माणिकरत्न शाक्यखेल खतम ! फच्च्या
२०५५ सालमा स्थापित हास्यव्यङ्ग्य संस्था सिस्नुपानी नेपालसँग म आबद्ध भएपछि सो संस्थाले बेलाबेलामा आयोजना गर्ने कार्यक्रमको निम्तो पु¥याउन साहित्यकार खगेन्द्र संग्रौला दाइकहाँ गइरहन्थेँ– कि त चियापसलमा कि त घरमा ।
सिस्नुपानी नेपालको संयोजकत्वमा प्रकाशित माणिकरत्न शाक्यद्वारा सङ्कलित सम्पादित कृति हो– हास्यव्यङ्ग्यकार नालीबेली । एउटा हास्यव्यङ्ग्य कृति प्रकाशित भइसकेको हास्यव्यङ्ग्यकारलाई मात्र त्यसमा समावेश गर्ने योजना अनुसार धेरै हास्यव्यङ्ग्यकारहरूलाई वायोडाटा दिन फर्म दिइयो । त्यसमध्ये खगेन्द्र दाइ पनि पर्नुभयो । उहाँको एउटै मात्रै हास्यव्यङ्ग्य कृति हो– फाटेको लँगौटी टालेको दिमाग । फर्म दिएको केही दिनपछि खगेन्द्र दाइलाई भेट्यो कि सोध्थेँ, तयार भा’ छैन दिउँला नि भन्दै भाका मात्रै राख्नुहुन्थ्यो, दिनुभएन । घेरै दिन बितेपछि एकदिन एउटा फर्म बोकी घरमा पुगें उहाँ घरमै हुनुहुँदोरहेछ । त्यसपछि मैले कुरोको मूल विषयवस्तु त्यतैतिर सोझ्याएँ । उहाँले पुस्तकको चाङतिर हेर्दै भन्नुभयो– खै, फर्म कता राखेँ राखें । मैले भनेँ– त्यसै होला भनेर फर्म मैले बोकेरै ल्याएको छु । मैले लिएर गएको फर्म उहाँलाई दिएँ । उहाँले आज मलाई हतार छ, अब त पक्का दिन्छु भन्दै मलाई बिदावारी गर्नुभयो । त्यसको केही समयपछि भेट्दा भोलि यही ठाउँमा छोडिदिन्छु भन्दै उम्किनु भो ।
२०५६ सालमा हास्यव्यङ्ग्यकार नालीबेली प्रकाशित भयो । नालीबेली प्रकाशित गर्न सिस्नुपानीसँग नगद नारायण नभएकाले उधारोमा प्रकाशित गरेका थियौं । संस्थाको निर्णय अनुसार प्रत्येक हास्यव्यङ्ग्यकारले एक प्रति रु.४०।– बराबरको ५ प्रतिको रु. २००।– तिरेर सो कृति किनेरै सहयोग गर्न अनुरोध गरिएको थियो । बायोडाटा दिएर सहयोग गरे वापत हास्यव्यङ्ग्यकारलाई पुस्तक उपहार दिनुपथ्र्यो तर बाध्यताले गर्दा हामी असमर्थ भएका थियौं । कारण हामी माथि ऋणको बोझ थियो । सबैले कामको प्रशंसा सहित सहयोग गरे । तर ५ जना लेखकले भने सहयोग गरेनन् । बरु उल्टै ५ जना लेखक मध्येबाट एकजना लेखकले त कान्तिपुर पत्रिकामा समेत त्यसै विषयमा एउटा लेख्नुभयो । उहाँ हुनुहुन्छ– खगेन्द्र संग्रौला ।
संस्थाको निर्णय अनुसार रु. २००।– बराबरको पुस्तक दिन खगेन्द्र दाइको घर गएँ भेटिन । म हरेस खानेवाला कहाँ थिएँ र ? उहाँलाई दिउँसो चियापसलमा साथीहरूको बीचमा भेटेें । हास्यव्यङ्ग्यकार नालीबेली दिँदै संस्थाको निर्णय सुनाइदिएँ । उहाँले पूरै इन्कार गर्नुभयो । त्यसको केही दिन पछि नै बरू उहाँले कान्तिपुर दैनिकमा नालीबेलीको पुस्तक र पारिश्रमिकको विषयमा लामै लेख छापियो । पुस्तक दिएर रु. २००।– को रकम संस्थाले मागेको, लेखकलाई बायोडाटाको उल्टै पारिश्रमिक दिनुपर्ने जोड दिइएको कुरा लेखमा उल्लेख थियो । प्रकाशित लेख वापत पारिश्रमिक त पक्कै पाउनु भयो होला नि खगेन्द्र दाइ ? त्यो चाहिँ बिर्सने ! त्योे लेख प्रकाशित भएपछि निकै हल्लाखल्ला मच्चियो ।
वायोडाटाको पनि पारिश्रमिक चाहिन्छ भन्ने संग्रौला दाइले कान्तिपुरमा सो लेख लेखे बापतको परिश्रमिक हात लागेको दिन थाहा पाउन पाएको भए क्या मज्जा हुन्थ्यो तर सकिएन । ठाडो र तीतो ओकल्ने लेखक पनि कस्तो छुपेरुस्तम ! मैले वायोडाटाको पारिश्रमिक दिन सकिन, कारण माथि नै भनियो । तर मैले कान्तिपुरमा उहाँलाई सो लेख लेख्न विषय बनाइ दिए बापत मलाई पनि पारिश्रमिक दिनुपर्ने हो कि होइन ? हो भने आजसम्म पनि मैले पाएको छैन ! मैले त दिन सकिन लौ भैगो, उहाँले पनि मलाई दिन सक्नु भएन ।
खगेन्द्र दाइले नालीबेलीको २००।– पनि दिनु भएन । तर सित्तैमा म र मेरो कितावको विज्ञापन गरिदिनु भयो ! त्यसैले त्यसै दिनबाट हामी दुवैको हिसाबकिताव फच्च्या भयो । खेल खत्तम । हैन, फच्या भएकै छैन भनी छ कोही दाबी गर्ने ?
चावहिल, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































