चूडा निर्भीकनारा
नाराले त भरिन्न पेट किन खै दिन्छन् र नाराहरु ।
चर्का भाषण हुन्छ लाग्छ नभका झार्छन् कि ताराहरु ।
लाग्थे ज्यान दिएर ती शहिद भै रुन्छन् उ खाराहरु ।
सत्तामा कसरी टिकौं भनि यहाँ छन् भात माराहरु ।।
मैले टिक्नु अझै नि पर्दछ भनी थाल्ने कुनैले रुन ।
मैले पाउनु पर्छ कुर्चि अहिले चल्छन् खुवै तिक्डम ।।
थोत्रो जीर्ण सरी छ देश कसले गर्ला भलो देशको ।
आफ्नै मात्र भलो विचार्नु कसरी नेता भनौं राष्ट्रको ।।
नेताका गुण देखिएन किन हो यो देश निर्माणमा ।
नेता त्यो चुप देखिएन अहिले छाडा छ सम्वादमा ।।
नेताका पछि लाग्छ भीड उसले के गर्छ मूल्याङ्कन ।
खोटो स्वार्थ लिएर भन्छ उसले नेता यिनै सज्जन ।।
भोको पेट लिँदै रुँदैछ जनता माग्दै छ खानाहरु ।
खेती गर्छ किसानले घर बसी खोसिन्छ दानाहरु ।।
नेता मोज लुट्छ देश अहिले डुव्दैछ खाल्डातिर ।।
दिन्छन् गफ विकासका शुभकुरा देखिन्न चारैतिर ।।
नारा फाल्न हुँदैन वेतुक छ यो गर्ने यहाँ काम हो ।
हाम्रो राष्ट्र खुबै सपार्नु कसरी फाली निजी स्वार्थ यो ।।
नारा देश बनाउँछौं रगतको भन्थे कुनै मित्रले ।
गिज्याए सरिमात्र हुन्छ किन हो भित्ताभरी चित्रले ।।
खाली भोट दिए त पुग्छ जनता के काम आयौ कुनै ।
तिम्रा भाग्य तयार लुट्न यसरी नेता छ सम्पूर्ण नै ।।
नेताको गरि चाकरी किन हुने यो देशको दुष्मन ।
खाल्डामा यहि राष्ट्र पर्न नदिऊँ लागौं यहाँका जन ।।
Subscribe
Login
0 Comments
Oldest








































