विमल निभायही होइन त ?
सूचनार्थ निवेदन के छ भने इतिहास जुन छ, त्यो ऐतिहासिक नियम बमोजिम दोहोरिएको छ ।
याद गर्नोस्, एकताकाको पुराना पञ्चहरूका ट्रेडमार्क पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई । छोटकरीमा राप्रपा । केही विस्तारमा जाने हो भने राप्रजा (थापा) र राप्रपा (चन्द) । त, त्यस बखतका (पनि) दुई भीमकाय पार्टी नेकपा एमाले तथा नेपाली कांग्रेस पार्टीलाई सहजै ‘साइड लाइन’मा पारेर तेस्रो दर्जाको पार्टी राप्रपाका नेताद्वय स्वर्गीय सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द आलोपालो गरी प्रधानमन्त्रीको लोभलाग्दो कुर्सीमा आसिन भएका थिए ।
हो, सोही बहुचर्चित राजनीतिक इतिहास अहिले नेकपा माओवादी (अब ‘केन्द्र’ थपिएको) को हलुका गुलाफी चोला धारण गरेर पुनस् राजनीतिक सतहमा देखापरेको छ । र यसको चञ्चल एवं चपल अध्यक्ष ‘कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो र दोस्रो नम्बर पार्टीका नेताहरूलाई एकाएक पृष्ठभूमिमा धकेलेर प्रधानमन्त्री हुनपुगेका छन् । यो कमरेड प्रचण्डको दोस्रो प्रधानमन्त्रीत्वको सुखद प्राप्ति हो ।
उनी प्रथम पटक प्रधानमन्त्री हुँदा नेकपा माओवादी निस्सन्देह पहिलो पार्टी थियो । अब नेपाली कांग्रेस पार्टी र नेकपा एमालेपश्चात् स्वतस् तेस्रो नम्बरमा पुगेको छ । यस सिलसिलामा ‘पोलिटिकल हिस्ट्री’का प्रचण्ड जानकारहरू निधार खुम्च्याएर (अथवा तन्क्याएर) भन्छन्– कमरेड प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलेको तुलनामा अहिले बेसी ‘सेफ’ अवस्थामा रहेका छन् ।
यो असत्य नहुन पनि सक्छ । किनभने नेपाली राजनीतिको अग्रसरता अघिल्तिर नै भइरहेको छ भनी ठोकुवा गर्ने स्थिति पटक्कै छैन । यसलाई राजनीतिका विद्वान टुक्काबाजहरू ‘इतिहास दोहोरियो’ भन्न रुचाउँछन् । कतिपय यसलाई हाम्रो इतिहासको ‘उल्टो खुट्टाको चाल’ भनिरहेका छन् । कुन्नि, यथार्थ के हो ! यस्तो उल्टो हिँंड्ने खेल हामी केटाकेटी बेलामा निकै खेल्ने गर्थ्यौं ।
यसमा जो सबभन्दा पहिले पछि पुग्थ्यो, त्यही खेलमा जित्थ्यो । म पनि कति पटक विजयी बनेको थिएँ । याने उल्टो विजेता । कतै अहिले पनि त्यही आलोकाँचो बेलाको खेल एउटा नयाँ सन्दर्भमा चलायमान भइरहेको त छैन ? मलाई वर्तमान संसदीय खेल विलकुलै नरमाइलो लागिरहेको छैन । यो त गजबै हुन्छ । अब पछि परेर अर्थात तेस्रो भएर नै आरामले सत्ताको ‘ड्राइभिङ सिट’मा बस्न सकिन्छ भने को पहिलो या दोस्रो हुने महान् झन्झटको सामना गर्ने्तिर लाग्नेछ ? त्यसउसले निर्वाचनताकाको अपार रिजल्टीय पीडालाई चटक्कै बिर्सेर हाल नेकपा माओवादी (केन्द्र) का नेता कमरेडहरू अत्यधिक गलगदावस्थामा रहेका छन् ।
‘बधाई छ, कमरेड ।’
‘थ्यांक्यु ।’
‘सुन्छु, तपाईको नाम मन्त्रीहरूका लिस्टमा छ, कमरेड ।’
‘ठिक सुन्नुभयो ।’
‘त्यसो भए एकपटक फेरि बधाई कमरेड ।’
‘हें हें हें हें….।’
पेरिसडाँडाभित्र र बाहिर मजैले फैलिएको सहास्य वार्तामा ‘कमरेड’को स्थानमा ‘नेताजी’ राखिदिने हो भने यो कांग्रेसी वृत्तमा पनि उसरी नै लागु हुने संक्षिप्त संवाद हो ।
‘बधाई छ, नेताजी ।’
‘थ्यांक्यु ।’
‘सुन्छु, तपाईको नाम मन्त्रीहरूका लिस्टमा छ, नेताजी ।’
‘ठिक सुन्नुभयो ।’
‘त्यसो भए एकपटक फेरि बधाई छ, नेताजी ।’
‘हें हें हें हें….।’
नेपाली कांग्रेस पार्टी लामो समयको (कांग्रेसीहरूलाई लाग्ने) प्रतिपक्षीय हालतलाई हठात् त्याग गरेर वर्तमान सत्तामा भागिदार रहेको छ । यस सन्दर्भमा भन्नेहरू त के पनि भन्छन् भने वस्तुतस् यो नेपाली कांग्रेस पार्टीकै सरकार हो । अझ एक पाइला अघि सरेर ‘एकल शेरबहादुर देउवाको सरकार’ भन्नेहरू पनि छन् । यसदेखि बाहेक कुनै अरु गोप्य कुरा पनि हुनसक्छ ।
अब यो खुला गोप्यताको विषयमा धेरै के भन्ने ? जे होस्, नेकपा माओवादी (केन्द्र) त फगत हात्तीको अगाडिको सेतो दाँत हो । अर्थात् प्रदर्शित राजनीतिक दन्त । यसको माने के हो भने विस्तारै चपाएर सुस्वादिष्ट भोजन उदरस्थ गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने दाँत त नेपाली कांग्रेस पार्टीकै हो । चारतारे दन्त । अतएव तमाम नेपाली कांग्रेसका कांग्रेसीहरू अनायास सक्रिय भएर मन्त्री हुने लाइनमा उभिएका छन् ।
एक, अर्कालाई पेलमपेल गर्दै । मतलव विशिष्ट धकेलाधकेल । यही कांग्रेसीहरूका सरकारमा जाने पेटेन्ट स्टाइल हो । एउटा कांग्रेसीले अर्को कांग्रेसीलाई बलपूर्वक घचेडेर पर नपारेसम्म
कसरी सहायक, राज्य या पूर्णकदको मन्त्री बन्ने ? एकाध दाह्रीवाल कांग्रेस त प्रारम्भमै सरकारमा पुगिसकेका छन् । (झ्याम्म दाह्रीको कारणले एकमा आधा थपिएको) ।
अन्त्यमा,
पहिलो र दोस्रो क्रमका नेपाली कांग्रेस पार्टी र नेकपा एमालेलाई पछाडि पारेर तेस्रो पार्टी नेकपा माओवादी (केन्द्र) ले नेपाल सरकारको बागडोर सम्हालेको छ । यसले के स्पष्ट हुन्छ भने नेपालको चालु राजनीतिक परिदृश्यमा ‘थर्ड कलास’ नै गजबले प्रभावी हुने गरेको छ । यही होइन त ?
कान्तिपुर, श्रावण २९, २०७३
Subscribe
Login
0 Comments
Oldest







































