
भाइ !
आफ्नै परिभाषाको मूर्छना संगालिरहेका छन् त्यसैले परिस्थितिको दुस्मनी आँखाभरि नचाएर भाइ ! कविता नलेख्नोस् चुपचाप निदाउनोस् सपना नदेख्नोस् ।

खगेन्द्र नेउपाने :
भाइ !
अब कविता नलेख्नोस्
चुपचाप निदाउनुहोस्
सपना नदेख्नोस् ।
तपाईंका बारुद बनेका बिम्बहरु
माझ सडकमा मजाले पड्किंदा
आफैं पनि घाइते बन्नुहुनेछ ।
फोहोरी दिनका दुर्गन्धित बर्तमानहरु
सम्साँझै सडकमा उघार्दा
हजुर पनि गनाउनु हुनेछ, विषाक्त हुनुहुनेछ
त्यसैले
भाइ ! अब कविता नलेख्नोस् ।
मरेका दिनहरुको इतिहासले
तर्सीरहेका छन् स्कुले बच्चाहरु
गणितमा एकमा एक जोड्दा एकै हुन्छ भन्नेकुरा
बेकुफी कथा बनिसक्यो
तपाईं भने अझै चौरास्तामा
कविता बमन गर्दै हुनुहुन्छ ?
हैन भाइ ! हैन
अब कविता नलेख्नोस्
चुपचाप निदाउनोस्
सपना नदेख्नोस् ।
जीवन असीमित आकाङ्क्षाहरुको
सानु दरिया हो
समुन्द्र त टाढाको कुरा भयो
पौडिन नजान्नेहरु खोल्सो देख्दै तर्सिन्छन्
राग अनुरागको सापेक्षता
आफ्नै परिभाषाको मूर्छना संगालिरहेका छन्
त्यसैले
परिस्थितिको दुस्मनी आँखाभरि नचाएर
भाइ ! कविता नलेख्नोस्
चुपचाप निदाउनोस्
सपना नदेख्नोस् ।
०००
गाैरादह, झापा
Subscribe
Login
0 Comments
Oldest