चन्द्र गुरूङदेश, कुकुरहरू र हड्डी
गल्लीको कुना कुना
कुरूप र क्रूर अनुहार लुकेका छन्
चोक चोकमा
फोहरी र तिखा दाँत देखाउँदै डुलिरहन्छन्
सडकपेटीतिर
भुकिरहन्छन् कर्कश स्वरमा आतङ्क ।
निर्दयीहरू
एकआपसमा भिडिरहन्छन्
हड्डीको लागि लुछाचुँडी गरिरहन्छन्
बलजफती यता थुत्छन्
उता झम्टिन्छन्
च्याप्न चाहन्छन् आआफ्नो कब्जामा ।
असभ्यहरू
डरलाग्दा अनुहारले फूलहरू तर्साउँछन्
क्रूर नाङ्ग्राले कलिला जीवनहरूको घाँटी अठ्याउँछन्
दुर्गन्धित श्वासले वातावरण दूषित पार्छन्
शान्ति बिथोल्छन्
घिनलाग्दो र रौद्र आवाज निकालिरहन्छन्
हिँड्छन् जथाभावी निर्लज्ज मुत्दै ।
लोभी र धूर्तहरू
र्याल चुहाउँदै हड्डीलाई चाटिरहन्छन्
स्वाद मान्दै चपाइरहन्छन्
एकै गाँसमा सर्लक्क निलुलाझैँ गरिरहन्छन्
हड्डी–
निर्मम सताइएको छ
अत्याचारीहरूबाट ठाउँ कुठाउँमा आहत बनेको छ
दुष्टहरूबाट लुटिएको छ
हड्डी लाचार छ
हड्डी त्रसित छ ।
र, यसबेला
कोठाको अँध्यारो भित्तामाथि झुण्डिएको मानचित्रमा
हड्डीको टुक्रा झैँ देखिएको छ देश ।
Subscribe
Login
0 Comments
Oldest








































