साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली हास्यव्यङ्ग्य : सामान्य सर्वेक्षण

Nepal Telecom ad

हास्य र व्यङ्ग्य दुई अलग अर्थभार लिएका शब्द हुन् । साहित्य, कला र सङ्गीतका क्षेत्रमा यी दुईलाई विशिष्ट शैलीको रूपमा लिइन्छ । हास्य–शैली मनको आनन्दमा रमाउँछ भने व्यङ्ग्यले जीवनको विसङ्गति चिनाउँछ । हास्यमा व्यङ्ग्य मिसिनु र व्यङ्ग्यभित्र हास्य समावेश हुनुबाट सिर्जना हुने हास्यव्यङ्ग्य शैलीको मिठासले साहित्यलाई रोचक र प्रिय बनाउँछ । अन्यार्थमा शब्दलाई दगुराउनु र भावार्थमा भेद ल्याउनु हास्यव्यङ्ग्यको कलाकर्म बन्दछ । नमिल्दोपनसँगै उल्टोपाल्टो पक्षलाई अघि सारेर आकस्मिक रोचकता उब्जाउने हुँदा हास्यव्यङ्ग्यमा अनेकौं प्रवृत्तिको मिश्रण हुन पुग्दछ । कमी, त्रुटि, बेढङ्गी ढाँचा, बदमासी र विषमतालाई मात्र होइन, मान्छेका दुराशय र सदाशयलाई समेत आफ्नो विषयवस्तु बनाएर व्यङ्ग्य–विनोदको व्युत्पत्ति गरिन्छ । परन्तु विवेक र निर्विवेक दुवै पक्ष हाँसोमा पाइए जस्तै व्यङ्ग्यमा पनि सामाजिक र वैयक्तिक विसङ्गति प्रहारका बिन्दु बन्न  पुग्दछन् । साहित्यको सामाजिक दायित्वलाई प्राथमिकता दिनेहरूले वैयक्तिक विसङ्गतिबाट समाजलाई हुने अहितप्रति कर्तालाई सजग बनाउँदछन् भने सामाजिक विसङ्गतिबाट  देश, जनता र जनकल्याणमा घात हुने स्थितिबाट बच्न सम्बन्धित पक्षप्रति प्रहार गर्दै व्यङ्ग्य गरिएको पाइन्छ । नेपाली हास्यव्यङ्ग्यले अँगालेर आएका यी दुई वैकल्पिक धारमा कहिले हास्य–प्रधान सिर्जनामा वैयक्तिक परिधि र कहिले व्यङ्ग्य–प्रधानतामा सामाजिक परिधिलाई अभिग्रहण गरेको छ । प्रारम्भमा युद्ध कौशलता र वीरत्वको बखानमा बगेको नेपाली साहित्यले हास्यव्यङ्ग्यलाई पनि त्यही भावधारामा लैजाने प्रयास गरेको देखिन्छ ।

एकीकरणकालसम्म प्रवाहित यस भावधाराले पछि गएर श्रृङ्गार, मनोविनोद, रतिराग र सामाजिक यथार्थलाई टिप्दै अघि बढ्यो । खासगरी भानुभक्तका फुटकर व्यङ्ग्य कवितासम्म आइपुग्दा हास्य–प्रधानताको स्थान व्यङ्ग्य–प्रधानताले लिन पुग्यो । शालीन–व्यङ्ग्यको नमूना बनेर आज पनि उनको कविता हाम्राबीच चर्चित छ । मोतिरामले त्यसलाई अघि बढाउँदा पुनः केही श्रृङ्गारिकता थपेका भए पनि लक्ष्मीदत्त, पहलमानसिंह स्वाँर, ज्ञानदिलदास, शिखरनाथ, प्रेमराज शर्मा, सोमनाथ, लेखनाथ, लक्ष्मीप्रसाद देवकोटा, रुद्रराज पाण्डे, सिद्धिचरण, अच्छाराई रसिक, हृदयचन्द्र सिंह प्रधान हुँदै अघि बढ्ने क्रममा नेपाली हास्यव्यङ्ग्यले आफ्नो शालीन परम्परालाई वृद्धि गर्दै आयो । यद्यपि श्रृंगारिकताको पक्ष पनि प्राकृतिक रुचि–अपरिष्कृत चाहनामा रमाउँदै, इत्तरिंदै र छिल्लिंदै, गाईजात्रा देखाउँदै आउने क्रम पनि रहिरह्यो । सात सालपछि अखवारी व्यङ्ग्य सुरू भयो । अनेक पत्रिकामा स्तम्भका रूपमा चलेको यो लेखनमा हास्य–प्रधान र व्यङ्ग्य–प्रधान पक्ष रहँदै   आयो । सोलोडोलोमा हास्यव्यङ्ग्य भनिदै आयो ।

