वासुदेव पाण्डेयसंस्कार फेरिन्न खै
सौताको रिस, जातिद्रोह, पदको लिप्सा, अहम् फैलियो
नेपाली गुटमा विभक्त हुनु नै दुर्भाग्य हाम्रो थियो ।
मारी सक्षम भारदार पदमा बस्थे मुसा शेर भै
राणातन्त्र गए नि यो मुलुकको संस्कार फेरिन्न खै ?
शङ्का, द्वेष, विषादले रगतको खोलो बगेथ्यो जहाँ
भिज्दा कोत पटाङ्गिनी रगतले जङ्गे उदायो त्यहाँ ।
बोली कानुन बन्दथ्यो र जनता बस्थे सधैँ त्रासमै
आयो रे गणतन्त्र यो मुलुकको संस्कार फेरिन्न खै ?
राणा शासन अन्त्य भैकन यहाँ आयो नयाँ शासन
उस्तै अस्थिरता थियो र त फिरे पञ्चेहरूका दिन ।
पञ्चेतन्त्र ढलाइयो मुलुकका मान्छेहरू एक भै
यी ‘चैते’ पदमा पुगे बदलिने संस्कार फेरिन्न खै ?
आफ्नो लाभ हुने भए सब जना मिल्छन्, रहन्छन् चुप
आफ्ना लागि हडप्छ राज्य ढुकुटी जो हुन्छ सत्तारुढ ।
नेता जित्छ चुनाव भाषण गरी फर्कन्न ऊ गाउँमै
’जोगी जो पनि मात्र कान चिरुवा’ संस्कार फेरिन्न खै ?
राणा शासन लोकतन्त्र अथवा पञ्चायती शासन
आयो है गणतन्त्र यो मुलुकमा भन्दै गरुन् भाषण ।
ती मान्छे पदमै सदैव जनको पाई भरोशा निकै
छेपारेपन ग्रस्त यी मनुजको संस्कार फेरिन्न खै ?
फेरिन्छ वन वृक्ष याम मनको भोगाइ बेला बिते
पापी भ्रष्ट र क्रूर यो मुलुकका मन्त्री हुनेछन् जिते ।
गर्ने व्यक्ति भए विरोध उसको आफू सधैँ मूर्तिझैँ
फेर्यौँ शासक, भूप वा युगहरू संस्कार फेरिन्न खै ?
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest







































