विष्णु प्रभातबाह्रौँ खेलाडीको गन्थन – सङ्क्षिप्त मन्थन
सिरी तीन सर्खारका शासनकालमा भयाको शहीद पर्वभन्दा एक्कै वर्षअघि जन्मेर त्यो नढल्दै कविता कोर्न थालेका महावीर–लक्ष्मीपुत्र हाम्रा अगाडि आउँदा ‘चस्मा’ लगाएर आएका थिए । जन्मँदै चस्मा लगाएर आएको हुँदा धेरैले उनलाई ‘नेताको साथी’ ठान्न थालेका थिए । परन्तु उनी अर्थशास्त्रका ज्ञाता भए पनि राजनीतिका अनौठा खेलाडी देखा परे । शुरुमा ‘हिउँको तन्ना’ ओडेर चटक देखाएको भए पनि ती ‘इन्द्रधनुष’ सरह नुघ्दै कतै झुक्दै कतै थुक्दै निर्दलीय पञ्चायतको महान् मान्छे बन्न पुगेका थिए । राजनीतिमा पाउने ठूलो दर्जा ‘परधान् मन्तरी’ भइसकेका निर्दलीय नेताजी आफै बहुदलीय नेताजी भईकन तीन चार पटके बन्न पुगे । सुकिला बाबुसाहेब भनी चिनिने यस्ता मनुष्य साहित्यमा हामफाल्दा ‘बाह्रौँ खेलाडी’मा दरिएका छन् । हास्यव्यङ्ग्यमा दम भएको पुस्तक हो ‘बाह्रौं खेलाडी’ । बहुभाषी कलम भएका यस्ता खेलाडीको नाम लोबच थियो । उनको नामको अपव्याख्या नहोस् भनी पुरेतहरूले लोकेन्द्रबहादुर चन्द बनाए ।
लोबचको थलो बैतडी भए पनि लोकन्थलीमा बसेर लेखापढी गर्छन् । उनी ज्यूँदा हास्यव्यङ्ग्यकारलाई रुचाउँदैनन् त्यसैले मरेका भैरव र पिँडालीको नाम लिन्छन् । विदेशीमा जोनाथन स्वीफ्टदेखि ‘पिज्जी उड्हाउस’सम्म गन्छन् । साहित्यलाई मनको रस मान्ने भए पनि यिनको लेखनमा समाजको सनक प्रशस्त पाइन्छ । ‘बाह्रौँ खेलाडी’ (२०३५) व्यङ्ग्यात्मक निबन्ध सङ्ग्रह हो, तर ‘नेताको साथी’ एकाङ्की हँस्यौलीप्रधान प्रहसन । अहिले मैले छिन्कन थालेको पीठो बाह्रवटा निबन्धको बिटो हो । पाठकहरूलाई पर्याप्त मनोरञ्जन दिने आशा (!) कलाकार वाङ्देलको थियो, तर सबैको आशा पूरा हुने कुरै भएन ।
डाक्टर शब्दमा खेल्दा बहुविकल्प अघि सार्दै निर्विकल्प शासनकालमा सविकल्प आसनग्रहण गरेका लोबचले डाँकूले भ्यागुते रोग निको पारेपछि डाक्टर भएको कुरासँगै डाँकतारको अपभ्रंश रूप पनि अघि सार्दछन् । उनले दैत्यका दाह्राबाट प्रहरीको उत्पत्ति भएको हुँदा नै तिनीहरू आततायी हुन्छन् भन्ने ठहर त्यसमा दिएका छन् । प्रभातको ‘पिरोलिने साथीहरू’ एवम् ‘खुर्सानी पुराण’ सँग तुलनीय रहेको भए पनि विभक्ति र क्रियापदको प्रयोगमा केही त्रुटि देखिन्छन् । त्यसो त सबैलाई ‘सर’ भन्ने अल्सर र सूर्य नपुग्ने ठाउँमा बसेर झ्वाइँखट्टे खाने विशेषता पनि उनका कुरा हुन् । दोस्रो निबन्ध ‘परीक्षा’मा उनले ल्वाँठ हाकिमको स्वाँठ प्रश्नलाई निकै मज्जाले साजसज्जा साथ सिँगारेका छन् । परीक्षा पीडित पुत्रप्रति स्नेह राख्दै अन्तर्वार्तामा बाख्रो कसरी बोल्छ ? भन्ने प्रश्न गर्ने प्रशासकमाथि प्रहार गर्छन् । शायद त्यस प्रश्नमा बाख्रा भनिएको शब्द भेंडाका