हृदयचन्द्र सिंह प्रधानपछि श्यामप्रसाद शर्मा, कृष्णचन्द्र सिंह प्रधान, लक्ष्मीप्रसाद देवकोटा, केशवराज पिंडाली, वासुदेव शर्मा लुईंटेल, भैरव अर्याल, धनुषचन्द्र गौतम, श्रीधर खनाल, रामकुमार पाँडे, बालकुमुन्ददेव पाण्डे, मदनमणि दीक्षित, दाताराम शर्मा, कुलमणि देवकोटा, मोहनराज शर्मा, श्याम गोतामे, सूर्यबहादुर पिवा, भीमप्रसाद लामिछाने, बल्लभमणि दाहाल, आनन्ददेव भट्ट, गोविन्द भट्ट, ताना शर्मा, राजेश्वर देवकोटा, मोदनाथ प्रश्रित, चूडामणि रेग्मी, भैरव रिसाल, भोगेन्द्र बस्नेत, लोकेन्द्रबहादुर चन्द, रमेश विकल, शान्तदास मानन्धर, माधव पोखरेल, नरेन्द्रराज पौडेल, भाउपन्थी, विनय कसजु, नीलकण्ठ न्यौपाने, जनार्दन पुडासैनी (राजव), राजेन्द्र सुवेदी, मदनकृष्ण–हरिवंश, राजाराम पौडेल, गोपालराज मैनाली, हरि बन्दी, मुकुन्द आचार्य, चोलेश्वर शर्मा, खगेन्द्र संग्रौला, रुद्र खरेल, गङ्गा उप्रेती, रघु घिमिरे, शिव रेग्मी, विष्णु प्रभात, जनकलाल वैद्य, रमेश खकुरेल, मनोज गजुरेल, सन्तोष पन्त, उत्तमकृष्ण मजगंैया, विश्व शाक्य, नरनाथ लुइँटेल, नरमेन्द्र लामा, गोपिन्द्र पौडेल, नवराज कार्की, डम्बर घिमिरे, विमल निभा, डम्मर बस्नेत, भक्तबहादुर नेपाली, कुलचन्द्र कोइराला, कृष्ण धरावासी, यादव खरेल, लक्ष्मण लोहनी, मुन पौडेल, मोहन मिश्र, कृष्ण गौतम, हृदयप्रसाद मिश्र, धीरेन्द्र प्रेमर्षि, जयराम शर्मा लुइँटेल, कृष्णमुरारि गौतम (चट्याङ् मास्टर), अर्जुन पराजुली, लक्ष्मण गाम्नागे, थरेन्द्र बराल, वसन्त सापकोटा, टंक आचार्य जस्ता अनेकौं प्रतिभाहरू– जसलाई मैले अहिले सम्झन सकिरहेको छैन– ती समेतले यसमा कलम चलाइरहेका छन् । कुलमानसिंह, बलराम थापा, अशोकमानसिं, बासु क्षितिज, रविन सायमी, दुर्गा बराल (वात्सायन), मिलन शाक्य, महेन्द्र श्रेष्ठ, शशी शाह, रमेश बिष्ट आदि कार्टुनिष्टहरूले चित्राङ्कनमा आफ्नो कुशलता प्रदर्शन गरेका छन् । कतिपयको साधना व्यङ्ग्य–शैलीका आधारमा निबन्ध, गीत, कविता र लेख रचनाका फाँटमा र कतिपयको चित्र, अभिनय र नक्कलमा छ । वैचारिकताका दृष्टिले हेर्दा कतिपयमा पुरातन र कतिपयमा नवीन विचारधारा रहेको छ । भौतिकवादी भावधाराका वैज्ञानिक विचार लिएर कलम चलाउनेहरूको संख्या भने न्यून नै देखिन्छ, तर यो क्रमशः बढ्दो छ । यी स्रष्टाहरूको सिर्जना हास्य र व्यङ्ग्यमा पृथक पहिचान दिनेगरी कमै भएको पाइन्छ । खासगरी हास्यको शालीन सिर्जनामा हाम्रो व्यङ्ग्य–साहित्य अहिलेसम्म पनि कमजोर छ । व्यङ्ग्य–निबन्ध अलि प्रचुर छ तर व्यङ्ग्य–समीक्षाको श्रीगणेश मात्रै भएको छ । खासगरी भैरव अर्यालको दशअवतारपछि उल्लेख्य त्यस्तो कृति यतिञ्जेल देखिएको छैन ।
सम्पन्न घरानाका व्यक्तिहरू ज्ञानको गहिराइमा पुगेका हुँदैनन् । उनीहरू आफ्नो विलास–वैभवका माध्यमबाट अयोग्यतालाई लुकाउँछन् । जब व्यङ्ग्य लेखनले उनीहरूको प्राकृतिक पक्षमा समेत प्रहार गर्छ र त्यसका पीडाले तिनीहरू रन्थनिन लाग्छन् तब उनीहरू भन्छन्– व्यक्तिका विरुद्धमा व्यङ्ग्य खनियो ।

