आनन्द श्रेष्ठकवि
कविता लेख्न थालेको बाह्र वर्षपछि कवि ‘धतुरे’लाई आज सम्मान गरियो । एक लाख नगद र सम्मानपत्र बोकेर कवि रत्नपार्कको माइक्रो चढेर गोंगबुतर्फ लाग्दै थियो । बाटोभरि उसले सोच्दै गयो– “आखिर सम्मान त हुने रहेछ समाजमा । सफलताका लागि लगातार लगनशील हुनुपर्ने रहेछ । अब यो एक लाख लगेर श्रीमतीको हातमा थमाई दिन्छु । एकजोर साडी किन्नु भन्छु । आधा तोला जतिको सिक्री किन्नु भन्नु पर्ला । कविको श्रीमती भनेर निकै सम्मान छ उनको समाजमा । अब मैले मनमनै गरेको उनीप्रतिको सम्मान भौतिक रूपले गर्न पाउने भएँ । उनको झुम्का बेचेर कविता सङ्ग्रह निकालेको पनि एक वर्ष भएछ ।”
“रेडन झर्ने आउनुस् त ।”
माइक्रोको सहयोगी भाइको चर्को आवाजले झल्याँस्स भएर कवि आफ्नो गन्तव्यमा आइपुगेको महसुस गर्छ र माइक्रोबाट ओर्लिन्छ ।
बाटोभरि आफ्नी श्रीमतीलाई यो खुसीको खबर कसरी सुनाउने भनेर सोच्दै जान्छ । जसै कवि घरको नजिक– नजिक पुग्छ, छिमेकीहरूको आँखा कविप्रति तेर्सिन लाग्छ । कविलाई लाग्छ– समाचार सुनाई सकेछ कि क्या हो ! सबैले थाहा पाए जस्तो छ ।
जब कवि घर पुग्छ– मूलढोकामा ताल्चा लागेको देख्छ । कवि आएको देखेर छिमेकीले उनको हातमा एउटा चिट्ठी र साँचो थमाउँछ । चिट्ठी खोलेर हेर्दा देख्छ– “पतिदेव ! मैले हजुरको कवितामा रमाएर भोको पेट अघाउन सकिन, न म विवाहित स्वास्नी मान्छेको दर्जामा रहन सकेँ । हजुरले कवितासँग सम्भोग गर्नु भयो र कविताहरू नै जन्माउनु भयो । म बाँझी रहेँ । मैले आफ्नो व्यवस्था आफैंले गरेकी छु । हजुरले अझै नाति पनाति कविताहरू जन्माउनु होला– शुभकामना छ ।”
Subscribe
Login
0 Comments
Oldest







































