गोविन्दबाबु तिवारीलौरो ?
लौरो ?
हो अर्थात् तोक्मा
जसलाई आवश्यक पर्दा टेके पनि हुन्छ
देखाएर त्यसैलाई बस्तुभाउ छेके पनि हुन्छ
जङ चल्दा फालिदिए पनि हुन्छ
खाँचो पर्दा कपासझैँ उडाएर
घरको दलिन हालिदिए पनि हुन्छ
अरू त अरू, त्यसैको टेको लगाएर
उँटको बिहेमा जन्ती भा’को दृष्य हेरे पनि हुन्छ
एउटा यस्तो छोरो छ
न होचो छ न गोरो छ
छक्कापञ्जा जान्दैन
शुद्ध एउटा लौरो छ ।
ऊ ज्ञानी छ, दानी छ
त्यसैले त आँखाको नानी छ
किन कि उसलाई त देऊ बा भन्नुपर्छ
आँखा चिम्लिएर दिन्छ
लाऊ बा भन्नुपर्छ
टाउकाले टेकेर लिन्छ
आनाकानी गर्दैन, फकाई, फुल्याई पर्दैन
एउटा यस्तो छोरो छ
न होचो छ न गोरो छ
छक्कापञ्जा जान्दैन
त्यसैले छोरो भन्नु के छ
शुद्ध एउटा लौरो छ ।
ओ महोदय,
तपाईंको पनि यस्तै एउटा छोरो छ ?
छ भने, नाक फुलाए हुन्छ
किनकि, अब तपाईं यहाँबाट आफ्नो घर नपुग्दै
कुन्नि केजाती “प्रधानको बाबु भएकोमा बधाई छ”
भन्ने लेखिएको कार्ड
तपाईंको घरमा पुगिसकेको हुनेछ ।
आफू त ढुक्क छु
किनभने मेरो पनि
यस्तै एउटा छोरो छ
न होचो छ न गोरो छ
छक्कापञ्जा जान्दैन
त्यसैले छोरो भन्नु के छ
शुद्ध एउटा लौरो छ ।
काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest








































