जीवनाथ अधिकारीतँ खा
ए मान्छे सब खा-सिंगान अथवा त्यो ऱ्यालको झोल खा बैनी-भाइ समाज प्यार जनको आफन्तको मोल खा । मान्छेका मलमूत्रमा लहसिंदै आनन्द मानी तँ खा तिर्खा-भोक र प्यास भक्ष्य तँ नखा दुर्गन्ध-पानी तँ खा ॥

जीवनाथ अधिकारी :
खा खा भाङ, चरेस खा कि अथवा गाँजा र सुर्ती तँ खा
रक्सी जाँड तँ खा सिनित्त सजिलै रित्याउँदै लौ तँ खा ।
भक्षाभक्ष्य सबै अशेष अब खा जे पाउँछस् त्यै तँ खा
खा खा खा नरमांस-रक्त पनि खा पानी पिएझैं तँ खा ॥१॥
धेरै खा घुस डम्म पेट भरिने ढुङ्गा र माटो तँ खा
भ्रष्टाचार गरेर आर्जित सबै जम्मा गरेको तँ खा ।
ईर्ष्या-द्वेष-विषाक्त भाव मनमा घोल्दै सबै थोक खा
सारा अन्न फलाउने भुवन यो, साथै सबै भोक खा ॥२॥
खोजी खा सुकुटी भुटेर अथवा पोली पकाई तँ खा
लुट्ने ह्याउ भएन लौ यदि भने बोली-फकाई तंँ खा ।
सोझा मानिसका कला र सिपमा डुब्दै छकाई तँ खा
आफ्नो वा परको विनाविविधमा नाङ्लो ठटाई तँ खा ॥३॥
खा माटो, धरती, नदी र झरना बेचेर सारा तैँ खा
सीमास्तम्भसमेत खा अघि अझै लम्केर तारा तँ खा ।
पुर्नेको अझ चन्द्र खा, तँ रवि खा, आकाशपाताल खा
हावा-मार्ग निलेर बन्द गरिदे भेटे सबै ताल खा ॥४॥
खा डण्डी र सिमेन्ट खा, अझ अरू इँट्टा र भट्टा तँ खा
खा भित्ता अनि छेउ-माझ, सजिलै ठेक्का र पट्टा तँ खा ।
सारा जङ्गल खा र वृक्ष पनि खा, उद्योगधन्दा तँ खा
पानी स्वच्छ तँ खा कि नाल-ढलको लेदो छ गन्दा तँ खा ॥५॥
मान्छेको हक खा र मानवपना खोसेर खर्लप्प खा
सिङ्गै मानवता चपाउन सके आस्थाहरू क्वाप्प खा ।
सारा मन्दिर खा र मूर्ति पनि खा, गुम्बाहरू धेर खा
खा खा मस्जिद खा र चर्च अझ खा, पाटी र पौवा तँ खा ॥६॥
इच्छा मानवका सलक्क तँ चपा धुस्नो बनाएर खा
चिप्लो घाउ चिलाउने वदनको छारो उडाएर खा ।
सारा सज्जनका इमान तँ चपा, हावा उडाएर खा
जोतेका सब खेतमा कृषकका गाडी गुडाएर खा ॥७॥
जे जे छन् मठका गुठी पनि तँ खा चोरेर देवस्व खा
पानीघाट तँ खा र घट्ट पनि खा सर्वस्व सर्वस्व खा ।
मान्छेको मन खा अझै अघि बढी आन्द्रा-कलेजो तँ खा
आँखाको जल चप्प चप्प मुखमा हालेर चाट्तै तँ खा ॥८॥
ए मान्छे सब खा-सिंगान अथवा त्यो ऱ्यालको झोल खा
बैनी-भाइ समाज प्यार जनको आफन्तको मोल खा ।
मान्छेका मलमूत्रमा लहसिंदै आनन्द मानी तँ खा
तिर्खा-भोक र प्यास भक्ष्य तँ नखा दुर्गन्ध-पानी तँ खा ॥९॥
जे जे सुन्दर छन् सुशासनहरू दाह्रा धसेरै तँ खा
भित्रैबाट गलाउने नियतले भित्रै पसेरै तँ खा ।
मर्ने छस् तँ भुँडी फुटेर पछि ता, बाँच्ता सबै थोक खा
भ्रष्टाचार तँ होस् बलिष्ठ जनको लात्ती-महा झाेंक खा ॥१०॥
०००
२०७६ माघ २२
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































