साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिन्तनदेखि चितासम्म

Nepal Telecom ad

“इन्टरनेसनल पिग अर्गनाइजेसन”का मल्टिमिलनेअर बनियाँ मिस्टर वनसुँगुर, वनतारा सुकृति उज्ज्वल विशारदपट्ट, उत्तरबिहानको गरिष्ठ भोजन उदरस्थ गरेर आफ्ना अनेकन फाइभस्टार होटलमध्ये एक ‘ब्लेकलोटस पिगटन होटल’को अति प्राइभेट शयनागारमा अर्धनिद्रित अवस्थामा पल्टेका थिए ।

यही समय अर्गनाइजेसनको होटल, मल, मार्ट, रेस्टुराँ आदि चैन कारोबारको कार्यभार हेरिरहेका जेनेरल मेनेजर फ्याउरो, चिफ एकाउन्टेन्ट बिरालो र सेक्युरिटी अफिसर कुकुरको आगमन भयो ।

चेयरमेनलाई गहिरो आराममा निमग्न पाई डिस्टर्व गर्ने साहस नभएका फ्याउराहरू त्यहाँबाट फर्कन के लागेका थिए, अचानक मिस्टर वनसुँगुरको एकापट्टिको आँखा फ्याट्ट खुल्यो ।

“के काम छ ?” यो सङ्केतको भाषा थियो ।
“गुड आफ्टरनुन सर ।” यो अभिवादनको उत्तरमा केवल टाउको हल्लाएर बल्ल प्रकटमा भने मिस्टर वनसुँगुरले, “के काम छ ?”
“भैगो, हामी पछि आउनेछौँ सर ।” सबै एकसाथ उच्चारित भए ।
“होइन भन, के भन्नु छ ?”
“सर गहन चिन्तनमा व्यस्त हुनुहुन्छ ।” जेनेरल मेनेजरले हातको फाइल काखीमा च्याप्यो ।
“म चिन्तन गरिरहेको छैन ।”
“होइन सर, जुन विशिष्ट प्रकारले सर पलङमा आसिन हुनुहुन्छ, त्यसले कुनै महान चिन्तकको चिन्तनको झल्को दिइरहेको छ सर ।” फ्याउरो छत्तीस डिग्री कोणमा निहुरियो, “वास्तवमा सर ठूलो चिन्तनमा हुनुहुन्छ ।”
“जेनेरल मेनेजरसाबले यथार्थको उद्घाटन गर्नुभएको हो सर ।” हिसाब–किताबको काम गरे पनि अलि–अलि कविता–सविता गर्ने चिफ एकाउन्टेन्टको मेरुदण्डमा पनि प्रशस्तै लचकता पैदा भएको थियो ।
“यस सर ।” सेक्युरिटी अफिसर पनि एटेन्सन मुद्राबाट तलको कार्पेटमा लम्पसार हुन खोज्यो ।
“तिमीहरू बस ।” मिस्टर वनसुँगुर अलिकति चल्मलाए, “के म चिन्तन नै गरिरहेको थिएँ त ?”
सबैले एकमुष्ट ढङ्गले “हो सर” को भावका साथ मिस्टर वनसुँगुरको प्रश्नको जवाफमा आ–आफ्ना टाउको हल्लाए ।
“म चिन्तन गरिरहेको थिएँ ?”
“यस सम्बन्धमा त प्राज्ञिक क्षेत्रका व्यक्तिहरूबाट अध्ययन–अनुसन्धान हुनुपर्छ सर ।” फ्याउरो उवाच, “हामीजस्ता पटमूर्खले के भन्न सक्छौँ ?”
“युनिभसिर्टी र एकेडेमीका वरिष्ठ बुद्धिजीवीहरूलाई यस शुभकार्यमा शीघ्रातिशीघ्र पहल गर्न सूचित गर्नुपर्छ सर ।” बिरालोले पनि दुवै पञ्जा फूर्तिसाथ जोडेर थप्यो ।

जेनेरल मेनेजर फ्याउरो र चिफ एकाउन्टेन्ट बिरालो मिस्टर वनसुँगुरको आज्ञाअनुसार पलङ छेउको नरम सोफामा विस्तारै बसे पनि सेक्युरिटी अफिसर कुकुर एटेन्सन पोजमै खडा थियो ।

