प्रेम ओली ढकलपुरेघर आउँदै आउँदिन
तिमी सर्बहारा नेता बन्दै
जात भात छैन भन्दै
भाषण ठोक्यौ
मत तान्न दलितकै हात ढोग्यौ
त्यसैले बा म त
दलितकी छोरीसित
ढुक्कले पिरम गर्या छु
आज भोलि आफूलाई
एक नुम्बरको बाहुन भन्छौ रे
कामीकी छोरी भित्र पसाउदैन भन्छौ रे
यसो हो भने म त
घर आउँदै आउँदिन
तिमीले खोजेकी केटीसङ्ग त
माया पिर्ती लाउँदै लाउँदिन ।
तिमीले एक्काइसौँ शताब्दिका कुरा गर्यौ
प्रेम विवाहका कुरा गर्यौ
दाइजोको बिरोध गर्यौ
म त गरिवकी छोरीको लबमा पर्या छु
सुन्छु
तिमी त धनी छोरी रोज्दैछौ रे
टन्न दाइजो खोज्दै छौ रे
यसो हो भने त बा
म घर आउँदै आउँदिन
तिमीले भनेको केटीसित त
माया प्रिती लाउँदै लाउँदिन ।
अर्काका छोराछोरीको
बिहे गराइ क्रान्तिका कुरा गर्यौ
पार्टी भोजको आडम्बर हो भन्दै
भ्रान्तिका कुरा गर्यौ
अहिले सुन्छु
मेरो बिहेमा
हजारौँ जन्ती लाने शर्त राख्दै छौ रे
सुनको औँठी, आमालाई तिलरी माग्दै छौ रे
ठुलै होटेलमा पार्टी दिन आँक्दै छौ रे
मैले त
आँफै बिहे गर्ने हो
भोज पनि नदिने
दाइजो पनि नलिने हो
मागी बिहे हो भने
म त घरमा आउँदै आउँदिन
तिमीले खोजेकीसङ्ग
माया प्रिती लाउँदै लाउँदिन ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































