साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीमान् क्षत्रज्ञ र दशगजा

Nepal Telecom ad

(श्रीमान क्षत्रज्ञ को हो, कसो हो र किन हो भन्नुभन्दा पहिले उससँग सम्बन्धित केही कथा–कुथुंग्री । यस पटक श्रीमान् क्षत्रज्ञ र दसगजा– विमल निभा ।)

(एक)
दसगजाको एकातिर तुलनात्मक रूपले धेरै ठूलो देश मौजुद छ । एक दिन दसगजामा पुगेर श्रीमान् क्षत्रज्ञले असाध्यै अचम्म मानेर सोच्यो– त्यसो भए यो दसगजा एघारगजा, बाह्रगजा, तेह्रगजा, चौधगजा, पन्ध्रगजा… किन नभएको होला ?

(दुई)
श्रीमान् क्षत्रज्ञ घुम्दाघुम्दै दसगजामा पुगेको थियो, त्यहाँ निकै समयदेखि बसेर रमाइरहेको एक गडेउलाले जमिन मुनिबाट टाउको उचालेर उससँग सोध्यो– मेरो नागरिकताको प्रमाणपत्र खोइ ?

(तीन)
दसगजामा उभिएर अत्यधिक जोश एवं जाँगरका साथ महान देशभक्तिको गीत गायो, श्रीमान् क्षत्रज्ञले (ठ्याक्कै लय मिलाएर) । अनेकन प्रहर बितिसकेपछि उसले लयबद्ध गीत रोकेर आफैसँग प्रश्न ग¥यो– यो कुनचाहिंँ देशको भक्तिको गीत हो हँ ?

(चार)
उडुस, लामखुट्टे, जुका, उपियाँ, झुसिलकिरा, गोजर, हड्डा, बिच्छी, सर्प आदिलाई दसगजामा भेला गरेर श्रीमान् क्षत्रज्ञले एउटा निकै लामो छलफल चलायो । (भव्य पनि) । केही दिनपछि यस सम्बन्धमा प्रश्न आउँदा उसले गम्भीर भएर जवाफ दियो– यो हाम्रो आपसको नितान्त निजी मामला भएकोले यसबारे तपाईहरूलाई केही भन्न म बाध्य छैन ।

(पाँच)
श्रीमान् क्षत्रज्ञले दसगजामा एउटा सिक्का भेट्टायो । टलकदार सिक्का । यो नचल्ने किसिमको पुरानो सिक्का होइन– उसले मनमनै भन्यो । र त्यसलाई चलाउन दौडधुप गर्न थाल्यो । तर सिक्का खोटो निस्क्यो । चलेन । तैपनि श्रीमान् क्षत्रज्ञले हार मानेको छैन । ऊ सबैसँग निर्धक्क भएर भन्ने गर्छ– यो सिक्का आफ्नो चरित्रगत हिसाबले खोटो भएकोले एक न एक दिन चलेरै छाड्नेछ ।

(छ)
यो नसोच्नोस्, श्रीमान् क्षत्रज्ञ कुनै कवि होइन । जब ऊ कवि हुन्छ, त्यसबखत दसगजामा पुगेर धमाधम कविता लेख्छ । (निकै भावनिमग्न भई) । अनि त्यसलाई कुनै खास ठाउँमा सुनाउन निम्तोको प्रतीक्षा गर्न थाल्छ । एक दिन साँच्चिकै निम्तो आउँछ । र श्रीमान् क्षत्रज्ञ एक ठूलो कविको हैसियतले निम्त्याइएको ठाउँमा पुग्छ । (याने विशेष देशमा) । त्यहाँ आफ्नो दसगजाका थुप्रै कविता सुनाएर भारी इनामसहित फर्कन्छ ।

(सात)
दसगजाबाट श्रीमान् क्षत्रज्ञले एक देशको गोप्य रिपोर्ट अर्काे देशमा चुपचाप पठायो । त्यसपछि दिमाग खुम्च्याएर (अथवा फैलाएर) सोच्न थाल्यो– अरे, यो त सबैले थाहा पाएकै कुरो हो ।

(आठ)
श्रीमान् क्षत्रज्ञले दसगजामा भेट्टाएर ल्याएको एउटा सानो कुकुरलाई सबथोक सिकायो । जस्तै स् ‘छु’ भन्नासाथ दगुरेर टोक्नु, श्रीमान् क्षत्रज्ञको अघि पर्नासाथ पुच्छर वेगले हल्लाउनु, आँखा झिम्काउँदा दगुर्नु, दुवै कान उचालेर केही सुन्ने कोसिस गिरिरहनु, इसारा हुनासाथ टोलै थर्काउनेगरी भुक्नु इत्यादि । तर एउटा कुरा भने उसले कुकुरलाई सिकाउन चाहेन । अर्थात विशेष खालको स्वामिभक्ति । किनभने यो उसले आफ्नैलागि सुरक्षित राखेको थियो । छ ।

(नौ)
एकाबिहानै दसगजामा उभिएर श्रीमान् क्षत्रज्ञले माथि आकाशमा थुक्यो । (बल लगाएर) । त्यो थुक तुरुन्तै उसको मुखमा आएर खस्यो । त्यसपछि उसले निधारमा तीन धर्का पारेर सोच्यो– हाम्रा पुर्खाहरूले बेठिक भनेका रहेनछन् त !

(दस)
श्रीमान् क्षत्रज्ञ एक तिरन्दाज पनि रहेछ । त्यसैले दसगजामा गएर तीर चलाउने अभ्यास गरिरहन्छ । उसको तीर बहुधा निसानामा पर्छ । यसले ऊ पटक्कै खुसी हँुदैन । जब तीर निसानामा लाग्दैन, ऊ औधी खुसी हुन्छ । र मनमनै आफैंलाई भन्छ– यो नै सही निसाना हो भनी मैले अरूलाई किन बताउने ? (अर्थात बेनिसान) ।

(एघार)
एकदिन श्रीमान् क्षत्रज्ञले आफूले उभिएको जमिन हरायो । त्यसलाई खोज्दै जाँदा उसले आफ्नो जमिन ठ्याक्कै दसगजामा भेट्टायो । त्यसपछि ऊ प्रसन्नतामा करायो– यो दसगजा त गजबको चिज रहेछ बा !

(बाह्र)
श्रीमान् क्षत्रज्ञले दसगजामा एउटा घर बनाउने विचार ग¥यो । र घर बनायो पनि । त्यसपछि त्यसलाई भत्काउन थाल्यो । यस्तो किन गरेको हो भनी सोध्दा उसले एउटा चिन्तकले झैं विचारमग्न भई भन्यो– भूकम्प आएर घर भत्के भने के गर्ने नि !

(तेह्र)
दसगजामा आएर मोटर बिग्रेकोले श्रीमान् क्षत्रज्ञ निकै रिसायो । (आगो सरह) । र मोटरको पुरानो बडीमा कोर्रा हिर्काउँदै जोड–जोडले भन्न थाल्यो– साले फलामको घोडा, मालिकको निमक (पेट्रोल भनेको हो कि ?) खाएपछि त्यसको सोझो गर्नु पर्दैन ?

(चौध)
श्रीमान् क्षत्रज्ञ जब दसगजामा पुग्छ, कुन्नि किन अति भावुक हुने गर्छ । ऊ घोरिएर सोच्न थाल्छ– म को हुँ ? जब निकै सोचेर पनि कुनै उत्तर आउँदैन, तब आफैंलाई विस्तारै भन्छ– आखिरमा म कोही पनि रहेनछु ।

कान्तिपुर, पुस ११, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x