चूडा निर्भीकगणतन्त्र फुल्नुपर्छ
यो रुख सोझो छ कि बाङ्गो बिर्खे ?
महाराजले गौंडा मालिकतर्फ हेरेर सोध्यो,
गौंडा मालिकले नम्र निवेदन गरे,
“मेरो गर्धन चिलाएको कि हात
म त यो रुख बाँगो देख्छु महाराज !”
महाराज गर्जियो !! ल बाँचिस् बिर्खे !
ला तेरो ईनाम, एक सय ढ्याक ।
वरपरका मानिस सन्त्रस्त बने,
बाँगो रुखको सवाल–जवाफ सुनेर ।
यो देशका दास बनाईएका मनुवाहरू,
थर्ररररर काँपे !
के महारजलाई रुख त सोझै छ महाराज ! भनेका भए
टुँडिखेलमै शेरिनुपर्ने ?
हुन पनि तिम्रो शासनमा समस्या छ भन्ने,
भक्ति थापा बाँकी रहेनन,
गंगालालहरू लक्का जवानीमै फाँसीमा झुण्याइए ।
धर्मभक्त शुक्रराजहरूका ईहलीला समाप्त भो ।
तर
तर पनि
सत्ता बाँकी रहेन, महाराजहरू नै ढले ।
प्रजातन्त्रको नाम लिएर त्यसैबेला,
खुसुक्क जस्केलाबाट मधुरो घाम,
मेरो देशभित्र छिर्यो ।
एक दशकको रस्साकस्सीपछि,
जन्मिदैमा रोगी प्रजातन्त्रको हत्या भो ।
अनि जोडियो पञ्चायत र भनियो– “पञ्चायती प्रजातन्त्र” ।
प्रजातन्त्रको राम्रै अभ्यास भो, नयाँ तरीकाबाट ।
विरोधीलाई अराष्ट्रिय तत्वको भिल्ला भिराउँदै ।
एकएक गरेर दमन गर्ने र ढालिने गरियो ।
नागरिक अधिकार केही दिइएनन् ।
अर्काथरी बडामहाराजहरूका स्तुतिगान गाउन लगाइयो ।
श्रीमान गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति
श्री श्री श्री महाराजधिराजको सदा रहोस् उन्नति…
खै रैती बनाइएका मानवहरूको उन्नतिको कामना ??
संसार चन्द्र जित्दै थियो !!
मंगल यात्रामा निस्कने तरखर गर्दै थियो ।
हामी भने वर्वर दमनमा ग्याँस–च्याम्वरभित्र,
त्राही, त्राही गर्न विवश थियौं ।
कैले महाराजहरू धर्तीका छोराहरू शिकार गर्थे ।
कैले महाराजहरू नमिता–सुनिताको कल्कलाउँदो शरीरभित्र,
रक्सीको नशा घुसार्थे,
जनताको खूनबाट बनेको वीऊ खसाल्थे,
अनि उत्तेजना शान्त पारेपछि….‘
लात्तीले हानेर वुटले,
सेतीको पुलबाट खोँचमा छोप्ल्याङ्ग चोपल्थे,
चीर निन्द्रामा सुताउँथे ।
तब रात रैतीहरू तर्साउँथ्यो ।
बचेन त्यो कालखण्ड,
रैतीहरू नागरिक बन्न खोजे ।
आन्दोलन बन्द हडताल हुन थाले,
देश थिल्थिलो भयो अनि छिमेकीको वल थपियो,
र अर्को थान प्रजातन्त्र प्राप्त भो । निगाहमा !
अधिकार जति आफू राखेर,
महाराजबाट हुकुम र निगाह प्राप्त भो ।
पन्चायती व्यवस्था ढल्यो,
पुन प्रजातन्त्र याने कि वहुदलीय सत्ता उदायो देशमा ।
दलहरू स्वतन्त्र भए ।
प्रतिवन्ध फुक्यो ।
अनि, अनि,
शुरु भो महाराजको तलुवामुनि
दलहरूका अवान्छित गतिविधि ।
भोको श्याललाई सिङ्गै कुखुराको खोर मिलेपछि,
कुखुरा कति दिन बाँच्लान् हजुर ??
कति स्वस्थ र निडर हुन्छन् महाशय ??
मैले यसको जवाफ पाउन सकिन ।
सत्ताको सुस्वादुमा रम्ने र पर हेरेर
रयाल काढ्नेहरू, दुई खेमामा विभक्त भए ।
कोही हसुर्दैछन्, कोही पालो पर्खिदैछन् दलहरू,
जनता रैतीबाट माथि उठ्न सकेनन्
द्वन्द्व फेरि शुरु भो ।
आगोको वीऊ जोगाउन पक्कै गारो हुन्छ ।
तर सुकेको खरमा टिपेपछि
उसले छाड्ला र जलाउन,
जल्यो जताततै, फैल्यो चारैतिर,
दन्क्यो दन्दन्, बल्यो घर, गोठ, गाँऊ, समाज र सिङ्गै देश ।
निर्दोषहरू ढालिए,
कवि कलाकारहरू जलाइए,
देशभक्तहरूलाई गोली ठोकियो ।
वग्यो रगत, बन्यो खोला !
ढल्यो दरवार, फेरियो सरकार !
अनि बल्ल देशमा ‘गणतन्त्र’ आयो ।
अझै छन् अवशेषहरू !
अन्धकार कुनामा जाल बुनिदैछन् ।
हाम्रो सत्ता फिर्ता लिन्छौं भन्दैछन् ।
विदेशीसँग हारगुहारमै छन् ।
अनेक नारा र वेशभूषामा सजिएकै छन् ।
तर्
तर, गणतन्त्रका ठेकेदारहरू,
हीराको कुर्ची प्राप्त गर्न तँछाड–मछाडमा लालायित छन् ।
फेरि पनि रसस्वादनमा लाममा छन्,
अझै जर्जर राष्ट्रको छात्ती कोपर्न उद्यत छन्,
कहिले के खोलमा, कहिले कुन जालमा,
सत्तामाथी छलाङ्ग हान्ने भन्ने ताकमा छन
जनता जनार्दनलाई उकास्दैछन् ।
खवरदार !!
नेता हो ! अब जनतालाई पुन कसैको दास बन्नुछैन ।
रैती बनेर महाराजाहरूलाई दाम, चढाउनु पनि छैन ।
चुनावमा भोट, रक्सीसँग साँट्नु पनि छैन
रोजगारीका लागी विदेश गएर,
बाकसमा बन्द भै फर्किनु पनि छैन ।
सीमानामा खुम्चिनु पनि छैन,
विस्तारवादीका लागि क्रीडास्थल
उपलव्ध गराउनु पनि छैन ।
होशियार !
यो गणतन्त्र हो,
यहाँ सम्भावना प्रचुर छन् ।
यो लोकतन्त्र हो, आवाजहरू बन्द हुँदैनन् ।
यो स्वतन्त्र भूमि होस् परतन्त्र स्वीकार छैनन् ।
अलिकति शहीदको चिहानहरूबाट,
उज्यालो क्रमश‘ फैलिंदैछ झुल्केघामको किरण जस्तै,
अव गणतन्त्र फुल्नुपर्छ ।
अव गणतन्त्र फल्नुपर्छ ।
र लोकतन्त्र
हरेक नेपालीको मन–मनमा सञ्चारित हुनुपर्छ
जय गणतन्त्र दिवश, याने कि प्यारो जेठ–पन्ध्र ।
गुल्मी
Subscribe
Login
0 Comments
Oldest








































