रमेश खकुरेलसाँढे अष्टकम्
असनमा चर साग र काउली,पसलनी कति मात्र धपाउली
पशुपतीश्वरको सहिछाप ली,जब हिंड्यौ गर मोज ढलीमली ।
घर छुट्यो अनि गोठ किला छुट्यो,दुध कुँडो र भुसा र पिना छुट्यो
हल र हल्लुँड फालि अनौ छुट्यो,सकल वान्धवको ममता टुट्यो ।
जब समाज भनी मन लाइयो,अनि त कष्ट अनेकन पाइयो
जिउ त्रिशूल र चक्र डमाइयो,सकसले वृष नाम कमाइयो ।
अब भने जिउमा अलि भो बल,गन नगण्य गरीब र दुर्वल
पस जता छ धनी जनको घर,चर मकै गहुँ धान र फापर ।
चर जहाँतक हुन्न थकावट,सुन कतै पनि हुन्न रुकावट
परम पूज्य पवित्र लियौ जुनी,गर विहार बुढी कलिली चुनी ।
अरु कुनै यदि सामु परे भने,सिङ छँदैछ तिखो तह लाउने
यदि उता पनि अस्त्र चले भने,फगत मार्दछ मात्र चिलाउने ।
पछि परुन् जति नै पनि छाउरा,छुनु परै अझ हेर्नु त के कुरा
सडकमा गजधम्म बसे पनि,अरु हटुन् पर आफु बचौं भनी ।
घुम विदेश कि देश जतातता,नघुम भन्न यहाँ कसको बुता
पशु भए पनि होस् तर जीवन,वृषभकै सरि होस् तब जीवन ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































