प्रल्हाद पोखरेलघुस
१.
जो आए पनि खान हुन्छ सजिलै मीठो छ यो भोजन
यो खाएपछि मात्र बन्छ सहजै मान्छे यहाँ सज्जन !
यो पाएन भने बनिन्न कहिल्यै सौभाग्यशाली जन
यो खाएन भने सदैव उसको रित्तो भयो जीवन !
२.
जो खान्छन् यसको गुदी रसभरीजस्तै हुने स्वादिलो
बोक्रै हुन्छ मिठासपूर्ण गतिलो छोक्रै पनि स्वादिलो
छालीझैँ बहुमूल्य पोषक हुने, रुच्ने र पच्ने सदा
हट्ने दुर्दमनीय दैन्य सजिलै खाए सदासर्वदा ।
३.
यो हो सभ्य समाजको सरसिलो साझा मिठो व्यञ्जन
साँच्चै सङ्गतमा परेपछि हुने राम्रो मनोरञ्जन
हुन्छन् सङ्गत राजसी तरहका चौपट्ट चर्चा हुने
यो भाग्योदय चीज हो समयको सौभाग्य वर्षा हुने ।
४.
भन्नोस् बन्नु छ सभ्य या सहरिया या मात्र एक्लो जन
छोडी सभ्य समाजको चरिफुरी भोगेर रित्तोपन
भोग्नेग हो पुरुषार्थपूर्ण रसिलो सौभाग्यको जीवन ?
या रित्तोपन दीनहीन सरिको निर्धो छुसी जीवन ?
५.
बन्ने वीर विशिष्ट मानिस भए खानोस् डकार्नोस् सधैँ
पूजा तस्करको गरेर निमुखालाई हकार्नोस् सधैँ
सद्दे मानिस देखियो कि उसको टुप्पी बटार्नोस् सधैँ
यस्तै कर्म गरी गरी मनपरी चोला सपार्नोस् सधैँ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest











































