डा. रामप्रसाद ज्ञवालीम हुँ भव्य मान्छे

नेपाल त्याग्ने म हुँ पात्र एक
चरित्र छन् उच्च ममा अनेक {{read_more}}
खोज्दै म आएँ सुखस्वर्ग साथी
अमेरिका हो सुखस्वर्ग जाती ।
नेपाल भन्ने त्यस देशभित्र
जन्मेँ बढेँ भैकन स्वप्नचित्र
फेरेँ त्यहीँ सास पवित्र मैले
हेरेँ त्यहीँ दृश्य हजार मैले ।
हावा त्यहीँको जल हो त्यहीँको
पानी त्यहीँको फल हो त्यहीँको
बाटा र घाटा सब हुन् त्यहीँका
र जिन्दगी धड्कन हुन् त्यहीँका ।
खेलेँ त्यहीँ गैकन खेतबारी
गरेँ त्यहीँ जीवनको सवारी
त्यहीँ पढेँ जीवन यो सपारी
पाएँ त्यहीँ सुन्दर रोजगारी ।
खाएँ निकै घूस गरेँ कमाइ
मारेँ नि आफन्त र दाजुभाइ
लुटेर त्यो राष्ट्र निकै कमाएँ
बोकेर पैसा परदेश आएँ ।
ठगेँ सकेको त्यस देशलाई
ल्याएँ बचेको यश देशलाई
जे सक्दथेँ गर्न गरेँ गराएँ
र अन्त्यमा यो परदेश आएँ ।
दानी हुनाले परदेशलाई
दिएँ कलाशिल्प सबै बुझाई
परोपकारी म बनेर आएँ
विदेशलाई पसिना चढाएँ ।
पुग्दो थियो खान र बस्नलाई
राम्रै थियो जीवनको कमाइ
मान्थे निकैले मनितो गरेर
गर्थे नमस्ते छ ठुलो भनेर ।
भएन मेरो मन तृप्त तैपनि
आनन्द मिल्ने छ विदेशमै भनी
अमेरिकामा सुख भोग्न आएँ
नेपाललाई मनले हटाएँ ।
“नेपालमा नै बस देशभक्त भै
खाऊ यहीँ कर्मठ पाखुरी हुँदै
यै देश पारौँ न अमेरिकासरि “
भन्थे मलाई सबले घरी घरी ।
परन्तु त्यस्तो पटमूर्ख हैनँ म
आदर्शमा बाँच्न तयार छैनँ म
चाहन्छु मैले सुखस्वर्गको जुनी
जहाँ सुखी हुन्छु त्यहीँ म बस्छु नि ।
संसार यौटै छ भने नयाँ जब
बसौँ म नेपाल भनेर के अब ?
स्वदेशका गायन व्यर्थ छन् सब
सङ्कीर्ण हो सोच स्वदेश मात्र त ।
पेट्रोल नै भर्न परे म भर्दछु
दिसा सफा गर्नुपरे म गर्दछु
सन्तानका निम्ति म गर्छु यो सब
नेपालमा पौरख गर्नु व्यर्थ छ ।
आएँ त्यसैले म अमेरिकामा
र गर्व गर्दै छु म यो कुरामा
पाए त्यहाँको अझ खाउँला तर
अमेरिकै हो तर स्वर्ग सुन्दर ।
पाए पुग्यो खान मिठो मलाई
पाए पुग्यो गर्न ठुलो कमाइ
मिल्छन् कुरा यी जुन देश धाई
म पुग्छु नाच्दै सपना सजाई ।
मसङ्ग मेरो पहिचान छैन
स्वतन्त्र मेरो परिधान छैन
मेरो कुनै राष्ट्रिय गान छैन
नेपाल भन्ने अभिमान छैन ।
पाखापखेरा अब खन्नु छैन
नेपालको भन्नु र बन्नु छैन
पैसाविना गौरव चाहिँदैन
नेपाल भन्दै अब धाइँदैन ।
कल्ले गरोस् दुक्ख पहाड खन्दै !
कल्ले छरोस् बीज मधेस बन्दै !
बसून् त्यहीँ मूर्खहरू रमाई
नेपाल चाहिन्न सुन्यौ मलाई ?
छन् बाध्यताले पनि दूर लाग्ने
अभावका कारण देश त्याग्ने
खाडीहरूमा तर छन् गएका
प्रताडनाले बिचरा भएका ।
म मित्रता तीसँग गर्न सक्दिनँ
त्यस्ता पछौटेसँग मर्न सक्दिनँ
जो शक्तिमा छन् तिनको म मित्र
धनीहरूकै म त खिच्छु चित्र ।
के जप्तछौ व्यर्थ स्वदेशभक्ति ?
हो मुख्य आनन्द र मुख्य शक्ति
जो बुझ्छ यो सत्य सुखी छ मान्छे
चिन्छौ मलाई ? म हुँ भव्य मान्छे !
कवि ः
यस्ता सयौँ स्वाँठहरू हुनाले
यो देश बिग्र्यो मन मैलिनाले
जाग्यो भने चेत सबै जनाको
बन्नेछ यो देश महामनाको ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































