
नेताले बनाएका भिड दुवैको बास छ
एक थरीमा जलन कुण्ठा छ
अर्को थरीमा तिब्र आश छ
टिपरले कुल्चिएका सडकहरूबाट उडेको
मसिनु धूलोले भरिएको निश्वास छ
यहाँ अनुगमनका पोथी फिताहरूले कोरलेको
भाले अण्डाहरूमा जनप्रतिनिधिको आश छ
कतै पार्टी छ कतै भोक छ
यहाँ के छैन सबै थोक छ ।
चियाको चुस्कीमा विद्वता प्युनेहरूको जमात छ
किचन क्याबिनेटका भोक्ताहरूको
पदलोलुपताको मात छ
जग्गा दलालीबाट ब्युँझिएको
व्यक्तित्वको सीमारेखामा
नवधनाढ्य प्रदर्शनको रतिराग छ
छोटे कन्सर्टमा चुँडिएको गितारको तार झैं
बेसुरा मदमातको राग छ
परिस्थितिको समाजशास्त्रमा
कुण्ठा अभिव्यञ्जनाको तोक छ
यहाँ के छैन सबै थोक छ ।
झापाको गौरादहमा पनि
डिपु चोक छ
यहाँ के छैन सबै थोक छ ।
०००
गौरादह, झापा