वासुदेव पाण्डेयविनाशकाले विपरीत बुद्धि
आएर गै हाल्छ तुरुन्त मौका
सङ्घर्ष झुन्डीकन गर्छ लौका ।
अभ्यासले जो पनि पोख्त हुन्छ
इच्छा भए ‘चन्द्र’ उडेर छुन्छ ।।
चुनावमा गाउँतिरै रहन्थे
यो देश ‘सिङ्गापुर’ हुन्छ भन्थे ।
लोभ्याउँदै भाषण गर्छ नेता
भागी हिँडे बन्छ कहाँ विजेता ?
तर्साउने कोसिस गर्छ आई
नाङ्लो ठटाई गजराजलाई ।
तिहार आउन्न दसैँ नआई
फलामले काट्छ फलामलाई ।।
आशा भरोसा छ सबै ढलेको
छ देश ‘विप्रेषण’ले चलेको ।
बाँकी चलाए अनुदानबाट
सत्ता कहाँ चल्छ इमानबाट ?
जो हुन्छ सत्ता सरकार पास
मौका मिले पार्दछ सत्यनाश ।
‘अहम्’ जुधी युद्ध ठुलो भएर
लङ्का डढाए ’हनुमान्’ गएर ।।
खट्छन् ‘धुपौरे’ सब काम छाडी
श्रीरामभन्दा ‘हनुमान्’ अगाडि ।
आफन्तको नाम गरेर दर्ता
नेता बिगार्छन् सब कार्यकर्ता ।।
खाडी पुगेको छ युवा जमात
सन्तान रून्छन् नपुगेर भात ।
बच्चा ऋणी बन्दछ पेटबाट
के आश गर्ने र बजेटबाट ?
आफन्तले थाप्छ सधैँ धराप
सोझो बनी गर्दछ भित्र पाप ।
छर्केर गोमूत्र हुँदैन शुद्धि
‘विनाशकाले विपरीत बुद्धि ।।’
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest







































