प्रेम ओली ढकलपुरेसहिद गेट
एक दिन
सहिदलाई भेट्न
गएँ सहिद गेट
चारै जना रहेछन्
भयो चारैसँग भेट
मैले नमस्कार ठोक्दै भनेँ–
सहिदज्यू
के छ हालचाल
अब त तपाईंको पनि
परिवार ठूलो भयो
सभासद जस्तै छन् फालाफाल ।
एक सहिदले भने–
हामी त
घाम भए पनि
चिसो भए पनि
झरी आए पनि
कुनै आच्छु नगरी
बित्दछ यसरी हरेक काल
के सोध्छौ हाम्रो हाल
के सोध्छौ हाम्रो चाल
हेर मनुवा
बरु ठीक छैन नि तिम्रो चाल !
हामी बाँचेर मरेका
मरेर फेरि बाँचेका
देख्दैछौं तिमीहरू त
जिउँदो भएर पनि
अरुको इशारामा
किन बाँदर भै नाचेका ?
अरुले बजाउँदा ढोल
किन कम्मर भाँचेका ?
देश जनता लुट्दै
कसको लागि धन साँचेका
बेच्दै हाम्रा सपनाहरू
दिवास्वप्न हेर कसरी गाँजेका !
को कुर्सीमा टाँसिन्छ
कोही भ्रष्ट भई भासिन्छ
कोहि पतित भई नासिन्छ
तिमी हाम्रो सपना
बेवास्ता गरे पनि
हाम्रो के ठासिन्छ ।
हामीले
गिर्जा बाउ आउँदा
प्रचन्ड पनि आउँदा
प्रस्ट भनेका थियौं
नातावाद कृपावाद बेठिक हो
कमिसनवाद भ्रष्टाचार अति भो
बचन दिँदै दुबैले भनेका थिए–
हो यो बेठिक छ
तर यहाँ कसको बचन टिक्छ
न सहितको सपना बिक्छ
न देश चलाउने ठिक छ
हरेक नेताको आप्mनै बकमफुसे
अडानमा अडिग छ ।
सहिदको कुरो खरो थियो
तर सोहै्र आना दरो थियो
म जिउँदो भएर पनि
एक छिन त मूर्ति भएँ
मान्छेले चपाएर फालेको
दुर्गन्धित सूर्ति भएँ ।
मौनतालाई भङ्ग गर्दै
त्रिभुवन बोले–
ढेडोलाई निस्तै
जति भने पनि
यी जिउँदा यस्तै
उनले अलिकति तितो खोले
मलाई अलिक हकार्दै बोले–
तिमी जिउँदाहरूलाई
अब सलाम ठोक्नु हुन्थ्यो
दुई हातले नमस्कार गरी
घप्लक्क ढोक्नु हुन्थ्यो
तर कसरी गर्ने
यी जिउँदाहरूले हामीलाई
सहिदको पगडी थमाइदिए
आफूहरू गब्बर सिंह रहेछन्
हामीलाई सोलेको ठाकुर बनाइदिए ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































