रुद्र ज्ञवालीत्यो हाम्रै माननीय हो
सीमाना देशको आज साटिंदै फेरिँदै छ रे बसेको घर छोडेर भाग्नुपर्ला कतै भरे यसरी देशको लाज लुटिँदा मौन बस्छ जो नामर्द छेरुवा लाछी त्यो हाम्रै माननीय हो ।

रूद्र ज्ञवाली :
झुटो बोल्दछ ढाँटेरै चुनावी खेल खेल्दछ
झुटको खेत जोतेर झुटकै बीज रोप्दछ
पिएर दुध उल्टीमा विष छाने चरित्रको
अनौठो रूपको जाली त्यो हाम्रै माननीय हो।
नगर्ने काम ऊ गर्छ गर्ने गर्दैन बस्दछ
अशान्ति द्वेष रोपेर शान्तिका मन्त्र जप्दछ
प्रजातन्त्र अचानोमा राखेर भोग खान्छ जो
धूर्त छट्टु टपर्टुइँया त्यो हाम्रै माननीय हो।
रेटेर देशको घाँटी आफ्नो भाग्य सजाउने
खाएर टन्न आफूले भोका नाङ्गा कज्याउने
काटिई नाक बुच्चो भै कुरा गर्ने इमानको
पाखण्डी नकटो ढोँगी त्यो हाम्रै माननीय हो ।
राष्ट्र निर्माणका चिल्ला चर्का भाषण गर्दछ
देश खोक्रो बनाएर विदेशी बैंक भर्दछ
घाइते देशको चोक्टा लुछेर भोज खान्छ जो
कुकर्मी पातकी नीच त्यो हाम्रै माननीय हो ।
मुखुण्डो उसको उत्र्यो सक्कली रूप देखियो
राष्ट्रियता महाकाली र मेचीतर्फ देखियो
काटे माथि अझै थप्छ नुन चुक सदैव जो
सकुनी कपटी जाली त्यो हाम्रै माननीय हो।
सीमाना देशको आज साटिंदै फेरिँदै छ रे
बसेको घर छोडेर भाग्नुपर्ला कतै भरे
यसरी देशको लाज लुटिँदा मौन बस्छ जो
नामर्द छेरुवा लाछी त्यो हाम्रै माननीय हो ।
०००
सीमान्त स्वर (२०८०)
Subscribe
Login
0 Comments
Oldest








































