सुलसुलेराेल्पामा एकल कविता वाचन
रोल्पामा बसेर लामो समयदेखि हास्यव्यङ्ग्य साहित्य लेखनमा क्रियाशील नारायण आचार्यले शनिबार एकल रचना वाचन गरेका छन् । ललित सालित साहित्य परिषद्, रोल्पाले हरेक महिनाको अन्तिम महिना सञ्चालन गर्दै आइरहेको एकल रचना वाचनको २५ औं श्रृङ्खलामा आचार्यले रचना वाचन गरेका हुन् ।
लिबाङस्थित रोल्पा गेस्ट हाउसमा सम्पन्न कार्यक्रममा आचार्यले १० वटा कविता र ४ वटा निबन्ध सुनाएका थिए । कार्यक्रमको पहिलो चरणमा उनले ‘शहरको घर’, ‘कुर्सी’, ‘लिबाङको टुँडिखेल’, ‘देश र भाषा’ र ‘नयाँ नेपालको अपिस’ गरी ५ वटा हास्यव्यङ्ग्य कविता सुनाए ।
‘देशको दशा’, ‘रात’, ‘आमाको पीडा’, ‘हिन्दुस्तानको हिटलर’ र ‘खाऊ’ शीर्षकका कविताहरू सुनाए । त्यस्तै उनले ‘सिंहदरबार’, ‘बाङ्गोटिङ्गो यात्रा’, ‘छानविन आयोग’ र ‘खानुस्’ गरी ४ वटा निबन्धहरू सुनाएका थिए ।
कार्यक्रममा परिषद्का संस्थापक अध्यक्ष एवं साहित्यकार डी.बी. टुहुरोले आचार्यको व्यक्तित्वमाथि बोलेका थिए भने साहित्यकार सीता शर्माले समग्र कार्यक्रमको समीक्षा गरेका थिए । आचार्यले वाचन गरेका सबै रचनाहरू हास्यव्यङ्ग् भएकाले सहभागीले फरक स्वाद चाखेको समीक्षाको क्रममा शर्माले बताए ।
परिषद्का उपाध्यक्ष लोक आलोकले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमको सञ्चालन महासचिव नवीन लोचनमगर गरेका थिए भने ओम केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
स्रोत : खेमराज गाउँले
Subscribe
Login
0 Comments
Oldest











































