विमल निभायाने लघुशंका
मलाई बेस्मारी पिसाबले च्यापेको थियो। त्यसैले रोक्नै नसकेर मैले सामुन्नेको पर्खालमा तुरुरुर्र मूत्रत्याग गरें। यो देखेर एक जंगी पुलिसले मलाई ट्याप्प समात्यो। मैले तत्कालै प्रतिवाद गरेर भनें, \’मलाई किन समात्नुभएको हो?\’
\’अहिले जे गरेको हो, त्यसैका लागि समातेको हुँ।\’ उसले मेरो हात अरू कडाइका साथ दबायो।
\’के पिसाब गर्नु हुँदैन र ?\’
\’हुन्छ, किन हुँदैन ?\’
\’अनि किन समात्नुभएको मलाई?\’ मेरो स्वरको भोलुम बढ्यो।
\’पिसाब गर्नु हुन्छ।\’ पुलिसको आवाज पनि चर्कियो, \’तर यहाँ गर्न पाइँदैन।\’
\’यहाँ पिसाब गर्न किन पाइँदैन?\’ मेरो जिरह जारी थियो।
यसको प्रत्युत्तरमा पुलिसले बलपूर्वक मलाई झन्डै घचेडेर पुलिस ठानाभित्र पुर्यायाे । त्यहाँ पुगेपछि मलाई के थाहा भयो भने त्यो पुलिस ठाना थिएन। र, मलाई यसरी समात्ने जंगी पुलिस पनि पुलिस नभएर यो (या त्यो) बिल्डिङको रेखदेख गर्ने फगत एक पाले थियो।
\’के भयो खड्गबहादुर?\’ एक नेता जस्तो लाग्ने घना दाह्री जुंगावालले पालेसँग सोध्यो। मेरो अनुमान गलत थिएन। वास्तवमा नेता जस्तो लाग्ने व्यक्ति कुनै नेता नै थियो। त्यो नेताको सोधाइको जवाफमा खड्गबहादुरले तनक्क तन्किएर भन्यो, \’नेताजी, यसले हाम्रो पर्खालमा पिसाब गर्योै।\’
\’तिमी के गरिरहेको थियौ ?\’
\’ज्यू म त्यहीं थिएँ।\’ खड्गबहादुर हडबडाएर एटेन्सनको मुद्रामा अझ तन्कियो।
\’तिमीलाई यस्तै रोक्ने काममा राखेको होइन ?\’ नेताले हप्कायो। \’अनि कसरी पिसाब गर्योम त ?\’ यसपछि विस्तारै भन्यो, \’कोही पनि आफ्नो काम राम्रोसँग गर्दैन।\’ स्वर अझ सुस्त भयो, \’यो तालले मुलुक कसरी अघि बढ्छ ?\’
\’तपाईं बस्नोस्।\’ बल्ल उसले मतिर ध्यान दियो।
\’धन्यवाद।\’ म कुर्सी तानेर बसें।
केही समयसम्म हामी दुवै एकअर्कालाई हेराहेर गर्न थाल्यौं। मलाई गडेर हेरिरहेको (घुम्ने मेचबाट) नेता अनि पुड्को-पुड्को तथा सानो कायाको थियो। एउटा दाह्री जुंगासहितको फुच्चे नेता लाग्थ्यो। तर निकै नै भारी आवाजमा पालेलाई भन्यो,
\’खड्गबहादुर, तिमी जाऊ।\’
\’तपाईं विद्यार्थी हो ?\’ खड्गबहादुर बाहिरिइसकेपछि उसले मसँग ठाडो
प्रश्न गर्यो।
\’होइन, म विद्यार्थी होइन।\’ मैले भनें, \’म एक सानोतिनो पत्रकार हुँ।\’
\’एउटा पत्रकार भएर पनि यस्तो गर्नुहुन्छ ?\’
\’के गरें मैले ?\’
\’तपाईंले पिसाब गरेको होइन?\’ उसले मेरो आँखासँग आफ्नो आँखा जुधायो।
\’के यो असंवैधानिक काम हो ?\’ मलाई झनक्क रिस उठ्यो।
\’अब भने ठीक कुरा गर्नुभयो। पत्रकारजी\’ नेता मुस्कुरायो। \’पिसाब गर्नु असंवैधानिक काम होइन।\’ एक्कासि मुस्कान गायब भयो, \’तर यो संवैधानिक ठाउँ हो भन्ने तपाईंलाई थाहा छैन?\’
\’अहँ, थाहा छैन।\’
\’कसैलाई केही थाहा छैन, जे पायो, त्यही गर्छन्, जहाँ मन लाग्यो, त्यहाँ पिसाब गर्छन्, कहाँ गर्नु हुन्छ वा गर्नु हुन्न, पटक्कै हेर्दैनन्।\’ नेता आफ्नो दाह्रीजुंगा हल्लाएर बरबराउन थाल्यो, \’यसरी जथाभावी पिसाब गरेकाले हामीकहाँ सहयोग, समझदारी र मेलमिलाप हुन नसकेको हो।\’
