वासुदेव पाण्डेयप्रहार
कालो कालो कलुष कति हो क्रोध कस्तो निकाल्छन्
खाल्डो खन्छन् खलजन खटी खोइरो खन्न थाल्छन् ।
गल्ती गर्दै गनगन गरी ग्वाँज, ग्वाङ्ग्रे गफिन्छन्
घोटिन्छन् जो घृणित घटिया घोर घाती कहिन्छन् ।।
चल्ने चन्दा चटपट चिया चाट चुस्की चुरोट
छोटो, छाडा, छलकपटले हुन्छ छुच्चो छनोट ।
जाली ज्याद्रा जठर जनको जिन्दगी जान्न गाह्रो
झोला, झन्डा, झडप, झगडा झोँकमा झन् झटारो ।।
टाढा टाठा, गरिब टपरी टिप्दछन् टक्टक्याई
ठग्ने ठेक्ने सरल जनता ठालु गर्दै बठ्याइँ ।
डाकी डाम्दै डर डबलले डल्लिँदा झन् हकार्छन्
ढोग्छन् ढाक्छन् ढलपल ढली ढाड भाँच्दा सकार्छन् ।।
ताला, ताली तरल तरिका ताक पर्दा तिवारी
थर्काएमा थरथर हुने थुम्थुम्याए थुपारी ।
दानापानी दिनदिन दिए दाहिने देखिए जो
धम्की धोका धरपकडमा धीरता धर्मरायो ।।
निक्लोस् नाफा नियम नभनी नत्र ‘नेपाल बन्द’
पेसा, पैसा, पद परिधि वा पाखुराको प्रबन्ध ।
फल्छन् फुल्छन् फलफुलहरू फैलिई फेदबाट
बाङ्गो बन्ने बल सबल भो बुद्धुमा वेदबाट ।।
भोकैभोका भ्रमित भरिया भोज भन्दैन भान्छे
मेरो मात्रै मत, मद भए मासिने मूर्ख मान्छे ।
यौटा यात्री यस समय वा याममा यादगार
रोगी रुन्चे रहर रथमा रोकियो रूग्ण प्यार ।।
लाछी लोभी लहसिन गई लाभ लिन्छन् लुसुक्क
वाक्नेवाला वकिल वकले वाक्क वा वाल्ल थुक्क ।
सोझासाझा श्रमिक सपना साहु साट्ने सजाई
हेपिन्छन् हो हरदिन हली हर्ष, हाँसो हराई ।।
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest







































