उत्तमकृष्ण मजगैयाँनयाँ नेपाल ?
आफ्नै राज थियो विभिन्न निहुँमा राजाहरूले चुसे
बिर्ताझैँ सय वर्षसम्म कसरी राणाहरूले चुसे
पाई शक्ति चुनावबाट दलका नेताहरूले चुसे
व्यापारी, डन, माफिया र पदका क्रेताहरूले चुसे !
प्राणैसम्म लिने गरी मुलुकमा दाह्रा सबैले धसे
नाना रुप लिएर भित्र अब ता छद्मी बलैले पसे
द्वन्द्वै द्वन्द्व बढेर नै प्रगतिका आधार पूरै रुके
मौका पाइरहे तथापि दलका नेताहरू नै चुके !
देशै स्वर्ग बनाउने प्रण गरी दिन्छन् दिलासाहरू
बाँड्दै भाषणबाट स्वप्न कसरी बन्छन् तमासा बरु
सत्ता केन्द्रित राजनीति सबको धन्धा उही लूटको
भ्रष्टाचार मिटाउने पनि कुरा गर्छन् उनै झूटको !
आफ्नो मान र शान बढ्छ कसरी ? मौका सबैले ढुके
आफ्ना ती ‘प्रभु’का अघिल्तिर सधैँ लत्रेर पूरै झुके
खूबै हार्दिक–भावसाथ उनले खै, मन्त्र कस्तो फुके ?
लोलीमा कसरी सहर्ष यिनले बोली मिलाई घुके !
सौदा हुन्छ यहाँ इमान–मनको, बिक्ने सलामी पनि
छायामै कति अस्मिता र तनको गर्छन् लिलामी यिनी
मौका व्यर्थ कहाँ गुमाउँछ उसै सिद्धान्तका खातिर ?
पाए बेच्न तयार हुन्छ सहजै यो राष्ट्र नै आखिर !
मेलै छैन, छ वैमनष्य, सबका छन् दाउ, छिर्की बरु
देशै फोड्न तयार छन् नित दिंदै धम्की र घुर्कीहरू
झुक्दा राष्ट्रिय स्वाभिमान कसरी बच्ला र देशै पनि ?
व्यर्थै द्वन्द्व बढाउने जति सबै हुन् देश–द्रोही यिनी ?
हाम्रो राष्ट्र सधैँ अखण्ड छ भनी कुर्लेर मात्रै भयो ?
कोरा राष्ट्रिय भावना मनमनै उर्लेर मात्रै भयो ?
आएरै कुन योग्य जादुगरले यो राष्ट्र जोगाउला–
भन्दै मस्त पिई सुतेर अब को अस्तित्व टेकाउला ?
यस्तो हालत देखिदैछ कसरी होला यहाँ उन्नति ?
धेरै वर्ष बिते छुसी नियतले पूरै भयो दुर्गति
तन्नेरी बल–पाखुरा खटिदिए आधार हुन्थ्यो यहाँ
हाम्रा यी मन–भावना जुदिडिए नेपाल बन्थ्यो नयाँ ?
दाङ
Subscribe
Login
0 Comments
Oldest







































