
दाह्री
इमान्दारी, वफादारी, ती दाह्री पो दाह्री गद्दारी र फौज्दारी, ती नराम्रा दारी ! ठेकेदारी, जमिन्दारी, रौं बिनाका दारी ज्यालादारी हवल्दारी, उस्तै चौकीदारी !

पालौं फालौं, आफ्नो मर्जी, आफ्ना जुँगा दाह्री
फाल्दा खर्च, पाल्दा व्यर्थ, के काम जुँगा दाह्री ?
सेता पनि आफ्नै दाह्री, काला पनि आफ्नै
काला, सेता, तिल चामले, सबै बराबरी !
छालामाथि पलाएका, काला जुँगा दाह्री
फुल्छन् मात्रै फल्दैनन् यी, कस्ता हावादारी !
को वियोगी ? को हो जोगी ? को हो मनोरोगी ?
कुन दाह्री हो आडम्बरी ? कुन हो, सदाचारी ?
उम्रेपछि, उम्रे, उम्रे, उम्रे भने, दाह्री
कपाल बरु खुईलिजान्छ, के खुईलिन्थे दाह्री !
दाह्रीवाला ब्रह्मचारी, कि आतङ्ककारी ?
अपवादमा रवीन्द्रनाथ, लेखनाथका दाह्री !
दाह्री बढे जस्तैगरी, आय बढ्ने भए
सरकारले नै गर्ने थियो, ‘दाह्री कर’ तयारी !
काला फुले पनि सेतै, खैरा फुले पनि
आखिरीमा सबै सेतै, कस्तो समझदारी
दाह्री राम्रो भए किन बुच्चै छन् त नारी ?
उफ्रिहाल्थे क्रान्तिकारी, गर्थे, खबरदारी !
सीमा छैन यी दाह्रीको, बीमा पनि छैन
उखेल्देलान् हुनैपर्छ, सधैँ होसियारी
दाह्री जुँगा, भएर पो, दाजु-दाजु भन्छन्
कपाल मात्रै पाल्या भए भन्थे, जटाधारी !
इमान्दारी, वफादारी, ती दाह्री पो दाह्री
गद्दारी र फौज्दारी, ती नराम्रा दारी !
ठेकेदारी, जमिन्दारी, रौं बिनाका दारी
ज्यालादारी हवल्दारी, उस्तै चौकीदारी !
आलस्यले, वैराग्यले, या रहरले पालुन्
जति काटुन् तर सधैँ, ‘बढौं’ भन्छन् दाह्री !
स्पर्शमा आनन्द छ, चाहे जता दल्नोस्
उस्तै उस्तै हुन् दाह्री र रुमाल, भुवादारी
०००
अमेरिका