वास्तवमा व्यङ्ग्यमा जसरी शालीनताको मात्र प्रयोग हुँदैन, त्यसरी नै त्यसको प्रहार पनि समाजप्रति मात्र हैन व्यक्ति र समाज दुबैका विसङ्गतिप्रति हुन्छ । व्यक्ति समाजमा रहन्छ, समाज व्यक्तिहरूद्वारा बन्दछ । तर व्यङ्ग्य– भाषामा गालीको मिसावटलाई कम गर्नैपर्दछ । किनकि यसको शिष्टता स्थितिको चित्रणमा सीमित हुन्छ, परन्तु डा. श्यामसुन्दरका शब्दमा भन्दा– “व्यङ्ग्य रीसको अहिंसक रूप हो ।” त्यसैले “रिसाएका बेला पण्डितले वेद पढ्दैनन्” भन्ने नेपाली उखान सम्झेर हामीले आफ्नो कलम कुदाउँनु पर्दछ । तर यसको तात्पर्य अशिष्ट अभिव्यक्तिको पक्षधरता भने विल्कुलै होइन । हास्य र व्यङ्ग्यको अलग स्तर हुने हुँदा र तिनीहरूलाई एक ढिको पार्दा  संयमता जरुरी हुन्छ । हास्य प्रायः बाह्य विकृतिमा घुम्छ तर व्यङ्ग्यले भित्री विसङ्गतिलाई समेत खोतल्छ । यी दुवै गुणको मिश्रणले हास्यव्यङ्ग्यलाई बाटो देखाउँछ । त्यसैले व्यङ्ग्य व्यक्तिबाट समष्टिसम्मका सम्पूर्ण मानवीय क्रियाकलाप बीच पाइने विसङ्गतिका विरुद्धको बौद्धिक विद्रोह पनि हो । तर्कपूर्ण विकल्पहरूले यसमा महत्वपूर्ण स्थान राख्दछ र सबभन्दा बढी जनताको मौनता भङ्ग गराउँदै राजकीय क्षेत्रको भ्रष्टाचार विरूद्ध खनिनु आजको व्यङ्ग्य–लेखनको जरुरी काम भएको छ ।

