साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भातमारा

Nepal Telecom ad

भातमाराहरूको कुनै जात र धर्म हुँदैन, उनीहरूको जात भनेको भात हो र धर्म भनेको भात हो र कर्म भनेको भात लदारनु । भातका लागि भातमाराहरू मामा भन्दैनन्, आमा भन्दैनन् । भात पाइन्छ भनेपछि यिनीहरू लगाइराखेको जामा पनि फुकालेर फाल्छन् ।

भातमाराहरू पनि बिभिन्न रङ्गका र ढङ्गका हुन्छन् । मुन्द्रे मुशले भातमारा, छचुन्द्रे भातमारा, चेपारे भातमारा, छेपारे भातमारा आदि । मुन्द्रेमुशले भातमाराहरू जोरजर्बजस्ती अर्काको भात खोस्छन् र हसुर्छन् । झुसिलो डकार निकाल्दै चोक र गल्लीहरूमा घुम्छन् । कतै रुखो बात चलाउँछन् त कतै विनामतलब लात चलाउँछन् । घाँटीको सिक्रीमा विनाफिक्री आँखा लगाउँछन् र कर्यापझ्याप समातेर पाकेट भर्छन् । सुरक्षाका ठेकेदारसँग सुटुक्क साइनो गाँस्छन् र होटल तथा भट्टीमा सुरासुन्दरीसँग बेजोडले हाँस्छन् । यी भातमाराहरू ठेकेदारसँग टाँसिन्छन्, नेताहरूसँग गाँसिन्छन् ।

छुचुन्द्रे भातमाराहरू सुटुक्क गाडीभित्र छिर्छन्, यात्रुहरूको पाकेट खोतल्छन् । गाडीका अनाडीहरूसँग आँखाआँखामा कुरा गर्छन्, मामाहरूसँग लहसिन्छन् र यात्रुहरूलाई बिल्लीबाठ पार्छन् । टोलछिमेकमा सुटुक्क छिर्छन् र पैसामात्र होइन लत्ताकपडासमेत भिर्छन् । नुनदेखि सुनसम्म लैजाने यी छुचुन्द्रे भातमाराहरूलाई दिन रातको कुनै पर्वाह छैन, जुन समयमा छिर्न सकिन्छ त्यही समयमा छिर्छन् । राजधानी र व्यस्त अन्य सहरहरूमा यिनीहरूको बिगबिगी छ ।

चेपारे भातमाराहरूलाई सजिलै चिन्न सकिन्छ । यिनीहरूको पहिचान बोली मै हुन्छ । बोलीमा लोली, दुबै हात मोली आकाश र पाताल जोड्ने कलामा यिनीहरू निपुण हुन्छन् । आइसियोस् र गइसियोस् कम्पनीको तेलले जिब्रो मुलायम बनाएका यिनीहरू यत्रतत्र सर्बत्र पाइन्छन् । राजनीतिमा भए हुन्छप्रसाद बनेर सिन्को भाँच्दैनन् । कहिलै नजित्ने चुनाव गर्छन् तर कहिलै हार स्वीकार गर्दैनन् । आश्वासनका यी पूजारीहरू सबैलाई दालभात दिने घोषणा गर्छन् तर आफैंमात्र हसुर्छन् । तिर्खा लाग्यो हजुर भन्नेलाई खोलै ल्याइदिने आश्वासन दिन्छन् भने भोक लाग्यो हजुर भन्नेलाई थोकै दिलाइदिन्छु भनेर डिङ हाँक्छन् । भातका लागि उनीहरू आमा र जामा सबै बिर्सन्छन् । जागिरे भए हाकिमकोमा बास बस्छन् । चाकडी, चाप्लुसी, चम्चागिरी यिनीहरूको कर्म हो । जता मल्के उतै ढल्को गर्ने यी चेपारेहरू हाकिमलाई जतिपटक भेटेयो उतिपटक नमस्कार गर्छन् । हाकिमले अपचको दुर्गन्धै छोडेको भए पनि क्या सुगन्ध हजुर ? मलाई त यस्तो खुब मनपर्छ भनेर नखरा गर्छन् । भनसुनको मनसुनमा रमाउने यी चेपारेहरू कामको सिन्को नभाँचेपनि हाकिमको निगाहमा पर्छन्, स्वदेशदेखि विदेशसम्म यिनीहरूकै पहुँच बन्न सक्छ । यस्ता चेपारेहरू गाउँठाउँमा भए जिन्सी बस्तु उधारोमा उछिट्याएर जरो किलै नाश पार्छन् । सुन्दरीतिर आँखा लगाए भने १०८ गन्छन्, सबैलाई सपना बाँड्छन् र सुन्दरीहरूको उठिबास लाउँछन् ।

भातमाराहरू सबै खतरनाक हुन्छन् तापनि पहिचानको दृष्टिले छेपारेहरू बढी खतरनाक हुन्छन् । जुन रङको मौसम छ त्यही अनुकुल हुने गरी रङ्ग फेर्नु यिनीहरूको विशेषता हो । राजनीतिमा यिनीहरूको एकै रातमा ३६० डिग्रीको घुमाइ हुन्छ भने व्यापारमा एक रातमै लाखौंलाखको कमाइ । जागिरे भए त यी सधै हाकिमका हाइहाइ हुन्छन् । मौसम अनुसारको ट्युनिक भने झैं यिनीहरूको संगठनको सदस्यता पाकेटअनुसार फरक फरक हुन्छ । जुन बेला जसको चाहियो उसैको झिक्छन् र काम सुकाको भएपनि हल्ला हजारको गरिदिएपछि यिनीहरूको बजारमा सधै गुलजार हुन्छ ।

माथि चर्चा गरिएकोमा तपाइँँ कुन खाले भातमारा पर्नुभयो हँ ? कुनै पनि वर्गमा नपर्नुभएको भए तपाइँँ अवश्य पनि पीडित हुनुहुन्छ ।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x