“यो चिन्तन भनेको के हो ?” आफ्ना स्टाफहरूका कुरा मिस्टर वनसुँगुरलाई रमाइलो लागिरहेको थियो ।

यो प्रश्नले फाइभस्टार होटल “लेकलोटस पिगटन”को विलासी कक्षमा एउटा भारी किन्तु संक्षिप्त टाइपको सन्नाटा व्याप्त भयो ।

“सरको चिन्तनको विषयमा हामीजस्ता सानाले केही भन्न पटक्कै मिल्दैन ।” जेनेरल मेनेजर फ्याउरो गम्भीर भयो, “मेरो विचारमा त सरको चिन्तनबारे एउटा पुस्तक नै लेखिनुपर्छ ।”

“हो सर, एउटा पुस्तक लेखनले नै सरको यावत् चिन्तनलाई समेट्न सक्छ ।” चिफ एकाउन्टेन्ट बिरालो पनि गम्भीर देखियो ।

“यस सर ।” सेक्युरिटी अफिसर कुकुरले पनि उभिएरै दह्रो समर्थन ग¥यो ।

“तर मलाई फिटिक्कै लेख्न आउँदैन भनेर तिमीहरूलाई थाहै छ ।” अल्छी लागेर आएकोले मिस्टर वनसुँगुरले दीर्घ हाइका साथ सबैलाई पालैपालो हेरे ।

“सरले केही लेख्ने कस्ट गर्नै पर्दैन ।” फ्याउरोले सुस्तरी भन्यो, “सरको नामबाट विद्वानहरूले कलम र दिमाग चलाउनेछन् ।”

“कस्ता विद्वानहरू ?”
“हामीकहाँ भाडाका विद्वानहरू जति पनि पाइन्छन् सर ।”

“हो सर, सुप्रसिद्ध साहित्यकार, विद्यावारिधियुक्त प्रोफेसर र धुरन्धर पत्रकारहरूले सामूहिक तवरमा सरको तर्फबाट पुस्तक तयार गर्ने कार्य गर्नेछन् ।” बिरालोले श्रद्धाको आँखाले हेरेर भन्यो, “यो पुस्तक….।”

“अहिलेसम्मको सबभन्दा नयाँ चिन्तनको पुस्तक हुनेछ सर ।” फ्याउरोले झटपट टाउको अघि सारेर बिरालोको वाक्य पूरा ग¥यो ।

“जेनेरल मेनेजरसाब र चिफ एकाउन्टेन्टसाबको भनाइ बेठिक छैन सर ।” कुकुरले पनि तगडा स्यालुट मारेर भन्यो ।

“ठीक छ, ठीक छ, तिमीहरू जे भनिरहेका छौ, त्यही गर ।” फ्याउरो, बिरालो र कुकुरलाई स्वीकृति प्रदान गरेर मिस्टर वनसुँगुर दुवै आँखा चिम्ली पलङमा घ्वार–घ्वार घुर्न थाले ।

त्यसपछि जे कार्यका निम्ति आएका थिए, त्यस सम्बन्धमा कुनै कुराकानी नगरेर जेनेरल मेनेजर फ्याउरो, चिफ एकाउन्टेन्ट बिरालो र सेक्युरिटी अफिसर कुकुर आफ्ना मालिक मिस्टर वनसुँगुरको प्राइभेट शयनागारबाट त्यसै चुपचाप बाहिरिए ।

तीन महिनाको छोटो अवधिमै “इन्टरनेसनल पिग अर्गनाइजेसन”का मल्टिमिलनेअर मिस्टर वनसुँगुर, वनतारा सुकृति उज्ज्वल विशारदपट्टद्वारा लिखित “चिन्तन” शीर्षकको मौलिक पुस्तक सर्वशक्तिमान नायक महामहिम पाटेबाघज्यूको करकमलद्वारा विमोचित भई जङ्गलको सम्पूर्ण मार्केटमा धुमधामका साथ बिक्री–वितरण हुन थाल्यो ।

