साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दोसल्लापर्व

Nepal Telecom ad

आजभोलि आफ्नोे अनुहार टेलिभिजनमा हेर्न र पत्रपत्रिकामा आफ्ना फोटाहरू छपाउन निकै थरिका नयाँनयाँ प्रयोग हुने गरेका छन् । केही वर्ष पहिलेसम्म यो देशमा गोष्ठी गरेर आफूलाई जनमानसमा पेस गर्नेहरूको लावालस्कर लाग्ने गरेको थियो । देशै गोष्ठीमय भएको थियो । गोष्ठीका नाममा पत्रकारहलाई बोलाएर टेलिभिजनमा अनुहार हेर्ने लालसा देशभरि चर्किएको र चरम चर्चामा थियो । आजभोलि त्यो काममा शिथिलता आएको छ । त्यो कामलाई थामिरहने सत्कार्यलाई रिपोटर्स क्लबले निरन्तरता दिने गरिरहेको छ । त्यसका लागि धन्यवाद भन्नुपर्छ । यसपछि अरूअरू फेशनहरू आएका थिए । नयाँ सङ्घसंस्था खोल्ने, नयाँ संस्था वा पार्टी खोल्ने, एउटा पार्टीबाट फुटेर अर्काे पार्टी खोल्ने र पार्टीका नाममा आएको हन्डी एक्लै हसुर्ने आदि कुरा पनि एक पटक उधुमका साथ चल्यो । कुरा गर्दा पाप नलागोस्, यही विधिबाट स्वर्गीय गज्जूबाबुले आफू एक्लै पार्टी खोलेर पार्टीका नाममा आएको अवसर एकल रूपमा नै हसुर्ने गरेका थिए । अयोग्यबाट योग्य भएपछिको शेरबहादुरका मन्त्रीमण्डलका बेलामा पनि बद्री मण्डलले एक्लै गज्जुबाबुको बिँडो थामिरहेका थिए । यतिबेला उनले कुन रूपमा यो बिँडो थामेका छन्, त्यो कुरा थाहा भइसकेको छैन । कुनैकुनै बेलामा त नानाथरिका जातजातिका अनुयायी, धर्मकर्मका अनुयायी, जोगी, सन्यासी, बूढाबूढी, बाहुनक्षेत्री, हजाम, मोची, आबालवृद्ध बनिताहरू सबैले एक पटक आफ्ना–आफ्ना नाममा संस्था खोलेर देशलाई संस्थामय पारेका थिए । अनि पार्टीहरूको ओइरो खोले । खोल्ने काम यति तीब्र गतिले भयो कि, खोल्ने कुरा केही पनि बाँकी रहेन । नेताले पार्टी खोल्न र अभिनेताले अभिनेतीले लुगा खोल्नसम्म बाँकी राखेनन् । बाँकी थियो भने लँगौटी खोल्न मात्र बाँकी थियो ।

तर त्यस्ता नवप्रयोगहरू आजभोलिका भारतीय सिनेमाका हिरोइनहरू वा घाँटी चिरिने गरी आँखा चिम्लिएर तल अपानवायु निस्किने गरी वा अलिकति कट्टु बिग्रिने गरी आजभोलिका मुन्द्रे वा झ्याम्लेहरूले गाएका गीतहरू हराएझैँ गरी कता हराएर गए कसैले पत्तो पाएन । ती कता पुगे कता पुगे ! त्यस्ता प्रकरणको कुनै थाहापत्तो छैन । मानौँ नेपाल भनेको एक प्रयोगको क्षेत्र हो ।