लागि हुनुपर्छ । नत्र विद्यार्थी फेल गर्ने मास्टरलाई जेल हाल्ने कुरा उठ्दैनथ्यो । सामन्तवादको पुनरावृत्ति गर्न खोज्नेप्रति विरोध जनाउँदै उनी आफू पूँजीवाद समर्थक बन्न पुग्छन् (पृ. २२) परन्तु तेस्रो निबन्ध ‘विज्ञापन’मा पुग्दा तान्त्रिक औँठी लगाएर विज्ञानको गफ गर्दै रक्सीको आनन्दलाई सर्वाेच्च मान्ने प्रवृत्तिलाई प्रहार गर्दछन् । मच्छड जस्तो जिऊ र भैँसीको जस्तो अक्कल भएका मान्छे पनि विज्ञापनमार्फत बुद्धिमान बनाइने तीतो सत्य पूँजीवादी यथार्थ हो । (पृ. २६) प्रजातन्त्रलाई नोकरशाहीतन्त्रले दपेट्दै, पहेँलो वा नीलो पाटले लपेट्दै चलाइने शासनका बीच जनताको जडताबाट फाइदा उठाउने लामखुट्टे र राँगाहरू झुटनीतिका सरदार बने भन्छन् । चौथो निबन्ध ‘सानो र ठूलो’ व्यङ्ग्यात्मक परिपाकले सजिएको राम्रो रचना हो । यद्यपि श्याम गोतामेका तुलनामा न्यूनस्तरको अनुभूत हुन्छ । तासे वा बाह्रमासेहरूका विरुद्ध खनिँदा मध्यम वर्गको पक्षपोषण गर्दछन्– “सानोभन्दा ठूलो र ठूलोभन्दा सानो’ संसारका सबै प्राणिमा छन् ।” संसार मझौला मान्छेको हो । कदमा होचो भए पनि बुद्धिमा अग्ला मान्छे मानिएका साहित्यकार, आँखा रिङ्ने रोग लागेका कलाकार, रेशमी पछ्यौराको फरफरले थरथर हुने मान्छे प्राध्यापक जो भए पनि बाँच्नका लागि कि सानो कि ठूलो हुनै पर्दाेरहेछ, अन्तरे हुनु भनेको न तल न माथि भएर दुःख पाउनु हो भन्ने भावमा यो रिङ्दै रमाउँछ ।
श्वैरकल्पनाको प्रयोगबाट शुरु गरिएको ‘केश’ निबन्ध शिष्ट रतिरागी कल्पनाको शालीन व्यङ्ग्यशैलीमा रमाइलोसँग दगुर्छ । तन्नेरी मनको भावनामा नडुब्ने मान्छे कमै होलान् । लोबच पनि तालुखुइलेकै पङ्क्तिमा परे । खु्रस्चोभसँग प्रभावित चन्दबाबु मन्दवाणीमा स्वीकार गर्दछन्– “आजको दुनियाँमा जहाँकहीँ पनि जनता भन्ने शब्दको प्रयोग बहुसङ्ख्यक आवादीका निम्ति नभैकन नेता र तिनका समर्थकहरूको लागि मात्र प्रयुक्त हुन्छ ।” (पृ. ४७) उनी कार्लमाक्र्सलाई सम्झेर सन्तुष्ट हुँदैनन् तरुनीको केश हेर्न आतुर बन्छन् । मूसा वर्णनमा ख्यातिप्राप्त भए पनि जुर्रे केश, लट्टे कपाल र दुईचुल्ठी नियाल्दाको आनन्द चन्द मान्छेको बन्द मनमा उम्रने रसिकता हो । कालो चस्मा लगाएर कुमारीको परिक्रमा गर्ने चक्करदासहरूलाई अक्करमा नपर्ने उपाय बताउँदै लेखिएको निबन्ध ‘चस्मा’ पढ्दा गान्धि–गोड्से सँगै झुल्कन्छन् । व्यङ्ग्यबोध वाक्यबाट हुन्छ, भावबाट हुन्छ तर शब्दबाटै व्यङ्ग्यार्थ दिनु ज्यादै कठिन कर्म हो । लोबच पनि कठिनतातर्फ भन्दा सुगमतातर्फ लम्किएका छन् । हृदयचन्द्रसिंह प्रधानको प्रस्तुतिकला सम्झाउने यस रचनामा बन्दुक नचिनेको सेनापतिदेखि तोंतवाल भुँडेसम्मको चर्चा छ र हिन्दी भाषाको प्रभाव देखापर्छ । आँखा लड्नबाट