दुर्गाप्रसाद ग्वालटारेभाग्यमा भए
आज खुशीले रातभर सुत्न सकिनन् सकुदिदी, अर्थात सकुन्तला खत्री । बिहे गरेकै अर्को साल छोरालाई टुहुरो बनाएर लोग्ने बितेपछिको पन्ध्र–सोह्र बर्षको अवधिमा कहिल्यै यति प्रफुल्ल थिइनन् उनी । “यो टुहुराको पनि दिन फिर्ने भयो अब !” भन्ने सोचेर निदाएको छोरो सन्जयको निधारमा पटक–पटक मुसारिन् । “हे भगवान यसले यसपाली एसएलसी पास गरिजाओस् !” आँखा चिम्लिंदै भगवानको पुकारा गर्दै गरिन् उनले । “एस्एलसी त पास हुन देऊ न दिदी, कतै न कतै यसलाई जागिर लगाउँला न !” मालिकले भन्ने गरेका थिए । आखिर घरधन्दा र बगैंचे भएर यो घरमा बस्नुको खास उद्देश्य नै छोराको वृत्तिविकास न थियो ।
आज आफ्ना तिनै मालिक जसको घर–परिसर टकटक् सफा राखेकी छिन् सकुदिदीले, राष्ट्रपति भएका थिए । अब यो कोचे घरमा हैन तुरुन्तै ठूलो महलमा सर्नु पर्ने रे !
राष्ट्रपति महलमा मानिसको आउजाउ प्रशस्तै थियो । नयाँ राष्ट्रपति भित्रिने र पूर्वराष्ट्रपति बाहिरिने प्रक्रिया जारी थियो । “ओहो ! तपाईं कताबाट यहाँ फेकन दाइ ?” सतरन्जीमा बेरिएको गुण्टा बोकेर बाहिर आउँदै गरेको एकजना पाको मानिसलाई नमस्ते गर्दै सोधिन् सुकुदिदीले । पहिले माटोको भाँडाहरू बिक्री गर्न बेलाबखत माइतीगाउँ जाँदा फेकनलाई चिनेकी रहिछन् सकुन्तलाले । अहिले उनी यहीँ राष्ट्रपति भवनमै टहलुवाको काम गर्दा रहेछन् ।
“यो बाबु को नि ?” सामान्य भलाकुसारी पछि सँगैको केटोलाई देखाएर सकुन्तलाले फेकनलाई सोधिन् ।
“हेर न नानी, यसैको लागि पाँच वर्षदेखि यहाँ बसें, तर खै, जति गर्दा पनि जागिर भएन, त्यसै बिल्ट्वा हुने भो !” एकै सासमा बताए फेकनले । “हुन पनि के गरून् ! यो राष्ट्रपति भन्ने पदमा केही पावरै हुँदो रहेनछ !…. ल त है नानी, मिलेछ भने पछि कुरा गरौंला ।” भन्दै फेकन बाटा लागे ।
सकुदिदीले फनन्न जमिन घुमेको देखिन् । पानीको फोहोरा नजिकैको होचो पर्खालमा थचक्क बसिन् । हात भिजाइन् र निधारमा दलिन् । शित्तल भएपछि उनको आँखा छेउको संगमरमरको खम्बामा पर्यो, जसमा कुँदिएकोको थियो–
“भाग्यमा भए असंभव केही छैन, तर मेहनत र धैर्यताको भने खाँचो हुन्छ ।”
सकुदिदी मुसुक्क मुस्कुराइन् र जुरुक्क उठिन् ।
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