यसै क्रममा यो प्रयोगक्षेत्रको देशमा त्यसपछि आयो, सहकारी संस्थाहरू खोल्ने लहर । सहकारीहरू यति धेरै खुले, मानौँ देश नै सहकारी हुन लागेको थियो । उहिले किसानहरूले सिसौ रोपेर बारीभरि सिसौ नै सिसौ बनाएजस्तो गरी सहकारीका धन्दा देशैभरि खुले । जेठाबाठाले, लाटागाँडाले, लुइतेखुइतेले, लट्टेखट्टेले अर्थात् सबैले सहकारी खोले । मानौँ सहकारी खोल्नु भनेको कुखुराले अन्डा पार्नुजस्तै हो अथवा डढेलो लागेको जङ्गलमा पानी परेपछि घाँसपातका सुइरा पलाउनु जत्तिकै हो । अथवा कुकुरले ढिस्को देखेपछि खुट्टो उचाल्नुजस्तै हो । फेरि सहकारीसँग जोडिएको अर्को पर्व आयो, सहकारीमा जम्मा गरिएको धनराशी पनि निकै नै चर्चामा आएको पर्व थियो । देशका टाठाबाठाले सहकारी रूपी जाल थापेर निकै जनतालाई कङ्गाल बनाउँदै आफू कोही बङ्गाल पसे, कोही टङ्गालतिर दरबार बनाएर गजधुम्म भई साँढेझैँ बसे । हाम्रो देशका लागि यो पनि एक महान् पर्व थियो । यो पर्व पनि बिस्तारै जिम्ल्यो । हुन त नयाँपुराना पर्वहरू यो मुलुकमा उहिल्यैदेखि जिम्लिँदै आएका हुन् । गलैँचापर्व, गधापर्व, सिंहदरवारपर्व, नारानहिटीपर्व, दासढुङ्गापर्व जस्ता अनेकौँ ताजाताजा आधुनिककालीन पर्वहरू मात्र नभई भण्डारखाल, कोत, अलौ, मकै जस्ता पुराना पर्वहरू पनि उहिल्यैदेखि जिम्लिँदै आएका हुन् । आज जति पर्वहरू वा काण्डहरू घट्छन् ती उत्तिकै चाँडो जिम्लिएर पनि जान्छन् ।

यस्ता पर्वका लावालस्करमा केही पछि आएर अनेक थरिका पुरस्कार थापेर कलाकार वा साहित्यकारहरूलाई लख्याउने पर्व चर्चामा थिए । त्यसबेला बम्पर पुरस्कार थपना गर्नेहरूको लहर खहरेमा बाढी आएजस्तै गरेर आयो । नयाँ धनाढ्यहरूले पुरस्कार थापेर यो देशमा नोबेल पुरस्कारभन्दा पनि ठूलाठूला पुरस्कार थपना गर्ने आँट गरेछन् भन्ने भान पर्न थाल्यो । कनकमान खुकुनीदेवी धुपालमान पुरस्कार, बलीभक्त झुमकदेवी गीताराम नटखटी लछुमनियाँ पुरकार, थिरकमल गोट्सुमल नाथुराम पुरस्कार, सियाराम धोबी तथा लखनियाँ नथुनिदेवी पुरस्कार आदि इत्यादि नानाथरिका पुरस्कारहरू थापिएको यो देश नै पुरस्कारमय हुन पुग्यो । बडाका ता पुरस्कार छँदै थिए, लाटागाँडाले पनि पुरस्कार थापेर स्वाभिमानी, लेखककवि कलाकारहरूलाई करिया भरिया बनाईं लख्याउने काम उधुमसँग चल्यो । स्वाभिमानी भनिएका कलासाहित्यका साधकहरू पनि त्यसरी थापिएका लोट्टोको धनराशी देखेर तिनको राग अलाप्नमा निकै सक्रियताका साथ लागेका देखिए । आफ्नोे शालिक रखाउने दाउ थापेर केही कनिका देशका सङ्घसंस्थामा तिनले छर्न हिँडेको दृश्य पनि यसै बेला नदेखिएको होइन । केही नम्बरी धनाढ्यहरूले प्रज्ञाप्रतिष्ठान, विश्वविद्यालय वा विद्यालयहरूका नाम नै बदल्नुपर्ने शर्तमा पैसा दिएर किन्न खोजेको कुरा पनि यसैबेला चर्चामा थियो । त्यसरी थापिएका पुरस्कार पाउने लालसाले लेखकहरूले पनि निकै हरियाभरिया गीत नगाएका होइनन् । त्यो पनि सानोतिनो पर्व नै थियो । यस्ता पर्वैपर्वका लहरमा हाल आएर नयाँ पर्वको उदय भएको छ, दोसल्लापर्व ।

