लक्ष्मण नेवटियार…जीवनले फेरि आफ्नो अर्थ भेटाउँछ !
पाइन्छ सेवा र समर्पणमा, पाइन्छ कर्तव्यको उज्यालोमा, जहाँ आत्मा हलुका बन्छ, र जीवनले फेरि आफ्नो अर्थ भेटाउँछ। मनको भारी बिसाएर !!

लक्ष्मण नेवटिया :
थाप्लोमा भिरेर हिडेको भारी
चौतारीमा बिसाउन सकिन्छ,
छेउको ढुङ्गामा अडिएर हो
थकाइ पनि फुकाल्न सकिन्छ।
तर मनभित्रको पीडा त,
कसरी बिसाउने ?
कसरी कता फ्याँक्ने त्यो बोझ,
जो आत्माको गहिराइमा रहेको छ ?
कहिले आँसु बनेर बग्छ,
कहिले शब्द बनेर झर्छ,
अनि कहिले मौन भएर
मनलाई भित्रै सम्म जलाउँछ।
भेटिदैन त्यस्तो भरपर्ने ठाउँ जहाँ-
हुर्हुरी बलेको मन जोगाउन पाइयोस्,
त्यहाँ रहेको डाहाको अग्नि हराओस् ,
पाइन्न, त्यस्तो ठाउँ जहाँ
मनको बोझ राख्न सकियोस्,
जहाँ पीडा पलभर मै हराओस्
पाइएन त्यस्तो विश्वासिलो ठाउँ
हो पाइएन कतै पाइएन !!
तर हो,पाइन्छ अलौकिक मर्म स्थान
आमाको न्यानो काखमा,
जहाँ संसारचक्र टक्क थामिन्छ ।
पाइन्छ नानीहरूको हाँसोमा,
उनका साना हातका स्पर्शमा,
जहाँ भविष्य चम्किन्छ,
र बिर्सन्छ मनले दुःखका दिनहरू ।
पाइन्छ सेवा र समर्पणमा,
पाइन्छ कर्तव्यको उज्यालोमा,
जहाँ आत्मा हलुका बन्छ,
र जीवनले फेरि
आफ्नो अर्थ भेटाउँछ।
मनको भारी बिसाएर !!
०००
विराटनगर
Subscribe
Login
0 Comments
Oldest







































