साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अविरल यात्रामा प्रगतिवादी कवि न्यौपाने

Nepal Telecom ad

काठमाडौं/०७१ माघ ९ । राष्ट्रिय जन सांस्कृतिक महासङ्घ र जन साहित्यिक मञ्च, नेपालको संयुक्त रूपमा आयोजित अविरल जनसाहित्य यात्राको ११ औँ शृङ्खलामा सम्पन्न भएका छ । राष्ट्रिय जन सांस्कृतिक महासङ्घका महासचिव राजेश थापाले कार्यक्रमको सञ्चालन गर्दै प्रगतिवादी कवि एवम् सामाजिक रूपान्तरण अभियानका कुशल अभियन्ता मुकुन्द न्यौपानेलाई मञ्चमा आमन्त्रण गर्नु भयो । उहाँलाई कविता वाचनमा सहयोग गर्ने कविहरूमा रामकृष्ण दुवाल, डम्बर पहाडी, रमेश पोखरेल, जङ्ग पहाडी, मीना नेपाल, पवित्रा घर्ती अनि टिप्पणीकारका रूपमा प्रा.केशव सुवेदी हुनुहुन्थ्यो ।

समारोहमा वरिष्ठ साहित्यकार प्रदीप ज्ञवाली, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, नेकपा एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, एमाले राज्य व्यवस्था विभाग सचिव सीताराम नेपाल, प्राज्ञ विष्णु प्रभात, वरिष्ठ साहित्यकार रामप्रसाद प्रदीप, वरिष्ठ कविद्वय वासुदेव अधिकारी र कणाद महर्षि, वरिष्ठ गीतकार तथा सङ्गीतकार श्याम तमोट, प्राज्ञ सानु पहाडी, महासङ्घका सचिव प्रेमनाथ अधिकारी, प्राज्ञ माधव प्रधान, शुषमा राजभण्डारी, शीतल गिरी, जन साहित्यिक मञ्च नेपालका अध्यक्ष राम विनय, डा.लेखप्रसाद निरौला र पत्रकार प्रकाश सिलवाल अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

उपस्थित सबैलाई राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष एवम् नेकपा एमाले केन्द्रीय सदस्य तथा संस्कृति विभाग प्रमुख खगेन्द्र राईले स्वागत गर्नु भयो । विशेष समारोहका नायक मुकुन्द न्यौपानेलाई खादा ओडाएर र माला तथा टीका लगाएर सम्मान गरियो । कवि मुकुन्द न्यौपानेको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै जन साहित्यिक मञ्च, नेपालको काव्य विभागकी संयोजक डा.विन्दु शर्माले सामाजिक रूपान्तरणको अभियानमा होमिएका कवि मुकुन्द न्यौपाने बौद्धिक, अध्ययनशील र इमान्दार स्रष्टाका रूपमा स्थापित हुनु भएको बताउनु भयो ।

समारोहका आकर्षण कवि मुकुन्द न्यौपानेले आफ्नो साहित्य यात्राको थालनीको बारेमा प्रकाश पार्दै सिर्जना प्रस्तुततिको क्रम आरम्भ गर्नुभएको थियो । ‘पिप्लेको पीडा’ (२०५९), ‘रामजतन’ (२०३३), ‘रचनेदेखि राइनसम्म’ ‘दियो’ शीर्षकका कविता वाचन गर्नु भयो । उहाँलाई साथ दिने कविहरू डम्बर पहाडीले ‘आमालाई चिठी (२०३३) र ‘फलैँचाको व्यथा’ शीर्षकका, पवित्रा घर्तीले ‘महिला मुक्तिको गीत’ शीर्षकको, रामकृष्ण दुवालले ‘किसान मार्चगान’ (२०५७), रमेश पोखरेलले ‘आमाको सपना’ (२०५७) र देशभक्त सिपाही गीति नाटकको एक अंश, मीना नेपालले ‘मरेपछि फूल’ शीर्षकको र जङ्ग पहाडीले ‘शान्ति आँखा उघारि देऊ’ (२०५७ शीर्षकका कविता र गीत वाचन गरेका थिए ।

वाचित कवितामाथि प्रा.केशव सुवेदीले टिप्पणी गर्नु हुँदै मानवता र स्वतन्त्रताका पक्षमा जीवन अर्पण गर्नु हुने स्रष्टाले साहित्यका विविध विधामा सक्रिय रूपमा कलम चलाउनु भएको बताउनु भयो । उहाँले कवि न्यौपानेका कविताको भाव सन्दर्भ अत्यन्त जीवन्त, सशक्त अनि व्यञ्जनात्मक रहेको, सरलताभित्र पनि भाव सघनताको प्रस्तुतिको विलक्षण क्षमता रहेको उल्लेख गर्नु भयो ।

समारोहको समापन गर्दै जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले कवि न्यौपानेसँग पार्टी सम्पर्कको सूत्र खोज्दै गर्दा २०३७ सालमा पहिलो पटक सम्पर्क भएको स्मरण गर्नु भएको थियो । कस्तै प्रतिकूल परिस्थितिमा पनि विचलित नभई अविच्छिन्न रूपमा लागि रहने न्यौपानेलाई अविरल जन साहित्य यात्राको यस शृङ्खलामा उपस्थित गराउन सकिएकोमा राम विनयले खुसी व्यक्त गर्नुभएको थियो । अविरल यात्राको अर्काे महिनाको कार्यक्रममा वरिष्ठ कवि श्यामललाई प्रस्तुत गरिने भएको छ ।
–रमेश पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x