देवीप्रसाद चापागाईंकस्तो फसाद
सोचेकोभन्दा फरक परिवेश । भुलेको भन्दा बेग्लै चलखेल । खेलेको भन्दा अलग्गै दाउपेच । यी यस्तैको आङमा बुई चढेर आउने शारीरिक र मानसिक वातावरणको एकमुष्ट अभिव्यक्ति हो कि होइन, कस्तो फसाद ? राजनेताउप्रान्त काजनेतासुद्धै, ब्रह्मचारी उप्रान्त धुन्धुकारीसुद्धै, उल्क्याउने उप्रान्त फुस्ल्याउने सुद्धै, पिल्लरतिघ्रेउप्रान्त बाँसुरीतिघ्रेसुद्धै, जुवा हान्नेउप्रान्त बियर तान्नेसुद्धै, केटी फार्ने उप्रान्त जुम्रा झार्ने सुद्धै, कपालमा काली लाउने उप्रान्त ओठमा लाली लाउने सुद्धै, चिथोर्ने उप्रान्त कोपर्ने सुद्धै, आँखामा फूलो पार्नेउप्रान्त धुलो झार्नेसुद्धै, लत्याउने उप्रान्त, पत्याउने सुद्धै, उल्ट्याउने उप्रान्त, पल्टाउने सुद्धै जान्नेसुन्ने, मान्नेगुन्ने, हान्नेथुन्नेहरूबाट समेत अनायसै व्यक्त वा अव्यक्त वाचिक वा काचिक माध्यमबाट अनायसै पोखिन्छ क्या फसाद । खेतीवाललाई नचाहिने बेला पानी परिदिँदा, चिया पसलेलाई दूध जमिदिँदा, व्याजेलाई ससुरालीले समेत निव्र्याजी भनी पैसा चलाइदिँदा, छोरीको लभलेटर आमाले आगोमा जलाइदिँदा, छोराको मेसेज बक्स खोलेर बाबुले हेरिदिँदा, बोर्डिङमा पढेको छोराले भन्दा सरकारी स्कुलमा पढाएको छोराले वैध आम्दानी बगाइदिँदा, ६०१ सभासद्लाई जिम्मेवारी पूरा नगरेको भनी भत्ता फिर्ता मागिदिँदा त्यसै बेला कस्तो फसाद भनेर यो दुई शब्दे वाक्यांश परिवेशजन्य बनेर फुत्त फुस्किहाल्छ तपाईं हाम्रो ओटबाट ।
जनआत्मा, जनचासो, जनमानस, जनभावना बुझी १००० वर्षे रोडम्याप बनाउने मुलुकका योजनाकार, साहित्यकार, कलाकार, डाक्टर, पाइलट, इन्जिनियर, मास्टर, पुलिस, आर्मी, कर्मचारी वास्तविक ब्रह्मचारी समेतलाई त ऐन मौकामा फसादले किलकिलेमा अँठ्याउँछ भने हाम्रोजस्तो देशमा त क्षण–क्षणमै फसाद नजन्मने कुरै भएन । भित्रभित्र जसो पनि गर्न मिल्ने दृश्यमा आउन नमिल्ने हामीजस्ता नेपालीलाई त फसाद पाइलैपिच्छे नपच्छ्याएको त दिनै हुँदैन ।
एक अर्थमन्त्रीको हविगत सुन्दा तपाईंलाई पक्कै लडिबुडी गर्न मन लाग्ला । आफूभित्र लागेको काउकुती कतै इन्कार नगर्ने सहधर्मी वा सहधर्मिणी भेट्टाए खुसुक्क काउकुती लगाउँदै पोख्नुहुन्थ्यो होला । इटन कलेजका ती गोल्ड मेडलिष्ट मामा प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनाइए, मन्त्री भएकै दिन शौचालय जाँदा सुरूवालको इँजार खुस्किएर चार घन्टाव स्वघोषित कैदी बन्दा ‘मन्त्री हराएको सूचना’ सुन्नुपरेको थियो । ‘सपथ नलिँदै मन्त्री अपहरण’ सुरूवालको इँजारले के जन्मायो त ? पछि उनले बजेट भाषणमा सरकारी कार्यालयको सबै शौचालयमा सानो डटपेन वा लौरो घुसाउन मिल्ने प्वाल बनाउन तीन लाख छुट्याउँदा आफ्नै सभासदले विरोध गर्दा के भयो त ?
