माणिकरत्न शाक्यखामको दाम
चावहिल सरस्वतीनगर स्थित मेरो घरमा दिउँसो दुईजना युवकहरू बहालमा बस्न कोठा खोज्दै आए । मैले पनि उनीहरूलाई सो कोठा देखाइदिएँ । कोठा हेरिसकेपछि चित्त बुझाएछन् क्यारे ! आएका दुईजनामध्ये एकले हामीलाई लक्ष्य गर्दै भने– उहाँ साथीको घर सिन्धुपाल्चोक हो । उहाँको भागी विवाह हो, उताको कार्यक्रम सकेपछि मात्र यही घरमा भित्र्याउने हो । आज दिनभरिमा कोठा तयारी गरेर जान्छौँ, एक हप्तापछि मात्र आउँछौ भनेर परिचय सहित बैना दिएर गए ।
एक हप्तापछि बेलुका १० बजेतिर नयाँ दुलहीलाई मूलढोकामा राखेर अरु बाँकी एक हुल मान्छेको लर्को घरभित्र छिर्यो । हामीलाई स्वागतको निम्ति निमन्त्रणा गरे । हामीले पनि यनिहाउ काम चलाउ जाने अनुसारको रीत पुर्याएर घरभित्र हुल्यौँ । रात निकै लम्बिएकाले नवदुलाहा र दुलहीसँग विदावारी माग्दै आ–आफ्नो गन्तव्यतिर लम्के जन्तीमा आएकाहरू । हामीले पनि त्यसै गर्यौँ । यो थियो पहिलो दिनको कुरा ।
रहँदै बस्दै गर्दा घरबेटी र नवदम्पतीको बीचमा हिमचिम बढ्दै गयो । उहाँहरू पनि हाम्रै पार्टीका रहेछन् अर्थात् नेवार जातिका । घर प्रवेश गरेको ठीक एक महिनापछि विवाहको भोज आयोजना गर्ने योजना बनाएका रहेछन् । नवदम्पती मिलेर एक चाङ कार्ड लेख्दै गर्दा हामीले देखेर सो कुरा खोलेका हुन् । सोही कार्यक्रम अनुसार हामीलाई पनि नवदम्पतीले संयुक्त भोजको निम्तो गरे । स्थान थियो– लैनचौर स्थित ब्याटमिन्टन कभर्ड हल । समय– बेलका ५ बजे ।
आयोजकले तोकेको दिनमै हामी स–परिवार भोज खान लैनचौर पुग्यौँ । हामी त्यहाँ चाँडो पुगेछौँ । एकछिन काठमाडौ नर्क डुल्यौ, त्यही मौकामा रु.२००/– को दाम खाममा राख्यौँ । काठमाडौँको चलन अनुसारको रीत पु¥यायौँ । पुनः भित्र पस्यौँ । त्यसवेला बल्ल शुरु हुने छाँटकाँट देखापर्यो । एक महिना पछिको बासी दुलही सजिएर रमितेहरूसँग रमाइरहेकी थिइन् । त्यही क्रममा निम्तालुहरूको उपस्थिति बिस्तारै बिस्तारै बढ्यो । त्यहीँको एक छेउमा उभिएर चारैतिर आँखा दौडाइरहँदा धेरै पटक मेरा आँखा दुलहीले समाएको उपहारमा गएर ठोक्कियो । भन्ठाने–यिनीहरूका आफन्तहरू सम्पन्न परिवारका रहेछन् । उपहारका सामानहरू सबै गहकिला मात्र, झिनामसिना उपहार त देख्दै देखिन । अँध्यारो बढ्दै गएपछि निम्तालुहरूको भीड अत्यधिक मात्रामा बढ्यो । त्यही मौका छोपी दुलाहाले हामीलाई भित्र जाउँ दाइ ! भन्दै कार्यक्रम स्थलतिर लगे । हामी पनि त्यहीको दुनियासँग नजिकियौँ । हामीले चिनेको तिनै नव दम्पती मात्रै हो । खोक्रो भुँडीलाई डम्म बनायौँ अनि दुलहीलाई रु.२००/ को खाम उपहार दिएर तिनै नवदम्पतीसँग विदावारी मागेर घर फर्कियौँ ।
भोलिपल्ट बिहानै बेहुली माथि उक्लेर हामीसँग हिजोको कार्यक्रमको बारेमा कुरा गर्न थालिन् । त्यस बीचमा धेरै थरिका कुराकानी भए । त्यसमध्ये दाइजो र खामको बिषय जोडदारसँग अघि बढ्यो । सिन्धुपाल्चोकतिर बोलिने नेवारी लवजमा लेध्रो तान्दै उनी बोलिरहिन्– है दिदी ! मान्छे कस्ता कस्तासम्म हँुदा रैछन्, खाममा ५०००/ देखि २००/ सम्म राखेका रहेछन् । २००/– राखेर त्यत्रो भोज खान आउन सक्ने, कस्ता लाज नभाका मान्छे होलान् भन्दै हामीलाई नै पो उडाएको उडायै । लौ मार्यो बा ! भन्दै कुरा मोड्न खोज्यो ज्यान गए कुरा मोडिएन । घुमिफिरि त्यही खाममा आएर कुरा अड्कियो । अप्रत्यक्ष रूपमा चोर पक्राउ परिहाल्यो । अब के गर्ने कसो गर्नेको चेपुवामा परियो । मनमनै उम्किने बाटो खोज्न थालेँ । मैले बेहुलीसँग सत्रथरी प्रश्न सोधेँ । उनले प्रश्नको उत्तर सहज रूपमा यसरी दिँदै भनिन्– सवै खामको बाहिरपट्टी धेरै रकम दिनेको नाम लेख्या थियो, तपाईको नाम चाहिँ देखिन । पक्कै पनि खाममा २०० राख्ने तपाई नै हो अरु कोही होइन भन्दै उनले ठोकुवा पो गरिन् । केही सीप नलागेपछि चुप लाग्नु नै वेस सम्झेर ङिच्च दाँत देखाएर हासिरह्यौँ ।
भोज खान जाँदा खाममा हालेको दामले भोज चोरमा मेरो नाम दर्ता भयो । तिनै भोजका नाइकेहरू त्यस पश्चात अन्तै डेरा सरे । अहिले पनि बाटोमा भेट्यो कि त्यही २००/ को कुरा उठाउलान् भनेर देखे पनि नदेखे झैं गरी टाप ठोक्ने गरेको छु ।
चावहिल, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