देवकोटा भन्दछन्— “हामी भन्न सक्दैनौं कि प्रकृतिमा विरोधहरू छैनन्, तर तिनीहरूको साम्यभाव झल्कँदा त हामीलाई  हाँस्न मन लाग्दैन । हामी कुतकुतिन्नौं बरु शान्त चेष्टा राख्छौं तैपनि एकै कुरामा टक्क ध्यान लगाउँदा हामीलाई  प्रकृतिले पनि हँसाउन सक्छिन्– जब जीवनका साम्यभावसँग नमिल्ने केही उबडखावड र विरोध हाम्रो  होसमा टक्करिंदै आउँछ ।” उनी प्राकृतिक विसङ्गति पनि हाँसोको विषय बन्ने कुरा गर्दै के पनि भन्छन् भने मानिसको  आदत र त्यसका विरुद्ध गरिने क्रिया पनि व्यङ्ग्यको विषय बन्न सक्छ । यसरी हेर्दा हास्यव्यङ्ग्यले व्यक्तिको आकृतिदेखि समाजको विकृतिसम्मलाई आफ्नो परिधिमा समेटेको हुन्छ, टीकाटिप्पणी गरेको हुन्छ र उल्लिविल्लि पारेको हुन्छ । प्रकृति र समाज दुवै नै यसको विषयवस्तु बन्दछ ।

त्यसैले प्राकृतिक विसङ्गतिका अस्वाभाविक स्थितिलाई पनि हास्यव्यङ्ग्यको विषय बनाइएको हुन्छ । परिधिका सन्दर्भमा अर्को पक्ष के छ भने लेखन, मञ्चन र चित्राङ्कनका हाँगामा हास्यव्यङ्ग्य रहेको छ । संस्कृत काव्यधारामा रसराज मानिएको यो शैलीले निबन्ध, कथा, उपन्यास, कविता र नाटकमा आफूलाई अभ्यस्त पार्दै ल्याएको छ । कार्टून–चित्र यसको पछिल्लो प्रयोग हो र यसमा पनि अनेक प्रयोग भइरहेका छन् । व्यङ्ग्य–चित्रकथा केटाकेटी र युवाहरूको मनोरञ्जनको निम्ति प्रिय साधन बनेको छ । अहिले नेपाली हास्यव्यङ्ग्य चलचित्रमा समेत प्रयोग भइसकेको छ । टेली हास्यश्रृङ्खला प्रसारित भइरहेका छन् । यसको प्रबर्धनका निम्ति अनेक संस्थाहरू सञ्चालित छन् । हास्यव्यङ्ग्य कविता गोष्ठीहरू भइरहेका छन् । वर्षैपिच्छे हास्य–दिवस मनाइएको छ । सडक र सदनमा समेत हास्यव्यङ्ग्यको मिसमास प्रचलित छ । राजनीतिज्ञहरू परम्पर यही शैलीको माध्यमबाट छेपन हान्छन् । कार्टुनिष्टहरू चित्रका माध्यमबाट  प्रहार गर्दछन् । एकप्रकारले अहिले प्रत्येक अखबार र साहित्यिक पत्रिकाहरूमा यसले ठाउँ पाएको  छ । यसै शैलीमा लेख्ने, अभिनय गर्नेहरूलाई प्रोत्साहन दिन भैरव अर्यालका नाममा गुठी सञ्चालित छ । हास्यङ्ग्यका सम्राट मानिने वासुदेव शर्मा लुइँटेलले आफ्नो भएभरको सम्पत्ति सुम्पेर वर्षेनी एकलाखको पुरस्कार बाँड्ने सदावर्त सुरू गरेका छन् । हासनेले पनि यस क्षेत्रमा विशेष चासो राखेर काम गरेको छ । हास्यव्यङ्ग्यकै सिर्जनालाई मात्र छाप्ने गरी नियमित रूपमा भाँडभैलो, मुस्कान, फुमन्तर, भुँडीपुराण जस्ता अनेक पत्रिकाहरू प्रकाशित भइरहेका छन् । यसरी विचार र कलाको विविधतामा यो क्षेत्र समृद्ध बन्दै गएको छ । त्यति भएर पनि  यसले युगीन चेतनामा जस्तो सबलता हासिल गर्नुपर्दथ्यो त्यो प्राप्त गर्न अझै सकेको छैन ।

