विमल निभाहिरो, हिरो र हिरो
मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओ मेरा वैचारिक हिरो हुन् । अन्तर्रा्ष्ट्रिय स्तरका सर्वकालीन हिरो भन्नोस् । जहाँसम्म राष्ट्रिय हिरोको सवाल छ, यहाँनेर केही गोलमाल देखापरेको छ । म एक साहित्यिक अभिरुचिको भएकाले यतैतिरको उदाहरण दिन्छु । अहिलेका बहुचचिर्च वामपन्थी साहित्यकार खगेन्द्र संग्रौलालाई म मेरो हिरो मान्छु । म जस्तै सोचका कतिपय लेखकका खगेन्द्रदाइ निःसन्देह ठूला हिरो हुन् । परन्तु उनी अर्थात वामपन्थी साहित्यकार खगेन्द्र संग्रौला भने एउटा कांग्रेसी केटोलाई आफ्नो हिरो मान्दारहेछन् । अब परेन त फसाद !
मलाई सुप्रसिद्ध वामपन्थी साहित्यकार खगेन्द्र संग्रौलाका हिरो कमरेड पुष्पकमल दाहाल ’प्रचण्ड’ हुन् जस्तो लागेको थियो । यद्यपि कमरेड प्रचण्ड अध्यक्ष रहेका पार्टी एनेकपा माओवादी उनको चयनमा नरहेको पनि सत्य हो । यस्तो भएको भए उनी संविधानसभाको निर्वाचनमा एमाओवादी उम्मेदवार कमरेड नन्दकिशोर पुन ’पासाङ’को साटो विरोधी उम्मेदवारको घरदैलो कार्यक्रममा किन हिँड्थे ? त्यसबखत आफ्नो मनपसन्द उम्मेदवार अघि(अघि लाएर (अथवा पछि लाएर नै भनौं) खगेन्द्रदाइ घर–घर डुल्दाको तस्वीर बडो चर्चिच बनेको थियो । सो गगन–संग्रौलाको जोडीयुक्त तस्वीरबाट प्रभावित भएर मैले पनि कलम चलाएको थिएँ । मेरो लेख…..। आः छाड्नोस्, पहिलेका थोत्रोमोत्रो गनथन ! मेरो भन्नु नै के हो भने अलिकति तलमाथि भए पनि वस्तुतः कमरेड प्रचण्ड नै खगेन्द्र संग्रौलाका पक्का हिरो हुन् । यसमा कुनै शंका छैन । होइन, अहिले केही शंका गर्नुपर्ने परिस्थितिको सिर्जना भएको छ । माघ २४ गते ‘कान्तिपुर’मा प्रकाशित आलेख ’सौम्य मुद्रामा नरहरि र गगन’मा उनले कांग्रेसी नवयुवक नेता गगन थापालाई निर्धक्क आफ्नो हिरो ठहर्याएका छन् । हो, हिरोप्रतिको केही खुद्रा–मसिनो निजी गुनासासहित । यो बेठीक होइन ।
आफ्नैसँग त प्रिय–अप्रिय संवाद स्थापित गर्ने ठाउँ रहने गर्छ । अतएव उनले पनि गरे । यसमा अन्यथा के छ र ? त्यस उसले गगन थापा खगेन्द्रदाइको एकमात्र हिरो भएकोमा कुनै शंका रहेन् । तथापि मसँग केही शंका बाँकी छ । के कमरेड प्रचण्ड तथा गगन थापा युगल रूपमा एकैचोटी खगेन्द्र संग्रौलाका हिरो हुन सक्दैनन् ? एकभन्दा बढी हिरो पनि राख्न सकिन्छ । अझ यसभन्दा संख्यामा बेसी हिरो मान्नेहरू पनि नभएका होइनन् । यसमा एकजना मै पर्छु । यस सन्दर्भमा मलाई पनि केही हिरोहरूका स्मरण भइरहेको छ । किन्तु यो केही इतर हिसाबले सिनेमाको हिरोको कुरो हो ।
