साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हिरो, हिरो र हिरो

Nepal Telecom ad

मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओ मेरा वैचारिक हिरो हुन् । अन्तर्रा्ष्ट्रिय स्तरका सर्वकालीन हिरो भन्नोस् । जहाँसम्म राष्ट्रिय हिरोको सवाल छ, यहाँनेर केही गोलमाल देखापरेको छ । म एक साहित्यिक अभिरुचिको भएकाले यतैतिरको उदाहरण दिन्छु । अहिलेका बहुचचिर्च वामपन्थी साहित्यकार खगेन्द्र संग्रौलालाई म मेरो हिरो मान्छु । म जस्तै सोचका कतिपय लेखकका खगेन्द्रदाइ निःसन्देह ठूला हिरो हुन् । परन्तु उनी अर्थात वामपन्थी साहित्यकार खगेन्द्र संग्रौला भने एउटा कांग्रेसी केटोलाई आफ्नो हिरो मान्दारहेछन् । अब परेन त फसाद !

मलाई सुप्रसिद्ध वामपन्थी साहित्यकार खगेन्द्र संग्रौलाका हिरो कमरेड पुष्पकमल दाहाल ’प्रचण्ड’ हुन् जस्तो लागेको थियो । यद्यपि कमरेड प्रचण्ड अध्यक्ष रहेका पार्टी एनेकपा माओवादी उनको चयनमा नरहेको पनि सत्य हो । यस्तो भएको भए उनी संविधानसभाको निर्वाचनमा एमाओवादी उम्मेदवार कमरेड नन्दकिशोर पुन ’पासाङ’को साटो विरोधी उम्मेदवारको घरदैलो कार्यक्रममा किन हिँड्थे ? त्यसबखत आफ्नो मनपसन्द उम्मेदवार अघि(अघि लाएर (अथवा पछि लाएर नै भनौं) खगेन्द्रदाइ घर–घर डुल्दाको तस्वीर बडो चर्चिच बनेको थियो । सो गगन–संग्रौलाको जोडीयुक्त तस्वीरबाट प्रभावित भएर मैले पनि कलम चलाएको थिएँ । मेरो लेख…..। आः छाड्नोस्, पहिलेका थोत्रोमोत्रो गनथन ! मेरो भन्नु नै के हो भने अलिकति तलमाथि भए पनि वस्तुतः कमरेड प्रचण्ड नै खगेन्द्र संग्रौलाका पक्का हिरो हुन् । यसमा कुनै शंका छैन । होइन, अहिले केही शंका गर्नुपर्ने परिस्थितिको सिर्जना भएको छ । माघ २४ गते ‘कान्तिपुर’मा प्रकाशित आलेख ’सौम्य मुद्रामा नरहरि र गगन’मा उनले कांग्रेसी नवयुवक नेता गगन थापालाई निर्धक्क आफ्नो हिरो ठहर्याएका छन् । हो, हिरोप्रतिको केही खुद्रा–मसिनो निजी गुनासासहित । यो बेठीक होइन ।

आफ्नैसँग त प्रिय–अप्रिय संवाद स्थापित गर्ने ठाउँ रहने गर्छ । अतएव उनले पनि गरे । यसमा अन्यथा के छ र ? त्यस उसले गगन थापा खगेन्द्रदाइको एकमात्र हिरो भएकोमा कुनै शंका रहेन् । तथापि मसँग केही शंका बाँकी छ । के कमरेड प्रचण्ड तथा गगन थापा युगल रूपमा एकैचोटी खगेन्द्र संग्रौलाका हिरो हुन सक्दैनन् ? एकभन्दा बढी हिरो पनि राख्न सकिन्छ । अझ यसभन्दा संख्यामा बेसी हिरो मान्नेहरू पनि नभएका होइनन् । यसमा एकजना मै पर्छु । यस सन्दर्भमा मलाई पनि केही हिरोहरूका स्मरण भइरहेको छ । किन्तु यो केही इतर हिसाबले सिनेमाको हिरोको कुरो हो ।