दोसल्लापर्वको झलक यही प्रसङ्गले दिन सक्ला भनेर सानोतिनो प्रसङ्ग दिने विचार गरेको छु । लेखलाई तुर्नुअघि त्यही सानो सन्दर्भको संयोजन हुनु, आवश्यक छ ।
साँझको आठ बज्न आँटेको थियो । खानपिन सकेर म यसो बस्तै मात्र थिएँ, टेलिफोनको घन्टी बज्यो । फोन उठाएँ र भनेँ– “हजूर !”
“हलो, मास्साप बोल्या हो ?” फोन उठाएर कानमा लाएको मात्र के थिएँ उताबाट परिचित आवाज आयो । त्यो आवाजबाटै मैले लख काटिहालेँ । म काठमाडौं बस्दाका मेरा घरपति साहूको आवाज थियो । उनी यदाकदा मलाई फोन गरिरहन्छन् । त्यहाँ उनको घरमा बहाल गरेर बस्ता म निकै घनिष्ट भएर बसेको थिएँ । उनी आफ्नोे पैत्रिक व्यवसाय गर्छन् । राँगा काटेर बेच्ने उनको व्यवसाय छ । त्यसलाई त्यहाँ ठूलो खसी भनिन्छ । उनको घरमा बस्दा मेरो र उनका परिवारको निकै घनिष्टता थियो । त्यसै नाताले उनले मलाई सम्झने गरेका हुन् । उनको प्रश्नको उत्तर दिएँ– “हो हो, साहुजी म तपाईंको मास्साप नै बोल्दै छु । आज यसरी मलाई सम्झनु भएकोमा धन्यवाद ! किन सम्झनुभयो कुन्नि ?”

“टपाईं याँ काथमान्दूमा बसेको बखट मेरो ओमबहालको घरमा बालमा बस्या ठियो नि ! म ट्यै अस्तनारां खड्गी बोल्या क्या । चिन्यो टपाईंले ?”
“ओहो साहूजी, मैले अघि नै भनिसकें नि तपाईंलाई चिनिहालेँ नि । किन यसरी ट्रङ्कल गर्नुभयो ?” मैले सोधेँ ।
“तेलिभिजन खोल्या’ छ ? खोलिहाल्नुहोस् । ट्याँ मेरो खबर डिँडैछ । पहिले तेलिभिजन हेर्नुहोस् । अरू कुरा अनि फेरि फोन गर्छ होइ ।” तुरुन्तै फोन राखियो । मैले पनि नेपाल टेलिभिजन खोलेर हेरेँ ।

नभन्दै टेलिभिजन खोलेर हेरेको उनै मेरा घरपतिको बारेमा भएको कार्यक्रमको खबर आइरहेको रहेछ । उनलाई मन्त्रीले खास्टो ओढाउँदै रहेछन्, माला लगाइदिँदै रहेछन् । फूलमाला, अबिर, टोपी र खुकुरीको उपहार दिएर मन्त्रीले सम्मान गरिरहेका रहेछन् । सभामा बसेका निकै दर्शकलाई म चिन्दोरहेछु । सभामा उपस्थित मेरा घरपट्टी र उनका इष्टमित्र तथा अन्य सम्बन्धीहरू मख्ख परिरहेका रहेछन् । म उनको घरमा निकै वर्ष बडो सोहार्द्रपूर्ण रूपमा बसेको थिएँ । त्यस अर्थले मलाई उनका परिवारजनहरू र इष्टमित्रहरूबारे राम्रो चिनारी थियो । उनका दायाँबायाँतिर उनका जेठी र कान्छी अर्धाङ्गिनीहरू मख्ख परेर बसेका रहेछन् । उनका अलिक परतिर उनकी पुत्री कमलतारा रहिछिन् । दर्शक दीर्घामा उनका परिवारजनहरू, इष्टमित्र, छोराछोरी, सम्धीसम्धिनाहरू, साला, जेठानजस्ता आफन्त, नातागोताका जनबाहेक उनकै घर वरिपरिका छरछिमेकीहरू पनि देखिए । बडो सहज रूपमा ताली बजिरहेका रहेछन् । यसै बीच उनको जीवनीबारे एकजनाले प्रकाश पारिसकेपछि मन्त्रीले भासन गरे । मन्त्रीले पचास, पचास वर्षसम्म एउटै व्यवसाय गरेर जीविका चलाउनु सानोतिनो कुरो होइन भनेर उनको तारिफको पुल बाँधिदिए । उद्योगवाणिज्य तथा सञ्चारमन्त्रीको उपस्थिति भएको कारणले कार्यक्रमलाई पर्दामा चाहिनेभन्दा बढी देखाइरहेको थियो । यस्तै उद्योगव्यवसाय गर्दै जानुहोस् र सत्प्रयास गरेर सय वर्षको समारोह पनि मनाउन पाइयोस् भन्नेजस्ता शुभकामनाका वचनहरू भनेर मन्त्रीले आफ्नोे भासन सकेपछि समारोहका मूलपुरुष अर्थात् मेरा घरधनीको पालो आयो । उनी मञ्चबाट उठेर भासन गर्न थाले ।

