साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाङमा गुञ्जिइन् मिश्र वैजयन्ती

Nepal Telecom ad

पल्लो कुइनेटोमा छिन्
मेरी आमा
थोरै देखिएको छ उनको अनुहार
मैले पुग्नु छ आमासम्म
पूर्वी नेपालबाट पहिलोपटक दाङ आएकी कवि मिश्र वैजयन्तीले सुनाएका कविताका हरफहरू हुन् यी । ‘आमा, सपना र म’ शीर्षकको कविताका यी पंक्तिहरूसँगै एकल कविता वाचनमा उत्रिएकी स्रष्टा वैजयन्तीले दङाली पाठक एवम् स्रोतामाझ झण्डै दुई दर्जन कविता सुनाइन् ।

पूर्वेली कवि मिश्र वैजयन्तीको एकल कविता वाचनको अवसर जुटाइदिएको थियो राप्ती अञ्चलकै जेठो साहित्यिक संस्था राप्ती साहित्य परिषद्ले । कार्यक्रममा कवि वैजयन्तीले विष्णुमाया अर्थात् विष्णुमायाहरू, विजय जुलुस, दास र देउताहरू, तुलो र देश, मेरो प्रेमको कथा, सन्त्रास, आँधी, म वस्तु होइन जस्ता शीर्षकका कविताहरू सुनाएकी थिइन् ।

कवितामार्फत् कवि वैजयन्तीले समाजको बेथिति, विसङ्गति र राजनीतिक अस्तव्यस्तताप्रति तीखो टिप्पणी गरिन् । उनले कवितामार्फत् राष्ट्रियता सङ्कटमा परिरहेको भन्दै ‘तुलो र देश’ शीर्षकमा यस्तो टिप्पणी गरिन्–

सपनाका आकार र रंगहरू
राष्ट्रियताको बजारमा
पुनः देश भएका छन्
गोलभेँडा देश
प्याज देश
आलु देश…
महिलाहरू अझैं पनि आफै दबिएरै बसेकाले पछि परिरहेको भन्दै कवि वैजयन्तीले अधिकारका लागि आन्दोलित हुनुपर्ने कवितामार्फत् नै आग्रह गरिन् ।

कार्यक्रममा कवि वैजयन्तीको परिचय दिँदै प्रा.डा. भीम खतिवडाले मिश्रका कविता राष्ट्रिय स्वाधीनता, महिला मुक्ति र समाज परिवर्तनको पक्षमा प्रतिबद्ध रहेको बताए ।

सो अवसरमा कवि यज्ञबहादुर डाँगीले कवि वैजयन्तीका कवितामा सौन्दर्य र कलाको राम्रो संयोजन भएको टिप्पणी गरे । डाँगीले भने, सबै कविमा तागत हुँदैन तर कवि वैजयन्तीका कवितामा शब्द छनौटदेखि बिम्व लेखनमा त्यतिकै प्रखरता छ ।

कार्यक्रमका प्रमुख अतिथि राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले वैजयन्तीका कवितामा उन्मुक्तिको आकाङ्क्षा, निर्भीकता, निडरता र स्पष्टता रहेको बताए ।

कार्यक्रममा कवि आस्था केसी, कृष्ण उदासी, यज्ञ परिश्रमी, विष्णु सन्यास र शारदा शर्माले कवि वैजयन्तीका एक एक वटा कविता वाचन गरेका थिए । परिषद्का अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षतामा भएको कार्यक्रममा कवि गण्डकीपुत्रले मोरङ र दाङको साहित्यिक सम्बन्ध प्रगाढ बनाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा राप्ती साहित्य परिषद्को चिनारीसहित सहभागीहरू सबैलाई परिषद्का वरिष्ठ उपाध्यक्ष टीकाराम उदासीले स्वागत गरेका थिए ।

पूर्वी नेपालको ताप्लेजुङमा २०२५ सालमा जन्मिएर मोरङलाई कर्मथलो बनाएकी कवि वैजयन्तीका ‘संवेदनाका नागबेलीहरू’ हाइकु सङ्ग्रह र ‘पाश्र्व आवाज’ कविता सङ्ग्रह प्रकाशित छन् । उनले कवितासँगै कथा, निबन्ध र समालोचना क्षेत्रमा पनि कलम चलाउँदै आएकी छिन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x