नेपाली हास्यव्यङ्ग्यको वर्तमान स्थितिमा घोत्लिंदा यसको सबलता र दुर्वलताको पक्षलाई उल्लेख गर्नु जरुरी हुन्छ । खासगरी माथि उल्लेख गरिएका हास्यव्यङ्ग्य लेखकहरूमध्ये कतिपय राष्ट्रिय व्यक्तित्वका रूपमा  परिचित छन् र उनीहरूद्वारा हास्यव्यङ्ग्य निबन्ध र कविताको क्षेत्रलाई तुलनात्मक रूपमा बलियो पारिएको छ । प्रहसन र अभिमञ्चनमा पनि छोटै समयमा राम्रो प्रगति भएको देखिन्छ । कार्टुन (व्यङ्ग्य–चित्र) मा पनि अन्तर्राष्ट्रिय स्तरका रचना समेत देखापरिसकेका छन् । यो नेपाली हास्यव्यङ्ग्यको सबल पक्ष हो । त्यसैगरी हास्यव्यङ्ग्य प्रकाशनका क्षेत्रमा देखिएका संस्थागत प्रयासहरू र यस क्षेत्रलाई विकास गर्न राखिएका गुठी, पुरस्कारहरू, सिर्जनालाई प्रेरणा पु¥याउन गरिने गोष्ठीहरूको निरन्तरता, विश्वविद्यालयमा राखिएका विद्वत्वृत्तिहरू, कार्टून–चित्र प्रदर्शनीको आयोजना र अन्तर्राष्ट्रिय सम्पर्क विस्तारका प्रयत्नहरू पनि वर्तमानका सकारात्मक पक्ष हुन् । परन्तु समीक्षा, कथा र उपन्यास विधामा उल्लेख्य हास्यव्यङ्ग्यात्मक कृतिहरू नआउनुलाई यसको दुर्वल पक्ष नै मान्नु पर्दछ ।

नेपाली हास्यव्यङ्ग्यको दुर्वल पक्ष भनेको लेखक–कलाकार बीचमा वैचारिक छलफल, परस्पर सहयोग र सद्भाव प्रबर्धन गर्ने संस्थागत आधार नहुनु र स्वयं लेखक–कलाकारको सामाजिक दृष्टिकोणमा सुधार र परिवर्तनप्रति सही सोच नहुनु मूल कमजोरी हो । यसका साथै लेखन कार्यलाई सहायक पेशा बनाउनु पर्ने स्थितिले उनीहरूमा साधनाको समय प्रचुर नहुनु, विचारधारात्मक रूपमा सहिष्णु नहुनु, योजनाबद्ध लेखनको अभाव रहनु र सिर्जनामा व्यक्तिमतको बाहुल्य रहनु अर्को कमजोरी हो । सिर्जनात्मक सिद्धान्तको सामूहिक समझदारी नहुँदा नेपाली हास्यव्यङ्ग्यले अस्वस्थकर, यौनवादी रसिकतालाई समेत बढाएको छ र यो अर्को नकारात्पक पक्ष हो । यस क्षेत्रमा विविध कमजोरीहरू रहिरहनुको कारण के हो भने अहिलेसम्म बजारमा जेजस्ता हास्यव्यङ्ग्य रचनाहरू आएका छन् तिनको समुचित विश्लेषण, आलोचना र मूल्याङ्कन भएको छैन । समुचित सामग्रिक र सामयिक समीक्षाको अभावले गर्दा कृतिमा देखापरेका कमजोरीहरूलाई हटाउन लेखकहरूलाई सजग पार्न सकिएको छैन । त्यसैले यसलाई अर्को महत्वपूर्ण कमजोरीका रूपमा लिइनु पर्दछ । अहिलेसम्म लगभग दुई सय कृतिहरू पुस्ताकाकारमा रहेको भए पनि अन्तरभाषिक अनुवाद नहुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा हाम्रा लेखकलाई चिनाउन सकिएको छैन । यसले उनीहरूको सामाजिक मर्यादा आवश्यक मात्रामा बढाउन सकिएको छैन । यी सबलता र  दुर्बलताहरूका बीच जे जति कामहरू भएका छन् र सम्भावनाहरू देखापरेका छन् त्यसका आधारमा भन्दा हास्यव्यङ्ग्य साहित्य, कला र अभिनयको भविष्य भने उज्ज्वल नै देखिन्छ ।

(‘वेदना’, पूर्णाङ्क ५९, साउन २०५४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x