आर.आर. चौलागाईंकविगोष्ठी
एउटा साहित्यिक संस्थाले बृहत् कविगोष्ठीको आयोजना ग¥यो । थुप्रै कविहरूले भाग लिए । सञ्चालकले कविहरूलाई पालैपालो मञ्चमा बोलाए । कवि बेहोसप्रसादले यस्तो कविता वाचन गरे–
“दश किलो चामल
दुई किलो दाल
एक किलो चिनी
पाँच लिटर मटितेल
एक बट्टा सलाई
एउटा सारी मलाई………”
कविता सुनाउँदा सुनाउँदै उनी झसङ्ग भए– “मलाई माफ गर्नुहोला । कविता घरमै छुट्यो । यो त श्रीमतीले सामान किन्न पठाएको लिस्ट पर्यो ।” भनेर मञ्चबाट ओर्ले ।
अब अर्का कवि छलछामबहादुर मञ्चमा उक्ले । उनले लेग्रो तानीतानी कविता सुनाए–
“हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दईचार सपूत मरेर नगए…”
कविता सुनाइसकेपछि उने भने– “यो कविता मेरो हैन । लक्ष्मीप्रसाद देवकोटाको कविता हो यो । मलाई असाध्यै राम्रो लागेको हुँदा सारेर ल्याएको हुँ ।”
त्यसपछि अर्का कवि पट्यारकान्तको पालो आयो । उनले मञ्चमा आसीनदेखि भुइँमा बस्नेसम्म एक जना पनि बाँकी नराखी सबैलाई संबोधन गरे । साहित्यको बारेमा निकै बेरसम्म फलाको हाले । उनीभन्दा अब्बल दर्जाका कवि यो संसारमै नभएको जस्तो पारे । त्यसपछि केही समय मूल्याङ्कन समितिका सदस्यहरूको गुणगान गाए र अन्तिममा कविता सुनाउँछु भनेर कथा सुनाए ।
उक्त गोष्ठीमा अरू कविहरूले पनि कविता सुनाए । कार्यक्रमको अन्तमा मूल्याङ्कन संयोजकले परिणाम घोषणा गर्दा कविहरू पट्यारकान्त, छलछामबहादुर र बेहोसप्रसाद क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।
हेटौँडा–४, मकवानपुर
Subscribe
Login
0 Comments
Oldest






































