गायत्री परिरोशनीजुम्रा मिटिङ
जुम्रा विभिन्न जातका छन्
विभिन्न भातका छन्
विभिन्न रङका छन्
कोही काला छन्, कोही सेता छन्
अनि कोही राता पनि छन्
जस्ता रङका भए पनि, जस्ता जातका भए पनि
स्वदेशी भएपनि, विदेशी भए पनि
जुम्राको काम एउटै हुन्छ
जुम्राको विशेषता एउटै हुन्छ
जुम्राको उद्देश्य एउटै हुन्छ
त्यसैले त यहाँ जुम्रा मिटिङ सधंै हुन्छ ।
जुम्राको सङ्गत गरिबसँग हुन्छ
गरिब, दुःखी असक्त र असहायहरूको
टाउकोमा जुम्रा हुन्छ, घाँटीमा जुम्रा हुन्छ
अनि कपडामा पनि जुम्रा हुन्छ ।
तिनै जुम्राहरूले चुसीचुसी उनीहरूको मृत्यु हुन्छ ।
गरिबलाई रगत चुसीचुसी मार्ने अनि
नयाँ गरिबहरूमा प्रवेश गर्ने भन्ने
जुम्रा मिटिङको प्रमुख एजेण्डा हुन्छ
जुम्राहरू रगत चुस्न पाएपछि
आफ्नो जात विर्सन्छन्,
आफ्नो सभ्यता र संस्कृति बिर्सन्छन् ।
आफ्नो कुल, धर्म, संस्कार सबै बिर्सन्छन्
स्वदेशी जुम्रा होऊन् वा विदेशी
आफूहरूले शासन गर्ने सवालमा एकमत हुन्छन्
अरु प्राणीले जस्तो मिटिङमा हिटिङ गर्दैनन्
चर्का नाराबाजी र ठूला विज्ञापन पनि छाप्दैनन्
चुपचाप मौन स्वीकृत लिन्छन् र
शासनमा सरिक हुन्छन् ।
उत्तम हुन्छ जुम्राको शासन,
शासनमा सर्वश्रेष्ठ हुन्छन् जुम्राहरू
किन कि तिनीहरूको प्रत्यक्ष शासन
डाइरेक्ट टाउकोमा हुन्छ
पाए र सकेसम्म
आफ्नो सरकारले धानेसम्म
उनीहरू टाउको छाडेर, शरीरतिर झर्दैनन्
त्यसैले त जुम्राहरू कहिल्यै पनि मर्दै–मर्दैनन् ।
आजभोलि समय आधुनिक भएर होला
जुम्रा मिटिङले निकै ब्यापकता पाएको छ
सवारमा हुन्छ जुम्रा मिटिङ
दरवारमा हुन्छ जुम्रा मिटिङ
घरवारमा हुन्छ जुम्रा मिटिङ
गेटमा हुन्छ जुम्रा मिटिङ
जेटमा हुन्छ जुम्रा मिटिङ
यत्रतत्र सर्वत्र जताततै
फस्टाएकै छ जुम्रा मिटिङ ।
जुम्रा पाल्नु हाम्रो सनातन धर्म
आफ्नै टाउकोको जुम्रालाई माया गर्छौं हामी
जुम्राले टोकेर टाउको चिलाउँछ
तर हामी भने
मयल परेर होला भनी
बसाउने साबुनले टाउको धुन्छौं
विदेशी तेल घस्छौं र जुम्रालाई
चिरीच्याट्ट पार्छौं ।
जुम्राले आफैलाई सिध्याउन लागे पनि
उसको दोष देख्दैनौ हामी, जुम्रा जुम्रा नै हो
सवैमा सर्वश्रेष्ठ प्राणी
टाउकोमा बस्ने प्राणी ।
वालिङ, स्याङ्जा
Subscribe
Login
0 Comments
Oldest









































