विवश पोखरेलअन्योल छोरीसँग
अचम्म देखिरहेछु
विद्वानहरू मागिरहेछन्
प्राज्ञसत्ता
भेंडाच्याङ्ग्राझैं डोर्याउँदै
बानर र सुग्रीवहरूले–
निर्लज्ज चराइरहेछन्
विद्वतालाई ।
विचित्र संयोग–
यस बेला मेरी सानी छोरी
सोधिरहेकी छे मसँग
बाबा ! मेरो नैतिक शिक्षा हरायो
म कुन किताब पढूँ ?
निर्निमेष–
उसका मौन आँखालाई हेर्दै
म उसका–
सल्लेरी केश सुमसुम्याउँछु
र पढ्छु उसका मनका भाषा
अविराम जिज्ञासाका लहरहरू
मनभरि खेलाउँदै ऊ
खोजिरहेकी छे
एउटा अनुकूल उत्तर
खै के भनूँ स दुबिधाग्रस्त म
फेरि एकपल्ट
एकोहोरिन्छु, टोलाउँछु
र सम्झाउँछु उसलाई
अनैतिकताको भासमा
नैतिकता डुब्न लागेका बेला
के अर्थ हुन्छ छोरी ? नैतिक शिक्षाको
हराओस् हराउन देऊ
जीवनका पानाहरूमा उपेक्षित छन्
अनुभुति शब्द र अक्षरहरू
उपेक्षित छन्
नैतिकता इमान र आदर्श ।
विराटनगर
Subscribe
Login
0 Comments
Oldest






































