सुलसुलेअमेरिका यात्रामा आधारित कृति ‘डिभी परेपछि’
गोपीचन्द्र कार्कीद्वारा लिखित ‘डिभी परेपछि’ नामक नियात्रा कृति प्रकाशित भएको छ । करिव तिन वर्ष एरिजोनाको टुसान बसेर स्वदेश फर्किनु भएका कार्कीको यस कृतिलाई गन्तव्य प्रकाशन काठमाडौंले प्रकाशन गरेको हो ।
नेपाली साहित्यमा वैदेशिक भ्रमण वृतान्त समेटिएका धेरै संस्मरणात्मक कृतिहरू प्रकाशित हुँदै आएका छन् । कार्कीको यस कृतिमा खालि भ्रमण वृतान्त मात्र छैन, अमेरिका बसाइको क्रममा देखिएका हरेक दृष्यहरूलाई नेपाली धरातलसँग तुलना गरिएको छ । २४ वटा भिन्नभिन्न शीर्षकमा विभाजित ती परिदृष्यहरू देखिरहँदा कार्कीको मन र मष्तिष्क आफ्नै देशको माटो र यतैको बाटोघाटोतिर विचरण गरिरहेको देखिन्छ । हरेक कुरामा त्यता पाइने सुव्यव्यवस्था देखेर हाम्रो अव्यवस्थालाई कसरी फेर्न सकिन्छ भन्ने चिन्तनतिर कार्कीको अनुभूति मोडिएको छ । टुसानका डाँडाहरूमा पुग्दा उहाँ आफ्नै फुल्चोकी सम्झनु हुन्छ । त्यताका ‘लोभलाग्दा हरियाली पार्क’हरू हेरेर नेपालमा किन यस्तो बनाउन सकिएन भन्दै कल्पनु हुन्छ । त्यहाँको ‘सडक र ट्राफिक’ सुव्यवस्था देखेर यहाँ पनि गर्ने हो भने किन हुँदैनथ्यो र भन्नु हुन्छ । उताको ‘फोहर व्यवस्थापन र सफाई’ निहाल्दा काठमाडौंंको दुर्गन्ध झलझली आँखामा नाच्न आउँछ । जनसमुदायका लागि अत्यावश्यक वस्तुहरू मध्ये तेलको सर्वत्र एउटै मूल्य र सर्वसुलभता देख्दा उहाँ आफ्नो देशमा निरन्तर छड्की रहने ‘तेलको राजनीति’ सम्झनुहुन्छ ।
त्यसै गरी आमनागरिकले राज्यको कानुन व्यवस्थालाई कसरी आत्मसात् गर्नु पर्दोरहेछ, कानुनतः सानोभन्दा सानो उल्लङ्घन पनि कति कडाइका साथ दण्ड सजायको दायरामा आउँदो रहेछ भन्ने कुरा ‘अमेरिकी अदालतमा तीन दिन’ धाउनु पर्दाको प्रसङ्गमा गोपीचन्द्रले उल्लेख गर्नु भएको छ । ‘मङ्गलग्रहमा वासस्थान’, ‘सातौं आश्चर्य र ग्रान्डक्यानन’ अनि ‘होभर ड्याम’ को अवलोकन गरेपछि कार्की आफ्नो देशको विकासको अधोगति तर्फ बढी संवेदनशील हुनुभएको देखिन्छ ।
कृतिमा परेका अन्य शीर्षक सामग्रीहरूमा ‘अमेरिकी मुद्रा’ को एतिहासिक प्रसङ्ग, ‘पेपरको कमाल‘ले कागजको बहुउपयोग र ‘सिङ्गापुर एयरपोर्टमा आठ घण्टा’ ले हवाईयात्रुहरूको लागि प्रदान गरिएको अत्याधुनिक सुविधाको सरस चित्रण गरेका छन् । रूपरङ्ग र अनुहारको ढप काटीकुटी नेपाली जस्तै लाग्ने मेक्सीकनहरूलाई देखेर पटकपटक झुक्किएको रोचक प्रसङ्ग चर्चा गरिएको छ ‘नेपालीजस्तै मेक्सीकन’ मा । ‘अमेरिकामा दीनदुःखी’, ‘अपाङ्ग पनि सपाङ्ग सरह‘, ‘थोरै जनशक्तिबाट धेरै काम’, ‘सवै कुरा नौला’, ‘पराइदेशमा मेरो दैनिकी’ जस्ता अन्य शीर्षकका सामग्रीमा पनि अनुभूतिजन्य धेरै जानकारीहरू प्रस्तुत गरिएको छ । यसरी करिव तिन वर्ष व्यतीत गरी ‘बिर्सन खोजे पनि सम्झाई रहने’ अनेकन दृष्यचित्रहरू मानसपटमा सँगालेर कार्की ‘गुडवाई अमेरिका’ भन्दै नेपाल फर्किनु भएको छ ।
कार्कीको यस कृतिमा भूमिका मन्तव्य लेख्नुभएको छ मोदनाथ प्रश्रितले । ‘अनेक रोचक र घोचक अनुभवहरू यस सङ्ग्रहका विभिन्न लेखहरूमा मुटु र मगजमा काउकुती र झड्का लगाउने ढङ्गले प्रस्तुत भएका छन् । ईष्र्यालु, साँगुरा राजनीतिक खोपडीहरूले अस्तव्यस्त पारेको देशबाट जीवनको उकालोका केही सजिला सिँढी खोज्दै सात समुद्रपारि पुग्ने नेपालीहरूको ‘उतै बसौं कि स्वदेश फर्कौं ?’ को द्वन्द्वात्मक मनस्थितिको एक अद्भूत चलचित्र जस्तो बनेको छ– यो कृति ।’ कृतिबारे प्रश्रितको कथन छ ।
वरिष्ठ पत्रकार भैरव रिसालले शुभेच्छा मन्तव्य प्रस्तुत गर्दै उल्लेख गर्नुभएको छ– ‘डिभी परेपछि’को टाइपप्रति मेरो हात परेपछि एक आवृत्ति पढें सरर्र । राम्रो लाग्यो । प्रस्तुत कृति एकपल्ट पनि अमेरिका नगएकाहरूका निम्ति निकै शिक्षाप्रद छ वा सूचनाप्रद छ भन्ने लाग्छ– अझ लाग्छ डिभी परेर वा नपरिकनै पनि भीसा लागेर संयुक्त राज्य अमेरिकातिर जाने नेपालीहरूका लागि झन बढी उपादेय हुने लाग्छ । यस कृतिमा देखिएका भेटिएका स–साना कुरा बढी समाविष्ट छन् । गोपीचन्द्रले यस्ता कुरा पुस्तकाकारमा नै छपाएर नेपाली नयाँ यात्रीलाई नयाँ गुन नै लगाएका छन् ।’
कार्कीको ‘डिभी परेपछि’ कृतिको पृथक प्रस्तुतिले पाठकहरूलाई पृथक अनुभूति दिने छ ।
–सुलसुले
Subscribe
Login
0 Comments
Oldest












































