विमल निभाश्रीमान् क्षत्रज्ञ र दशगजा
(श्रीमान क्षत्रज्ञ को हो, कसो हो र किन हो भन्नुभन्दा पहिले उससँग सम्बन्धित केही कथा–कुथुंग्री । यस पटक श्रीमान् क्षत्रज्ञ र दसगजा– विमल निभा ।)
(एक)
दसगजाको एकातिर तुलनात्मक रूपले धेरै ठूलो देश मौजुद छ । एक दिन दसगजामा पुगेर श्रीमान् क्षत्रज्ञले असाध्यै अचम्म मानेर सोच्यो– त्यसो भए यो दसगजा एघारगजा, बाह्रगजा, तेह्रगजा, चौधगजा, पन्ध्रगजा… किन नभएको होला ?
(दुई)
श्रीमान् क्षत्रज्ञ घुम्दाघुम्दै दसगजामा पुगेको थियो, त्यहाँ निकै समयदेखि बसेर रमाइरहेको एक गडेउलाले जमिन मुनिबाट टाउको उचालेर उससँग सोध्यो– मेरो नागरिकताको प्रमाणपत्र खोइ ?
(तीन)
दसगजामा उभिएर अत्यधिक जोश एवं जाँगरका साथ महान देशभक्तिको गीत गायो, श्रीमान् क्षत्रज्ञले (ठ्याक्कै लय मिलाएर) । अनेकन प्रहर बितिसकेपछि उसले लयबद्ध गीत रोकेर आफैसँग प्रश्न ग¥यो– यो कुनचाहिंँ देशको भक्तिको गीत हो हँ ?
(चार)
उडुस, लामखुट्टे, जुका, उपियाँ, झुसिलकिरा, गोजर, हड्डा, बिच्छी, सर्प आदिलाई दसगजामा भेला गरेर श्रीमान् क्षत्रज्ञले एउटा निकै लामो छलफल चलायो । (भव्य पनि) । केही दिनपछि यस सम्बन्धमा प्रश्न आउँदा उसले गम्भीर भएर जवाफ दियो– यो हाम्रो आपसको नितान्त निजी मामला भएकोले यसबारे तपाईहरूलाई केही भन्न म बाध्य छैन ।
(पाँच)
श्रीमान् क्षत्रज्ञले दसगजामा एउटा सिक्का भेट्टायो । टलकदार सिक्का । यो नचल्ने किसिमको पुरानो सिक्का होइन– उसले मनमनै भन्यो । र त्यसलाई चलाउन दौडधुप गर्न थाल्यो । तर सिक्का खोटो निस्क्यो । चलेन । तैपनि श्रीमान् क्षत्रज्ञले हार मानेको छैन । ऊ सबैसँग निर्धक्क भएर भन्ने गर्छ– यो सिक्का आफ्नो चरित्रगत हिसाबले खोटो भएकोले एक न एक दिन चलेरै छाड्नेछ ।
(छ)
यो नसोच्नोस्, श्रीमान् क्षत्रज्ञ कुनै कवि होइन । जब ऊ कवि हुन्छ, त्यसबखत दसगजामा पुगेर धमाधम कविता लेख्छ । (निकै भावनिमग्न भई) । अनि त्यसलाई कुनै खास ठाउँमा सुनाउन निम्तोको प्रतीक्षा गर्न थाल्छ । एक दिन साँच्चिकै निम्तो आउँछ । र श्रीमान् क्षत्रज्ञ एक ठूलो कविको हैसियतले निम्त्याइएको ठाउँमा पुग्छ । (याने विशेष देशमा) । त्यहाँ आफ्नो दसगजाका थुप्रै कविता सुनाएर भारी इनामसहित फर्कन्छ ।
(सात)
दसगजाबाट श्रीमान् क्षत्रज्ञले एक देशको गोप्य रिपोर्ट अर्काे देशमा चुपचाप पठायो । त्यसपछि दिमाग खुम्च्याएर (अथवा फैलाएर) सोच्न थाल्यो– अरे, यो त सबैले थाहा पाएकै कुरो हो ।
(आठ)
श्रीमान् क्षत्रज्ञले दसगजामा भेट्टाएर ल्याएको एउटा सानो कुकुरलाई सबथोक सिकायो । जस्तै स् ‘छु’ भन्नासाथ दगुरेर टोक्नु, श्रीमान् क्षत्रज्ञको अघि पर्नासाथ पुच्छर वेगले हल्लाउनु, आँखा झिम्काउँदा दगुर्नु, दुवै कान उचालेर केही सुन्ने कोसिस गिरिरहनु, इसारा हुनासाथ टोलै थर्काउनेगरी भुक्नु इत्यादि । तर एउटा कुरा भने उसले कुकुरलाई सिकाउन चाहेन । अर्थात विशेष खालको स्वामिभक्ति । किनभने यो उसले आफ्नैलागि सुरक्षित राखेको थियो । छ ।
(नौ)
एकाबिहानै दसगजामा उभिएर श्रीमान् क्षत्रज्ञले माथि आकाशमा थुक्यो । (बल लगाएर) । त्यो थुक तुरुन्तै उसको मुखमा आएर खस्यो । त्यसपछि उसले निधारमा तीन धर्का पारेर सोच्यो– हाम्रा पुर्खाहरूले बेठिक भनेका रहेनछन् त !
(दस)
श्रीमान् क्षत्रज्ञ एक तिरन्दाज पनि रहेछ । त्यसैले दसगजामा गएर तीर चलाउने अभ्यास गरिरहन्छ । उसको तीर बहुधा निसानामा पर्छ । यसले ऊ पटक्कै खुसी हँुदैन । जब तीर निसानामा लाग्दैन, ऊ औधी खुसी हुन्छ । र मनमनै आफैंलाई भन्छ– यो नै सही निसाना हो भनी मैले अरूलाई किन बताउने ? (अर्थात बेनिसान) ।
(एघार)
एकदिन श्रीमान् क्षत्रज्ञले आफूले उभिएको जमिन हरायो । त्यसलाई खोज्दै जाँदा उसले आफ्नो जमिन ठ्याक्कै दसगजामा भेट्टायो । त्यसपछि ऊ प्रसन्नतामा करायो– यो दसगजा त गजबको चिज रहेछ बा !
(बाह्र)
श्रीमान् क्षत्रज्ञले दसगजामा एउटा घर बनाउने विचार ग¥यो । र घर बनायो पनि । त्यसपछि त्यसलाई भत्काउन थाल्यो । यस्तो किन गरेको हो भनी सोध्दा उसले एउटा चिन्तकले झैं विचारमग्न भई भन्यो– भूकम्प आएर घर भत्के भने के गर्ने नि !
(तेह्र)
दसगजामा आएर मोटर बिग्रेकोले श्रीमान् क्षत्रज्ञ निकै रिसायो । (आगो सरह) । र मोटरको पुरानो बडीमा कोर्रा हिर्काउँदै जोड–जोडले भन्न थाल्यो– साले फलामको घोडा, मालिकको निमक (पेट्रोल भनेको हो कि ?) खाएपछि त्यसको सोझो गर्नु पर्दैन ?
(चौध)
श्रीमान् क्षत्रज्ञ जब दसगजामा पुग्छ, कुन्नि किन अति भावुक हुने गर्छ । ऊ घोरिएर सोच्न थाल्छ– म को हुँ ? जब निकै सोचेर पनि कुनै उत्तर आउँदैन, तब आफैंलाई विस्तारै भन्छ– आखिरमा म कोही पनि रहेनछु ।
कान्तिपुर, पुस ११, २०७२
Subscribe
Login
0 Comments
Oldest







































