आर.सी. रिजालगालीकार
साहित्यका विभिन्न विधा छन् । त्यही विधाको पछाडि ‘कार’ पुच्छर जोडिदिएर कथाकार, उपन्यासकार, निबन्धकार, गजलकार व्यङ्ग्यकार कविताकार (यो प्रचलनमा आउनु पर्छ भन्ने मेरो रहर) आदि छन् । मैले दुई कृति प्रकाशन गरिसकेको मात्र हैन एक दर्जन पाण्डुलिपि तयार पार्दा समेत् कुनै सम्मान पुरस्कार प्राप्त गर्न सकेको छैन । अस्ति एक जना अनुज साहित्यकारले ‘आर.सी.सरको तेस्रो कृति त मलाई उत्कृष्ठ लाग्यो ।’ भने । ‘मैले तेस्रो कृति प्रकाशन गरेको छैन, भाइले अरू कसैको कृति अथाव मेरो पाण्डुलिपि पढ्यौ कि क्या हो ?’ भनें ।
उसले ‘हैन सन्तान पनि त कृति नै हुन् नि ।’ भनेपछि मेरो हृदयमा ठ्ूलै झट््का लाग्यो । त्यसदिनदेखि मैले आफ्ना कृति दोहोर्याई तेहेर्याई पढेँ । मेरो दुई पोथामा पाठकले गोता लगाउँने कतै स्थान नै देखिनँ । कृतिमा न जीवन जगतको कुरा छ न समाजसँग सरोकार ! लेखमा त इष्र्या, डाहा मात्र फेला पारेँ । ‘आहा’ भन्ने स्थान नै देखिनँ । अब सके उत्कृष्ट लेख्ने नसके यही कृतिको पेन्सनले थेग्ने बिचार गरें ।
एकदिन शहरमा एक खुंखार नेताको भाषण गर्ने हल्ला सुनेर पुगेँ । भाषण भनेको त पूरै गाली पो रहेछ । उसले आर्को पार्टीको नेतालाई तथानाम गाली गर्दा तालीको ओहिरो लागेको देखेर मेरो मनमा पहिरो गएझैँ भयो । अरू साहित्यकारको खोइरो खन्ने बिचार पलायो । नभन्दै दुई तीनवटा कार्यक्रममा अग्रज र उतकृष्ट लेख्ने साहित्यकारलाई घोचपेच गर्दा मैले पनि ताली पाएँ ।
अर्कालाई गाली गरेर ताली पाउने भएपछि हिजोआज गाली खेतीको माली भएको छु । यसलाई साहित्यको नयाँ विधाको रूपमा स्थापित गराउँन मेरो भर मग्दुर प्रयास रहेन छ । यो विधालाई उकेरो लगाउँने सघाउँने अन्य साहित्यकारलाई म सिधा दिन तयार छु । कारण अब म यो विधाको पछाडि हात धोएर हैन मुखै फोहोर पारेर लाग्ने संकल्प गरिसकें ।
हुन त नेपालमा मभन्दा उत्कृष्ट गालीकार नभएका होइनन्, मैले नाम तोक्नै पर्दैन । जो आफू निम्न स्तरको भए पनि उच्चस्तरीय गाली गर्न सक्ने माहिर छन् । उनीहरूले म जस्तो खुलेर साहित्यिक इमान्दारिता व्यक्त गर्न सकेका छैनन् । तसर्थ भानुभक्तलाई मोतिरामले चिनाएजस्तै यहाँहरूले मलाई ‘गालीकार’मात्र हैन ‘आदि गालीकार’को उपाधि प्रदान गर्नु प¥यो । आखिर गाली र नारालाई साहित्य भन्ने जमात यहाँ नभएको होइन क्यारे ।
हामीले गालीलाई पुरानो ढर्रामा— ‘तँलाई हरियो बाँसमा एकोहोरो शंख फुकेर’ भनेर मात्र पुग्दैन । अब गालीका नयाँ नयाँ शब्द सिर्जना गर्नु पर्छ । उदाहरणका लागि ‘फटाहा’, ‘ठग’, ‘छट्टु, ‘टट्टु, ‘चोर’, ‘डाँका’, ‘भाषणका भकारी’, ‘बजिया’ आदिको सट्टा ‘नेताजी’मात्र भन्ने गरौं— त्यति भए पुग्यो । धेरै कराउनु र थुक सुकाउनु परेन । हो यस्तै यस्तै शब्द खोजेर सिर्जना गरेर गाली शब्दकोश तयार पारौँ । गाली साहित्यलाई विभिन्न भाषामा अनुवाद गरी विश्वामा चिनारी गराऔं । कति हिमाल र गौतम बुद्धको भरमा मात्र पर्नु । वास्तवमा यो नयाँ विधाको सिर्जना गर्ने म जस्ताले साहित्य तर्फको नोबेल पुरस्कार पाउन बेर छैन । यदि पाइयो भने नेपालीकै नाक घिराउँला जत्रो हुने त हो ।
हिजो आज म कुनै साहित्यिक कार्यक्रममा पुग्न नसक्दा साहित्यकार एवंम् साहित्यानुरागीलाई मेरो अभाव खड्किन थालेको छ । यसबाट के प्रष्ट हुन्छ भने गाली साहित्यको भविष्य एकदम उज्वल छ । यसमा कसैले शंका नगरे हुन्छ । त्यसैले प्रज्ञाप्रतिष्ठानमा पनि गाली साहित्य अर्थात् गालीकारको प्रतिनिधित्व गराउनै पर्यो । अब हामी संगठित भएर ‘गालीकार साहित्यिक संघ’ दर्ता गर्न तर्फ लागौं भन्ने मेरो अनुरोध छ ।
‘अभिव्यक्ति’ १६९ बाट
Subscribe
Login
0 Comments
Oldest







