फसाद सर्वचर्चित, सर्वक्षेत्रीय, सर्वधर्मीय चरित्र हो । यो कर्म र बोलीको द्वैध चरित्रबाट जन्मन्छ । कहिलेकाहीँ आलोकाँचो, योनखाँचो र दोब्य्रासाँचोमा पनि यसले मुन्टो देखाउँछ । फसादलाई वर्गीकरणको लिकमा उभ्याउँदा प्रेरक फसाद, हास्यव्यङ्ग्यरुपी फसाद, यता न उताको फसाद, व्यर्थ र अनर्थको फसाद भनियो भने सायद हाँसो पनि उठ्ला र न्याय पनि होला ।
फसाद असल खराब दुवै चरित्रकालाई पर्छ । असललाई परेको फसादले राम्राका लागि प्रेरणा बन्दछ तर खराबका लागि पर्ने वा परेको फसादले हास्यव्यङ्ग्य जन्माउँछ । हुन त राम्रो कामको गलत प्रचार भइदिँदा फसाद नजन्मने त होइन तर साँचो कुरालाई केही समय बादल उठाइदिन मिल्ला । सही, सत्य, साँचो र यथार्थलाई केही समय खण्डनमण्डनको फसाद तिम्तिएला तर कुकर्मीलाई भने यसको छायाँले सर्वक्षेत्रमा सताउँछ, पछ्याउँछ र दपेट्छ । फसादको बोट उखेलिए पनि जरो चुँडिन्छ र बारम्बार उम्रिरहन्छ । हास्यव्यङ्ग्यरुपी फसादले बलियालाई र मै हुँ भन्नेको धतुरो झार्न काफी बन्छ । अब यता न उताको फसादले भने यही लेखकको हविगत बिग्रेको कुरो सुनिहाल्न तपाईंलाई मन लाग्ला । पाठकको हृदयमा च्वास्स एउटा शङ्का जन्मिहाल्ला । यो लेखक कुन दलको मट्याङ्ग्रा खेलाउँछ ? सबै दलमा राम्रा र खराब मानिस व्याप्त छन् । म असलको पक्षमा भनिदिँदा आलु दलको कार्यकर्ता भनी हेपिएको थिएँ । यता न उताको फसाद मैले बेहोरिहालेँ, बुझिहाल्नुभो ।
एक सज्जनलाई छोराको बिहेको कुरा छिन्ने बेलामा परेको फसादको चर्चा च्वास्स सुनेको थिएँ । छोरो थियो भकभके केटा र केटी कुरा गर्न लगाऊँ भनी केटीपट्टिबाट प्रस्ताव राख्दा केटाका बाबुलाई हुनसम्मको फसाद आएथ्यो रे । तै केटीले गफ गर्न लजाएकीले उनको मुटुको धड्कन यथास्थानमा फर्किएछ । अर्का एक मित्रको छोराको आँखा छड्के हुँदा कालो चस्मा भिराइएको बेला आँखा पाक्ने रोगको महामारी फैलिएको बखतमा परेको हुँदा शङ्का नै उब्जिएन । उपरदेखि दुई फसादले कुन रुपको फसादको प्रतिनिधित्व गर्ला ? आफ्नो खुबी आफैँ जाँच्नुहोस् ।
अब म तपाईंको खुबीको पुनः परीक्षा लिन्छु । निम्नलिखित फसादहरूले हास्यव्यङ्ग्यात्मक वा प्रेरक फसाद मध्ये कुन निम्त्याउँछ आफैँ परीक्षक बन्नुहोस् । नापतौल विभागले ढकतराजु जाँचिदिँदा व्यापारीको मनोदशा हेर्न लायक बन्छ । ढुङ्गाका टुक्रा चियापत्तीको पोकाको रहस्योद्घाटन हुने भयले ऊ सोधेको प्रश्नको उत्तर नदिई अल्मलिन्छ । चोरीको बाइकको ट्राफिकले लाइसेन्स मागिदिँदा, अचेलका ठिटाठिटीहरूलाई आफ्नै पाइन्ट अस्थायी शौचालय बनिदिन्छ । नामका कारणबाट जन्मिएका फसादको नालीबेली केलाउँदा साँच्चै यो भुइँकटहर टाउकेको