‘आडर्निय सभापटिज्यू, आडर्निय सभाका मेरा पत्नीज्यूहोरू, सम्धीसम्धिनीज्यूहोरू, उपस्ठित मेरा इस्तमित्रहोरू, मेरा काका, अजा, अजी, छ्यामा आडिइट्याडि र मेरा तोलका छिमेकीहोरू अनि मेरा घरमा बहालमा बसेकाहोरू, सबैलाई म अस्तनाराँ खद्गी नमस्कार गर्छ । मलाई यसरी खास्तो ओदाएकोमा म ढन्यवाड दिन्छ । मैले थूलो खसी काटेर व्यवसाय गरेको पचास वर्ष पुगेछ । यस उपलक्षमा मेरो सम्मान गरेकोमा म खुशी छ । आफ्नोे–आफ्नोे पसल चलाउन नछोडौँ, मेरो ता यो व्यवसाय पुरानो हो । मेरो बाले नै यो काम गर्डै आएकोले मैले पनि यो काम ग¥यार ल्यायो । चाहे थूलो खसी कातौँ चाहे सानो खसी कातौँ, आफ्नोे कामलाई लगनशीलटाका साठ गर्डै जाउँ भन्डै मेरा यी डुई शब्द यहीँ सक्छु । ढन्यवाड …”

टेलिभिजनमा मेरा भूतपूर्व घरबेटीको भाषण सकियो । म अन्यमनस्क भएर अरू खबर हेर्नतिर लागेँ । त्यसै बेला फेरि पनि फोनको घन्टी बज्यो । फोन गर्ने उनै रहेछन् । मलाई उनले फेरि सोधे– “मास्साप कस्टो लाग्यो ट ?”

मैले झन् तारिफ गरिदिएँ– “बडो राम्रो लाग्यो साहूजी । मलाई ट ऐले पनि टपाईंकै घरमा बहालमै बसेको छु जस्टो लाग्यो । अनि यस्टो राम्रो समारोहमा मलाई पनि बोलाउनु भएको भे हुन्ठ्यो । किन बोलाउनु भएन नि ?’
मलाई बोलाउन उनले भुसुक्कै बिर्सिएको कुरा गरे । भविष्यका अरू कार्यक्रममा बोलाउने बाचा गर्दै भने– “अनि सट्टेसट्टे भन्नुहोस् न मास्साब ! सबैले हे¥यो होला नि मेरो खबर ! कस्टो लाग्यो ट मास्साब मेरो कार्यक्रम ?”
मैले उत्तर दिएँ– “बडो राम्रो लग्यो साहूजी, ल, टपाईंंसँग झुटो किन बोल्ने भन्या’ टपाईंको मासु खाने ल … !’
“मन्त्री नल्याको भे मेरो कार्यक्रम तिभीमै नआउने भन्या’ ल । ढन्न तिभीमा मान्छे ठियो र उतापट्टि सोर्स लाग्यो । नत्र ट ….” उनी मख्ख परिरहेको जस्तो सुनिन्थ्यो ।
हो त नि ! को मान्छे मख्ख नपर्दाे हो, आफ्नोे अनुहार टेलिभिजनमा देख्न पाउँदा !! को मान्छे मख्ख नपर्दाे हो, दोसल्ला ओढ्न पाउँदा !!

यो ता एउटा सानो सन्दर्भ मात्र हो । यस्ता नानाथरीका अन्य सन्दर्भहरू देशभरि रातोरात घटिरहेका छन् । पाए मन्त्री, नपाए अलि इनेगिनेको मान्छे लगेर भए पनि यस्ता दोसल्ला कार्यक्रमहरू चालू छन् । फेटा वा दोसल्ला वा धुसा ओढाएर मान्छेलाई लख्याउने पर्व देशभरि चालू छ । टीका लगाएर मान्छेलाई खसी पार्ने पर्व देशभरि चालू छ । आफै दोसल्ला ओढाउने र लागेको खर्च आफैं बेहोरेर दोसल्ला ओढेको दृश्य हेर्ने परम्परा हाल आएर निकै फलेफुलेको पनि छ । हेरौँ, यो पर्वको प्रताप कहिलेसम्म रहने हो !

भद्रपुर, झापा
‘फित्कौली’ अङ्क २ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x