चूडा निर्भीकधरहरा भुइँमै बजारिस्
मेरो देशको छातीमा
तैले उपद्रो देखाइस् ।
कायर लुकेर आइस्
भित्रभित्रै गोरखादेखि
सिन्धुपाल्चोक हल्लाइस् ।
हिमाल पहाड तराई
सब खल्बलाइस्
गीत रगतको गाइस्
दुखमा धेरै तड्पाइस् ।
कहिले घर भत्काइस्
मान्छे मारिस् ।
कहिले डाँडै हल्लाइस्
बेसीमा झारिस् ।
आमा बालकमै खोसिस्
सन्तान टुहुरा बनाइस्
काख रित्ता पार्दै
अवोध बच्चा उठाइस् ।
दम्पत्ति छुटाइस्
एक्लै पारिस्
एक मिनटमै नौ हजारलाई
बैतरणी तारिस् ।
खाऊँखाऊँ र लाऊँलाऊँ उमेरकालाई
बोटबाट फूल चुँडे झै सजिलै उफारिस् ।
निर्जीव रचनामाथि लिएर तातो रीस
तेरो के विगारेका थिए र लतारिस्
भव्य र पुराना सम्पदा थचारिस्
ठिङ्ग उभिएको धरहरा भुइँमै बजारिस् ।
पृथ्वीकै गर्भबाट पृथ्वीमाथि वक्रदृष्टि
सगरमाथाको आधारशिविर गालिस्
सिंगै पहाड कालीमा खसालिस्
बलजफ्ती डरलाग्दा पहिरो फालिस् ।
यत्रा मान्छे लगिस् कहाँ हालिस्
काठमाण्डू डेडमिटर तल खसालिस् ।
कहाँबाट शुरु अन्त कहाँ हुने हो
खुन पसिना भित्र अट्टहास हाँसिस्
रसुवा र दोलखामा ताण्डव नाँचिस्
गरिबका मन मुटु टुक्र्याएर भाँचिस्
सृष्टिको रचना विगारेर नासिस् ।
कलिला फूलका मुना टिपेर मासिस् ।
मुखमा अटाउने जति पो हाल्नुपर्छ
अनुहारै ढाकिने गरि रगतले टालिस्
स्वर्गजस्तो नेपाल नर्कमा पछारिस्
अझै तर्साउँदै मानसिकता बटारिस्
महलका मालिक पालभित्र लछारिस् ।
थाहै नपाई महाकम्प नववर्षमै
पुराकम्प पछि पराकम्प पठाइस्
जमिनमा मेघ गर्जे सरी थर्थराइस्
मै हूँ सबैको काल भनि गड्गडाइस्
रोगी, महिला, वृद्ध, बालबच्चा सताइस् ।
अब गईदे नआउने गरि कहिल्यै
जति बिगार्नु थियो बिगारिस्
मान्छेका मन सबै चिथारिस्
भूकम्पका अघि निरीह सबै विचारिस् ।
साँच्चै दुर्दशा थियो देशको झन गिथालिस् ।
Subscribe
Login
0 Comments
Oldest








