कन्तबिजोग, हरिबिजोग, सन्तबिजोग, अन्तबिजोग के–के हुन्छ के–के । लक्ष्मीप्रसादलाई लक्ष्मीले पत्याइनन् । रामप्रसादले रामायण पढ्दैनन् वा भक्तरामहरू रामका भक्त भएनन् । गोपालप्रसादले गाइ पालेनन् साहित्य लेखे । कृष्णप्रसाद कृष्णका झक्त नबनी गणेशमानलाई मान्न पुगे । विश्वेश्वर विश्वका सर्वचर्चित नबनी एकदेशीय मात्र बने । भैरवले रौद्र रुप देखाएर बाँच्न चाहेनन् बरू आत्महत्याको बाटो रोजे । अब नामले फसाद जन्मायो कि जन्माएन ।
बुद्धधर्म मान्नेहरू तरकारीमा नुन कम भएकोमा भान्छे पत्नीलाई खुकुरी झिक्छन् । आत्मा, बुद्धि र आचरण ठूलो ठानने हिन्दूहरू जेलरका लिस्टमा लुटेरा कहलिन्छन् । जन्मनुभन्दा पहिलो खानेकुरा तयार पारेको कुरामा विश्वास गर्ने आफू जन्मेको देशको सम्पत्ति जोगाएर अरुकोमा गिद्दे दृष्टि दिन्छन् । आफ्ना पत्नी र छोरीहरूलाई परपुरुषको अनुहार हेर्न चदिने मुश्लिमहरू परधर्मी महिलासँग लभ गर्दछन् । ध्रुवहरू सिद्धान्तमा अडिँदैनन् । उत्तमहरू अँध्यारो पाटो बढी बोक्छन् । तेजबहादुरहरू शिथिल हुन्छन् । अम्बरहरू साह्रै साँघुरा छन् । न त लोकनाथहरूले लोकलाई गने । न त बोधनाथहरूले कुरै बुझे, न मानबहादुरहरू मानमा बसे, न अरुको मान राखे । चिरञ्जीवीहरू बिहे नगरी मरे । ममताकुमारीहरू अबोध बालकहरू छोडेर पोइल छड्किन्छन् । ज्ञानबहादुर, ज्ञानप्रसाद र ज्ञानकुमारहरू पुस्तक, रेडियो र पत्रिकाहरू छोराछोरीले पढेको हेरेको देखेर निबुवा निचोरिएझैँ निचोरिन्छन् । शशीहरू रापिला र धापिला छन् । पुष्पकमलहरू हस्तीहाडभन्दा कडा छन् । अब तपाईं के भन्नुहुन्छ यस्तो बेलामा ।
शिक्षा, दिएर चरित्रवान् बनाउन सक्दैन ऊ शिक्षक । जसले अपरेशन गरेको बिरामी बाँचेको छैन ऊ हस्पिटलको डाइरेक्टर । नेतृत्वको चार कौडीको खुबी नहुने नेता । जो आफ्नो छोराछोरीको पढाइलेखाइ र स्वास्थ्यमा बेवास्ता गर्छ उनीहरू मातापिता । जसले आमाबाबुको आत्मालाई रूवाउँछ उनीहरू पुत्रपुत्री । रच्छ्यानमा समेत तरकारी नरोप्ने र अन्न किनेर खाने ऊ किसान । जसले दूध दुहेर खान जान्दैन ऊ पशुपालक । आदिकविको अलकापुरी, भैरवको पालामा के बन्यो ? भक्तपुरमा भक्तहरू घट्दै छन् । ललितपुरमा हेर्न लायक ठाउँहरू साँघुरिँदै गए । चित्तवनमा चितुवाहरू हराउँदै गए । वीरगन्ज र भोजपुरको ताप्के र खुकुरीमा खिया लाग्न थाल्यो । हिमालमा हिउँ सकिँदै गयो तिमालमा जाडो बढ्न थाल्यो । शिवपुरीमा जोडाजोडी ड्रेसवाला विद्यार्थी भेटिन थाले । छोराको गर्लफ्रेन्ड र छोरीको ब्वायफ्रेन्ड चिनेर पनि खुम्चिनुपर्ने भो । पाँचपोखरीमा एक मात्र पोखरी छ । कागमारेमा ढुकुर ओथारो बस्न थाल्यो । विद्यालय र मन्दिरहरू लभ थिएटर बन्न थाले ।