कुनै जमानामा म भारतीय सिनेमाको हिरो राज कपुरको एक जब्बर फ्यान थिएँ । हुन त अर्का दुई हिरो दिलिपकुमार र राजकुमार पनि मेरो हिरो रोजाइमा नपरेका होइनन् । परन्तु तुलनात्मक रूपमा म हिरो राज कपुरलाई नै अत्यधिक रुचाउँथेँ । यसको कारण उनको चार्ली च्याप्लिन मार्का सिनेव्यक्तित्व थियो । पुतली कट जुँगा, शिरमा गजबको फेल्टहैट र जीउमा ह्वार्लाङ–ह्वार्लाङ सुरुवाल (हाफपैन्ट टाइपको फुलपैन्ट भन्नोस्) ।

यसरी हिरो राज कपुरमा चार्लीको विलक्षण शैली आरोपण गर्ने त्यसबखतका ख्यातनाम वामपन्थी साहित्यकार तथा चल्तीका स्क्रिप्ट राइटर ख्वाजा अहमद अब्बास थिए । वामपन्थी अखबार ‘ब्लिट्ज’मा स्तम्भ ‘आजाद कलम’ लेख्ने चर्चिच पत्रकार । उनी महान कलाकार चार्ली च्याप्लिनका अग्घोर प्रशंसक थिए । याद रहोस्, चार्ली पनि वामपन्थी झुकावका थिए । उनका सिनेमाहरू डिक्टेटर हिटलरप्रतिको कडा व्यंग्य हुने गर्थे । उनको ‘सिने लुक’ पनि यही व्यंग्यको स्वाभाविक परिणाम थियो । जे होस्, म भारतीय चार्ली च्याप्लिन राज कपुरका नयाँ अथवा पुराना कुनै पनि सिनेमा हेर्ने अवसर छुटाउँदैनथँे । आवारा, जागते रहो, तिसरी कसम मेरा एकदमै मनपरेका सिनेमा हुन् । केही पछि राज कपुरले ‘संगम’जस्तो व्यावसायिक ढंगले चालु, किन्तु अपेक्षाकृत अस्तरीय (घटियाचाहिँ नभनी हालुँ) सिनेमा पनि खेले । यो ’संगम’ सिनेमा हेर्न म मेरा केही साथीहरूका साथ भारतीय राज्य विहारको मुजफ्फरपुरसम्म पुगेको थिएँ । म वीरगन्जवासी भएकाले सिमानापारिको ‘रक्सौल’मा बराबर सिनेमा हेर्न जाने गर्थें । धेरैजसो रात्रिकालीन नौदेखि बाह्र बजेको शो । टन्न भात–सात खायो, दुई बेडा जर्दावाल पान चपायो र चारखाने लुंगी र गोलगन्जी देहमा धारण गरेर गर्मीमा हिँडेरै रक्सौल सिनेमा हेर्न पुग्थें । अतएव सिनेमा हेरेर फर्कंदा निकै अबेर भइसकेको हुन्थ्यो । एकपटक रमन (राति हिँड्ने पुलिस टोली) ले पनि समातेको थियो । र म मेरा लँगौटिया यारहरू दामोदरप्रसाद उपाध्याय, हरेराम बराल र दिनानाथ शर्मासँग थानामा थुनिएको थिएँ । त्यस समयको रातको मच्छड, खाटको खटमल र जुंगे सबइन्स्पेक्टरको गालीले भरिएको भाषणको कथा कुनै बेला लेख्नेछु । अहिलेलाई यति नै ।

वास्तवमा म मेरा वामपन्थी हिरो खगेन्द्र संग्रौला र उनको अवामपन्थी हिरो गगन थापामाथि केही मनोरञ्जक एवं सामयिक टिप्पणी गर्न खोजिरहेको थिएँ, किन्तु कुन्नि, कसरी बहकिएर भारतीय सिनेमाका हिरोहरूका बखान गर्न थालेछु । यसरी विषयच्युत भएकाले म क्षमाप्रार्थी हुँदै यहीं आफ्नो कलम रोक्छु । अर्कोपटक राम्ररी लेख्ने प्रयास गर्नेछु ।
कान्तिपुर दैनिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x