बचाउने चस्माले आँखा लडाउने लतका तन्नेरीलाई बाधा पु¥याएको वेदना पनि यसमा पोखिएको छ । ‘भूतपूर्व’, सातौँ निबन्ध हो । कालको कुरा गर्दा भाषाले तीन भन्छ, भावनाले एक भन्छ । ‘भूत’ अदृष्यको शक्ति कल्पना, पदार्थको अर्काे नाम वा उहिलेको कुरा पनि हो । भूतपूर्व भने कुर्चीहीन उत्तरार्ध हो । लोबचको परिभाषामा “खुम्चिँदै गएको व्यक्तित्व हो भूतपूर्व, जसमा कुनै चमक दमक र झमक हुँदैन फगत अतीतको आशातीत अनुभवले दिने दम्भको तरङ्गले घरिघरि चिमोट्छ, दुखाउँछ र ज्यान सुकाउँछ ।” (पृ. ६७) पदमा छँदा चाप्लुसी गर्नेहरू पदमा नहुँदा मुन्टो बटार्दै हिँड्ने कुरा स्वाभाविक मान्नुपर्छ । तर यो ‘भूतपूर्वमा भौंतारिंदा’ भन्दा भिन्न छ ।
प्रेमको मुआवजामा उद्धृत कविता सामान्य छ भने ‘प्रेम पीडित सङ्घ’को सन्दर्भ एउटा मात्र भेटिन्छ । आसीक समाजको चर्चा पाइन्छ । प्रेम ठीटा वा ठिटीसँग, टाइ बाई वा भाइसँग हुन सक्छ तर बाथरूममा लेखेको प्रेमपत्रले ती कुरा दर्शाउँदैन । बरु माउसुलीका सन्तानको सन्दर्भलाई हेर्दा फ्रायडीय रतिराग देखापर्छ र झ्यालको मूर्तिलाई तरुनी देख्ने दृष्टि अङ्कित हुन्छ । त्यसो त ‘जुँगा र जूनकीरी’ निबन्धमा पनि प्रेमप्रसङ्ग आउँछ । तर त्यो कथात्मकतामा बाँधिएको छ । तिलस्मी कथामा रमाउने मानिसहरू एकतर्फी प्रेममा डुब्छन् । जुँगा खोज्ने तरुनीको प्रसङ्ग ल्याएर हृदयचन्द्रसिंह प्रधानको ‘जुँगा’ निबन्धभन्दा भिन्न त बनाइएको छ तर मजुर ब्याउँदा हरिण जन्मेजस्तो कल्पना प्रेमान्धको सोच मात्र हुन सक्छ । बौद्धिकताले सिँगारिएको यस निबन्धमा चिन्तनको परिधि फराक छ । ‘सम्पर्क’ वर्णनात्मक एवम् रोचक छ र होस् फाल्ने भोजमा सामेल भएका बखतको सम्पर्क चर्चाले हास्यप्रधान बनाउन पुगेको छ ।
‘बाह्रौँ खेलाडी’ दशौँ नम्बरमा रहेको रचना हो र यसकै नामबाट सङ्ग्रह प्रकाशित छ । फूट ल्याएर बल हासिल गर्ने खेल फुटबल हो भन्ने ठहर गर्दै अघि बढेका लोबच पार्टी फुटालेर प्रम बन्न पुग्नु र थापाका थप्पडले पशुपतिभक्त बन्नुको राजनैतिक परिप्रेक्ष्यमा शक्तिबल्लभ अज्र्यालको ‘तनहुँ भकुण्डो’ कवितादेखि पिँडालुपाते दिल देख्न माहिर छन् । सपनामा फुटबल खेल्ने व्यक्तिको प्रसङ्गसँगै नायक पुज्ने समाजको चर्चामा लीन यो रचना हाँसो उठाउने खालको छ । त्यसैले सङ्ग्रहको नाम यसबाट राखिएको हुनुपर्छ । गोलपोष्ट बाहिर फुटबल खेल्ने र आफ्नै टीमलाई गोल हान्ने सङ्कल्प लिएको हुँदा अब उप्रान्त फुटबल खेलमा एघारको टोली नबनाएर बाह्रको बनाउने प्रस्ताव लोकेन्द्रबहादुर चन्दको छ । किन कि उनी स्वयम् नै बाह्रौँ खेलाडीका रूपमा सामेल हुन चाहन्छन् ।
‘फित्कौली’ अङ्क २ बाट
Subscribe
Login
0 Comments
Oldest






