उपर्लिखित नाम त आमाबाबु अग्रज पुरोहित लामाले अबोध हुँदै राखिदिए । भविष्यद्रष्टा बन्न सकेनन् । यसलाई विश्लेषण न्यूनताको अभाव भन्दै पन्छिऊँ । त्यो स्वभाव, अभाव र प्रभाव नहेरी हेर्न नभ्याई राखियो रे । आफू सचेत भई आफैँले राखेका नामका पछाडि जोडिएका पुच्छरको हविगत हेर्दा पो हाँसो उठ्छ त । प्रश्रित, रसिक, प्रभात, विकल, कुसुम, सुमन, समीर, वियोगी, अभागी, मित्र, पागल, ठूल्दाइ, बन्धु आदि इत्यादि ।
प्रस्रिन नसक्ने प्रश्रित, हाँस्न हँसाउन नजान्ने रसिक, फुर्तिलोपन गुमेको प्रभात, पराइको पीडामा ध्यान नदिने विकल, सधैँ कक्रिएको स्वभाव देखाउने कसुम, सुमन, हलचल गर्न नचाहने समीर, जीवनमा मोजैमोज लुटेको छ वियोगी, सधैँ आफ्नै बारेमा सोचिरहने मित्र, स्तर हेरेर भाषा फेर्ने पागल, प्यारो गर्न नजान्ने ठूल्दाइ, जो भाइ बन्न सकेन बन्धु । अब परेन फसाद ।
संविधानसभामा कहिले माओवादी, कहिले काङ्ग्रेस र कहिले एमालेका निम्ति फसाद बन्दछ । दुई वर्ष सिद्धिएको जेष्ठ १४ को रात माधव, केपी र रामचन्द्रका मुख सुके । ३ वर्ष सिद्धिएको जेष्ठ १४ को रात प्रचण्ड र झलनाथले ओछ्यान पाएनन् । तीन महिना थपिएको रात सबैले सुत्न पाए त ? द्वन्द्वपीडितलाई राहत बाँड्ने अघिल्लो रात गृहमन्त्री महरालाई निद्रा नलाग्या के भाको त ।
अब संविधानको फसाद त छँदै छ चिन्तन वर्गीय र एकलकाटे बनाउँदा फसाद निम्तिँदैन त ? भाषिक र भौगोलिक आधारमा सङ्घीय राज्य बनाऊँ माओवादीलाई फसाद, जातीय आधारमा बनाऊँ काङ्ग्रेसलाई फसाद । काङ्ग्रेस र माओवादीले ल्याएको लिष्टबाट आधाआधी झिकेर राज्यको नाम दिऊँ उनीहरूको लिस्ट सार्वजनिक भएन एमालेलाई फसाद । तराईलाई एक्ल्याउने आन्दोलन सुरू गरौँ भारत अहिले चुप लाग्या छ फेरम र तमलोपालाई फसाद । अब बेला भो भनेर सेनालाई धुप हालौँ नटेर्लान् कमल थापा मार्काकालाई फसाद ।
आ–आफ्नै डम्फूमा लम्फू हुन खोज्नेलाई फसाद नपरे कसलाई पर्ला ? तटस्थ र युग सुहाउँदो आफ्नो नाम, पद, हैसियत अनुसारका कम पूरा गरे फसाद जन्मिएला त ? जनजाति जनाइजाति, चुच्चेजाति, बुच्चेजाति, घोप्टेजुँगे, ठाडाजुँगे, जातमारा, भातमारा, यो दल, त्यो दल, भन्दै तातो न पिँडालुको बोक्रे बढत्व । खोक्रे कवित्व, अत्तो न पत्तोको अप्नत्व खोजेर समाधान निस्केला ? बाँस रोपेको स्थानमा बडहर उम्रेला ? धानको बोटमा कोदा फल्ला ? पानीमा ढुङ्गो गल्ला ? इमानदारले गोडा मल्ला ? यी यस्ता कुरा बुझ्दै नबुझी नकच्चरो बन्न खोजे सबै एउटै डुगामा भएन फसाद । जिम्मा कसको ?
अर्याल गाउँ, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest









