घुम्ने मेचमा स्थिर भएर नेता लगातार बरबराइरहेको थियो। मैले उसको वरपर केही बुझें। केही भने बुझ्नै सकिएन। यही बुझ्नु र नबुझ्नुको मिश्रणले म पर्याप्त मात्रामा अलमलिएको थिएँ। तैपनि मलाई नेताको कुरो सुनेर मज्जा पनि लागिरहेको थियो। त्यसैले मैले बिस्तारै सोधें, \’नेताजी, तपाईंले के भन्नुभएको हो ?\’
\’केही होइन।\’
\’होइन, होइन, कृपया केही खुलाएर भन्नोस् नेताजी।\’ मैले लगभग बिन्तिभाउको शैलीमा कर गरें।
यो सुनेर नेताले मलाई गहिरिएर हेर्योप। केही भन्न खोजेको थियो, तर चुप लाग्यो। केहीबेरपछि भन्यो, \’पत्रकारजी, मैले पिसाबको कुरो त्यसै गरेको होइन। तपाईंहरू लघुशंका भन्नुहुन्छ क्यारे ! म पनि यही नै भनुँ। हो, यही लघुशंकाले सबथोक बिग्रेको हो। अहिलेको हाम्रो राजनीतिलाई हेर्नोस्।\’ नेता गम्भीर भएको थियो, \’म पनि राजनीतिक सहयोग, समझदारी र मेलमिलापलाई मान्छु। यसैमा लागेको पनि हुँ। अझै पनि इमानदारीका साथ मेलमिलाप गर्न जुटेकै छु। तर लघुशंकाले गर्दा…।\’
\’के लघुशंकाले गर्दा ?\’ मैले वाक्य अधुरो छाडिएकाले प्रश्न गरें।
\’सबै ठूला-ठूला कुरा गर्छन्। लोकतन्त्र, समानता, न्याय आदि भन्छन्। तर, असलमा यही लघुशंकाले गर्दा केही हुन नसकेको हो।\’ एकछिनको \’पज\’ पछि भन्यो, \’सत्य धेरैलाई थाहा छैन पत्रकारजी।\’
\’सत्य के हो नेताजी ?\’
\’म तपाईंलाई लेटेस्ट उदाहरण दिन्छु। हिजै हामी एक राजधानीभन्दा केही टाढाको नयाँ रिसोर्टमा कुराकानीमा जुटेका थियौं। यसरी सबै कुरा मिलिसकेको थियो। चाहे सहयोगको कुरा होस् अथवा समझदारीको। सत्तापक्ष र प्रतिपक्षमा मेलमिलापको सम्पूर्ण वातावरण बनिसकेको थियो। यसैबेला अकस्मात् प्रतिपक्षको नेतालाई लघुशंकाले च्याप्यो। उनी उठेर गए। र, लघुशंका सक्याएर फर्कंदासम्ममा सबै गोलमाल भयो। किनभने सत्तापक्षले कुरा फेरिसकेको थियो। सत्तापक्ष लघुशंकामा गएको भए पनि यही हुन्थ्यो। प्रतिपक्षले कुरा फेथ्र्यो। सधैं यही हुँदै आएको छ। एउटा सत्तापक्षीय नेताको नाताले यही मेरो अनुभव हो।\’ नेताले एउटा लामो \’पज\’ लिएर दाह्रीजुंगा चलाउँदै बिस्तारै भन्यो, \’अब मेलमिलाप गर्ने भनेर लघुशंका नगर्नु पनि त भएन।\’
\’त्यसो भए, तपाईंहरू पानी नपिएर कुराकानीमा किन बस्नु हुन्न नेताजी?\’ मलाई रमाइलो लागिरहेको थियो, \’पानी नपिए लघुशंका हुने कुरै भएन।\’
\’के तपाईं मसँग ठट्टा गरिरहनुभएको हो ?\’ एकाएक नेता भड्कियो, \’यस्तो मलाई मन पर्दैन।\’
\’एक किसिमले सही नै भन्नुभएको हो।\’ मलाई अवाक पाएर नेता मुस्कुरायो, \’राति-राति हामीले लिने गरेको सोडा आदि पनि पानी नै त हो।\’ नेताको मुस्कान बढ्यो, \’अब लघुशंकामा जानुपर्छ भनी हामी… ।\’
\’के भयो खड्गबहादुर?\’ एउटा केटोलाई समातेर पाले भित्र पसेको थियो।
\’यसले पनि पर्खालमा पिसाब गर्योट नेताजी।\’
\’सबै पिसाब गरिरहेका छन्। अब हामीले मात्र किन नगर्ने ?\’ भन्दाभन्दै नेता आफ्नो सिटबाट जुरुक्क उभियो। सायद पिसाबले च्यापेको थियो। त्यसैले बिस्तारै बरबराउँदै सँगैको अर्थात् एटेच्ड बाथरुममा स्वाट्ट पस्यो।
मलाई पनि पिसाब याने लघुशंका लागेजस्तो भएकाले म पनि कुर्सीबाट उठेर यो (या त्यो) संवैधानिक बिल्डिङबाट फटाफट बाहिर निस्किएँ।
कान्तिपुर दैनिक
Subscribe
Login
0 Comments
Oldest







































