जीवन ‘पीडित’ दाहालजागिरे
निकैदिन पछि भेटियो मालपोत कार्यालयबाट निकै अघि सरुवा भै अन्यत्रै गएका खरिदार अर्थात मेरो चिनजानका मानिस विमल गुरागाई, त्यो पनि उसले सरुवा भै छोडेको मालपोत कार्यालयको हाता भित्रै ।
उसलाई देख्नासाथ हात अघि बढाएँ र एउटा कार्यालयबाट सरुवा भएर गएको कर्मचारी अहिले कहाँ छ ? मन्त्रालय, विभाग वा जिल्ला, भनेर जान्नका लागि सोधिने लवजमा मैले पनि सोधिहालेँ– ‘ओ हो विमलजी आज तपाई यहाँ ? अनि अचेल कता हुनुहुन्छ नि ?’
उसले पहिलाको जस्तै रसिक पारामा उत्तर दियो– ‘घरमा ।’
जागिरको अवधि २० नपुगेको र उमेरको हद ६५ नपुगेको मान्छेले घरमा भनेर दिएको उत्तरले मलाई आश्चर्यचकित बनायो र साथै कता–कता मनमा चिसो पस्यो । अनि आश्चर्य र आशङ्का एकैपटक मेटाउँन फेरि मैले प्रश्न थपेँ–‘अवकाश लिने बेला भएको जस्तो त मलाई लाग्दैन, अनि घरमा चैं किन नि ?’
‘किन नि अब, दिनभरि लेखनदासको घाँटी अँठ्यायोे, बेलुकी लगेर माथि बुझायो अनि आफूचैं सधै जस्ताको तस्तै अनि खालि चुतियाको चुतियामात्रै । त्यसैले छाडिदिएँ जागिर–सागिर, अहिले कस्तो आनन्द भएको छ ।’– उसले एकैसासमा आफ्नो कथा भन्यो ।
उसका भनाइले कता–कता मनमा पिरो भएझैं भयो मलाई । हुन त यस्ता चिने–जाने पिच्छेका मानिसका निर्णयमा मैले पिरोल्लिई रहनु पर्ने त होइनथ्यो तर पनि उसको अलि बेग्लै किसिमको फरासिलो बोलीबचन र सहयोगी व्यवहारले मलाई अरु मानिसभन्दा अलि नजिकको हो जस्तो लाग्थ्यो ऊ । त्यसैले मेरो मन पिरो भएको हुनुपर्छ उसको जागिरे जीवनको समाप्तिको खबर सुनेर । अनि मैले उसले के गरेर बाँच्ने सोच बनायो होला भनेर जान्न र मेरो मनको पिर मेट्नलाई प्रश्न थपें– ‘अनि अब…?’
‘के अब नि, केही लागेन भने डोकामा मूलपानीबाट रायोको साग ल्याउँने र मैतिदेवीमा बेच्ने, कमसेकम बाँच्नकै लागि चुतिया बन्नु त पर्दैन’– उसले उसैगरी उत्तर दियो ।
जुरोपानी–४, झापा
हाल : काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest








