कुनै जमानामा म भारतीय सिनेमाको हिरो राज कपुरको एक जब्बर फ्यान थिएँ । हुन त अर्का दुई हिरो दिलिपकुमार र राजकुमार पनि मेरो हिरो रोजाइमा नपरेका होइनन् । परन्तु तुलनात्मक रूपमा म हिरो राज कपुरलाई नै अत्यधिक रुचाउँथेँ । यसको कारण उनको चार्ली च्याप्लिन मार्का सिनेव्यक्तित्व थियो । पुतली कट जुँगा, शिरमा गजबको फेल्टहैट र जीउमा ह्वार्लाङ–ह्वार्लाङ सुरुवाल (हाफपैन्ट टाइपको फुलपैन्ट भन्नोस्) ।
यसरी हिरो राज कपुरमा चार्लीको विलक्षण शैली आरोपण गर्ने त्यसबखतका ख्यातनाम वामपन्थी साहित्यकार तथा चल्तीका स्क्रिप्ट राइटर ख्वाजा अहमद अब्बास थिए । वामपन्थी अखबार ‘ब्लिट्ज’मा स्तम्भ ‘आजाद कलम’ लेख्ने चर्चिच पत्रकार । उनी महान कलाकार चार्ली च्याप्लिनका अग्घोर प्रशंसक थिए । याद रहोस्, चार्ली पनि वामपन्थी झुकावका थिए । उनका सिनेमाहरू डिक्टेटर हिटलरप्रतिको कडा व्यंग्य हुने गर्थे । उनको ‘सिने लुक’ पनि यही व्यंग्यको स्वाभाविक परिणाम थियो । जे होस्, म भारतीय चार्ली च्याप्लिन राज कपुरका नयाँ अथवा पुराना कुनै पनि सिनेमा हेर्ने अवसर छुटाउँदैनथँे । आवारा, जागते रहो, तिसरी कसम मेरा एकदमै मनपरेका सिनेमा हुन् । केही पछि राज कपुरले ‘संगम’जस्तो व्यावसायिक ढंगले चालु, किन्तु अपेक्षाकृत अस्तरीय (घटियाचाहिँ नभनी हालुँ) सिनेमा पनि खेले । यो ’संगम’ सिनेमा हेर्न म मेरा केही साथीहरूका साथ भारतीय राज्य विहारको मुजफ्फरपुरसम्म पुगेको थिएँ । म वीरगन्जवासी भएकाले सिमानापारिको ‘रक्सौल’मा बराबर सिनेमा हेर्न जाने गर्थें । धेरैजसो रात्रिकालीन नौदेखि बाह्र बजेको शो । टन्न भात–सात खायो, दुई बेडा जर्दावाल पान चपायो र चारखाने लुंगी र गोलगन्जी देहमा धारण गरेर गर्मीमा हिँडेरै रक्सौल सिनेमा हेर्न पुग्थें । अतएव सिनेमा हेरेर फर्कंदा निकै अबेर भइसकेको हुन्थ्यो । एकपटक रमन (राति हिँड्ने पुलिस टोली) ले पनि समातेको थियो । र म मेरा लँगौटिया यारहरू दामोदरप्रसाद उपाध्याय, हरेराम बराल र दिनानाथ शर्मासँग थानामा थुनिएको थिएँ । त्यस समयको रातको मच्छड, खाटको खटमल र जुंगे सबइन्स्पेक्टरको गालीले भरिएको भाषणको कथा कुनै बेला लेख्नेछु । अहिलेलाई यति नै ।
वास्तवमा म मेरा वामपन्थी हिरो खगेन्द्र संग्रौला र उनको अवामपन्थी हिरो गगन थापामाथि केही मनोरञ्जक एवं सामयिक टिप्पणी गर्न खोजिरहेको थिएँ, किन्तु कुन्नि, कसरी बहकिएर भारतीय सिनेमाका हिरोहरूका बखान गर्न थालेछु । यसरी विषयच्युत भएकाले म क्षमाप्रार्थी हुँदै यहीं आफ्नो कलम रोक्छु । अर्कोपटक राम्ररी लेख्ने प्रयास गर्नेछु ।
कान्तिपुर दैनिक
Subscribe
Login
0 Comments
Oldest








