साढे सात सय पृष्ठको मोटो पुस्तक “चिन्तन”को आवरणलाई “वन ललित–कला प्रतिष्ठान”का वर्तमान कुलपति एवं लव्धप्रतिष्ठित चित्रकार श्रीमान लङ्गुरको कुशल कुचीले शृङ्गारबद्ध गरेको थियो भने भित्र जङ्गलका चतुर तथा लोकप्रिय प्रधानमन्त्री सम्माननीय हुँडारज्यूले ‘केही विनित शब्दहरू’ भनेर पच्चीस पृष्ठ लामो भूमिका लेख्नुभएकोले ’चिन्तन’को गरिमारूपी सुनमा मगमग गरिरहेको सुगन्ध थपिएको थियो ।

सबभन्दा आश्चर्यको कुरा के थियो भने पशु जगतको तुलनामा मानव संसारमा यो पुस्तक ‘चिन्तन’ बढी हिट सावित भयो । एउटा प्रसिद्ध पत्रिकाको ‘बुक कर्नर’ स्तम्भमा एक घाघडान कलमबाजद्वारा यस्तो समीक्षा भयो– “इन्टरनेसनल पिग अर्गनाइजेसन”का मल्टिमिलनेअर मिस्टर वनसुँगुर, वनतारा सुकृति उज्ज्वल विशारदपट्टको सद्यः प्रकाशित अमूल्य ग्रन्थ ‘चिन्तन’मा निहित चिन्तन कुनै सामान्य चिन्तन नभएर सकारात्मक चिन्तन हो । साकार चिन्तन हो । सम्भावनापूर्ण चिन्तन हो । संवेदनशील चिन्तन हो । सङ्गतियुक्त चिन्तन हो । सान्दर्भिक चिन्तन हो । सोद्देश्य चिन्तन हो । समृद्ध चिन्तन हो । सगुण चिन्तन हो । सन्तुलित चिन्तन हो । सत्त्व चिन्तन हो । सतत् चिन्तन हो । समर्थ चिन्तन हो । शिष्ट चिन्तन हो । सत्यनिष्ठ चिन्तन हो । सुललित चिन्तन हो । सन्तुष्ट चिन्तन हो । संस्कारित चिन्तन हो । समष्ठी चिन्तन हो । सीमाहीन चिन्तन हो । आदि–इत्यादि चिन्तन हो । तसर्थ मानव समुदायले पनि यस पुस्तकको आस्वादन गरी यथेष्ट ज्ञान आर्जन गर्न सक्नेछ ।”

वर्षदिनमै संस्करणमाथि संस्करण निस्किरहेको यो उच्च रेटेड पुस्तक ‘चिन्तन’लाई पुस्तक प्रकाशन संघ, पुस्तक बिक्रेता संगठन र पुस्तक पाठक क्लबको एकीकृत मञ्चले सगर्व वर्षपुस्तक घोषणा गरी पुरस्कृत गरेपछि राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कारको सानोतिनो बाढी नै आयो । कहाँसम्म भने हिन्दी, अङ्ग्रेजी, चिनियाँ, इटालियन, फेन्च, स्पेनिस र अरबी भाषामा अनुवाद भइसकेको चिन्तनले ननफिक्सन तर्फको प्रतिष्ठित बुकर पुरस्कार नै पाउने हल्ला व्यापक भइरहेको थियो ।

प्रथम पुस्तक ‘चिन्तन’को अपार सफलताले अतिशय उत्साहित भएर यसका स्वनामधन्य लेखक “इन्टरनेसनल पिग अर्गनाइजेसन”का मल्टिमिलनेअर बनियाँ मिस्टर वनसुँगुर, वनतारा सुकृति उज्ज्वल विशारदपट्टले वेस्टसेलर ‘चिन्तन’कै सेटको रूपमा थप सात पुस्तक ‘चिन्ता’, ‘चिनारी’, ‘चिन्ह’, ‘चमत्कार’, ‘चमक’, ‘चतुर्याइ’ र ‘चिता’ रचना गरिसकेको ब्रेकिङ न्युज सार्वजनिक हुनासाथ पशुजगत र मानव संसारका भीमकाय प्रकाशन गृहहरूमा सो पुस्तकहरू छाप्नका लागि तीब्र प्रतिस्पर्धा हुनथालेको थियो ।

‘कान्तिपुर’ २०७१ वैशाख २०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x